विदुर । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा ‘चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिता’ सुरु भएको छ ।
दुप्चेश्वर युवा क्लबको सह–आयोजनामा सुरु भएको जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन ३ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल सूर्यगढी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाबिच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा दुप्चेश्वर गाउँपालिका विजयी भएको छ । यस्तै दोश्रो खेल तादी गाउँपालिका र जनजागरण युवा क्लव बिच भएको थियो । उक्त खेलमा तादी गाउँपालिका विजयी भएको छ । विहिवार नै सम्पन्न तेश्रो खेलमा पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर मंगोल युवा समूह बिच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा पञ्चकन्या गाउँपालिका विजयी भएको दुप्चेश्वर युवा क्लवका सल्लाहकार श्रीकृष्ण पण्डितले जानकारी दिनुभएको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ, तेश्रो हुनेलाई ५० हजार रुपैयाँ र सान्तोना हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । खेलकुदको माध्यमबाट युवा शक्तिलाई चलायमान गराउन गाउँपालिकाले निरन्तर रुपमा प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ ।
चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिताको उद्घाटन समारोहलाई संवोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले स्थानीय, प्रदेश र केन्द्रीय सरकारबिच सहकार्य र समन्वय नहुदा विकासात्मक योजनाहरु अलपत्र अवस्थामा रहेको बताउनुभएको छ । ती योजनाहरु सम्पन्न गराउनको लागि तीन वटै सरकार जिम्मेवार हुनुपर्ने र प्रतिपक्ष दलको रुपमा काङ्ग्रेस पार्टी रहेकोले निरन्तर खबरदारी गरिरहने नेता महतले बताउनुभएको छ ।
यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सभापती जगदीश्वरनरसिंह केसीले विगत तीन वर्षको अवधीमा विकासात्मक कार्यहरुले गति लिन नसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु जनताको पक्षमा काम गर्दै आशा र भरोराषा दिलाउनु भन्दा पनि विपक्षी पार्टीलाई आरोप लगाउनमा व्यस्त रहेको सभापती केसीले आरोप लगाउनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महत लगायतले समृद्ध दुप्चेश्वर निर्माणको लागि सबै पक्ष एकजुट हुनु आवस्यक रहेको बताएका छन् । कार्यक्रमको उद्घाटन समारोहमा पञ्जेबाजा सहित सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायणबहादुर पाण्डे, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।