
शम्भु गजुरेल
वेलकोटगढी नगरपालिका -९ नलगाउ, नुवाकोट ।
स्वर्गको पुष्पमाण्डु बगैंचामा
टहलिँदै गर्दा
देवीघाटमा जलेर
त्रिशूलीमा बगेका
दासढुङ्गाबाट ढलेर
त्रिशूलीमा गलेका
पृथ्वी ,मदन अनि
समाजवादी बि पि को
आँखा जुध्यो
मन एकाकार भयो
अनि
सबैका मनका पीडा
भक्कानो बनेर हिच्कियो
गलासम्म पुगेर अड्कियो
रम्भा, तिलोत्तमा र उर्वशीका
मादक नृत्यबाट छेकिएर
बादलको मिहिन छिद्र च्यात्दै
हेर्न थाले सगरमाथा
र लुम्बिनी ,काली र मेची ।
केबुलकारमा
मनकामनाको लागि मेडो
ल्याइदै रहेछ
सुन्तलामा चिनीको सुइ
लगाइदै रहेछ
मनकामना पशुबलिले अजिर्ण भएर
माछापुच्छ्रे गुहार्दै रहिछन् ।
नजिकै
पृथ्वी का छिमेकी लखन
भौतारिदै
पिचास भएर
मुक्तिको तरुल खोस्रिँदा रहेछन् अझै
उहि झुन्ड्याइको रुखको फेदमा ।
पचली भैरब
सिफल
शोभा भगवतीमा
प्लटिङ भएछ
महल ठडिएछन्
स्यालहरू भागेछन्
स्याल जस्तै मान्छेले
दिउँसै
जिउँदो सिनो
लुछ्न झम्टिदा रहेछन्
शुक्रराज
धर्मभक्त
दशरथ
गंगालालहरूको
सपनाको निर्मल तलाउमा
व्यभिचारको रक्त घोल्नेको लर्को रहेछ
सहिदको सपनाको रंगिन
महोत्सव आयोजना गर्न।
सुखानी
सुस्केरा हाल्दै रहेछ
बिरेन,कृष्ण ,नेत्र र नारायणहरू
प्रेत नै रहेछन्
तर
सुखानीको रक्तिम माटो बोकेर
बोलीको क्रान्ति गर्दै
सुरक्षाको कैदमा
विलासको चुचुरो बनाउने
सुकेका सुकेहरू
ूआस्तिन्ू सुर्किएर
शार्दूल दरबारबाट
एक विमान फूल सहित
सुखानी माथिबाट
बर्षाउदै
र झ्यालबाट पिच्च थुक्दै
फर्किने भएछन् सहिदको टाउकोमा१
महान सहिद जिन्दावाद भनेर।
छिन्ताङको कलेजो
छियाछिया नै छ
रक्तरञ्जित गाथामा
बिरह मिसाएर
नवीन बिहानीमा
चम्किलो सूर्यको प्रतीक्षा
उस्तै छ
तर
कुठाराघात र कपटको
बनमारा
जालझेलको
सिस्नो घारीले ढाकेको छ
ठिठुर्किदै छ छिन्ताङ
आफ्नो इतिहास सम्झेर
वर्तमानको उपाहास देखेर।
पिस्करको माघे सक्रान्ती
शक्तिको उन्माद
निरीहको चीत्कार
पिस्करका
आयोजकहरू
प्रायोजकहरू
नायकहरू
एउटै भान्छमा
लुछ्दैछन्
तर
पिस्कर पिसिएकै छ
कोलमा तोरी पेले झैँ
निरन्तर ।
टिम्बुरबोटेको ताण्डव
झोडाको बर्बरता
खाराको क्रूरता
बादरमुढेको पासविकता
गौरको दानवता
टिकापुरको आसुरी खेल
नारायणहिटिको नृशंसता
दासढुङ्गाको भंगालो
मुट्ठीभरका लागि
हस्तिनापुरको
कौरव सभा भएको छ
नाङ्गिदै छन् द्रौपदीहरू
चिच्याउदै छन् दुर्योधनहरू
पासा खेल्दैछन् युधिष्ठिरहरू
कुर्लिदै छन्
धृतराष्ट्रहरू
छारो उराल्दैछन् शकुनिहरू
बाँसुरी फुक्दैछन् निरोहरू
आफ्नै धुनमा मस्त भएर।
सिंहासनका खातिर
पुछिन्छन् सहिदका आकृति
चढाइन्छ माला
तस्बिरमा
गुन्यूको रंग फेरेर
विलासको महल चढ्नेको
तडकभडक छ
गुन्यू च्यातिएका काल पर्खेका छन्
रात कालो छ
बिहान आशालाग्दो छ
दिन उराठलाग्दो छ
साझ कहालीलाग्दो छ
चिच्याहट घटेको छैन
लाज छोपिएको छैन
पेट भरिएको छैन
तर
पिपासुहरूका चक्रमा
पिसिएकी छिन्
प्यारी धरणी
उन्नाइसौं दिनको
कुरुक्षेत्रको मैदान जस्तै
हृदय बिदारक छ
सदैव उस्तै।
आँखा रसाए पृथ्वीका
रोए मदन
मर्माहत भए वि पि
बन्द गरे बादलको पर्दा
स्वर्गको झ्यालबाट
झर्दैछ आँसु आकाशबाट
पोल्नेछ एकदिन त्यो आँसुले।