विदुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि दोश्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
यहि फागुन २३ गतेबाट दोश्रो अभियान सुरु भएको थियो । अभियानको पहिलो दिन १ हजार २ स ८०, दोश्रो दिन १ हजार १ सय ३१, तेश्रो दिन १ हजार ३ सय ८ र चौथो दिन अर्थात वुधबार ३ हजार २ सय ८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । यस्तै पहिलो चरणमा ३ हजार ७ सय ८६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । पहिलो चरण र दोश्रो चरणको हाल सम्मको गरी नुवाकोटका १० हजार ८ सय ९३ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोश्रो चरणको लक्षित वर्गको रुपमा ६५ वर्ष माथीका व्यक्तिहरुलाई निर्धारण गरेको थियो । सोही निर्णय अनुसार नुवाकोटको १२ स्थानीय तहलाई २ समूहमा विभाजन गरी खोप अभियान सञ्चालन भइरहेको छ । पहिलो चरणमा जिल्लाको दुप्चेश्वर, पञ्चकन्या, लिखु, सूर्यगढी र ककनी गाउँपालिका भित्रका लक्षित वर्गलाई खोप लगाउने निर्णय भएको थियो । यी स्थानीय तहमा २३ गते देखि खोप अभियान सुरु भएको थियो भने विहिवार सम्म खोप अभियान सञ्चालन हुनेछ ।
यस्तै वुधबारदेखि किस्पाङ, म्यागङ, तारकेश्वर, शिवपुरी, तादी, विदुर र बेलकोटगढीमा पनि खोप अभियान सुरु भएको छ । यो अभियान चैत्र १ गतेसम्म सञ्चालन हुनेछ ।
विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा नेपाल सरकारले निशुल्क रुपमा खोप अभियान सञ्चालन भइरहेकोले ढुक्क भएर नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले आग्रह गर्नुभएको छ ।
दोश्रो चरणको यस अभियानमा नुवाकोटका २० हजार ९ सय ७६ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप (कोभिशिल्ड) को डोज उपलव्ध गराउने स्वास्थ्य कार्यलय नुवाकोटको लक्ष्य रहेको छ ।