विदुर। नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नुवाकोटले रातको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
हाल होटल तथा रेष्टुरेन्ट रातको ९ बजेसम्म मात्र सञ्चालन गर्नलाई अनुमती प्राप्त रहेको छ । नौ बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द नगरे प्रहरीले नै बन्द गराउन सक्रियता देखाइरहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ वागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभएको छ ।
कोरोना भाइरसको कारण अस्तव्यस्त बनेको होटल व्यवसायलाई चलायमान बनाउदै, राज्यले लिएको मौद्रिक निति अनुसार व्यवसायीहरुलाई राहत दिने विषय, होटल सञ्चालन गर्ने समय तालिका ९ बजेबाट बढाई ११ बजेसम्म लागु गर्ने, आवस्यक निर्देशन तथा अनुगमन गर्ने कार्यमा सहजीकरण गरिदिन माग राख्दै प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई ज्ञापन पत्र समेत बुझाइएको छ ।
नुवाकोट हुदै सञ्चालनमा रहेको त्रिदेशीय मार्ग, अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट ओहोरदोहोर हुने, छोटो दुरीको एशियन स्ट्यान्डर मापदण्डको सडक मार्ग भएका कारण २४ सै घण्टा होटल तथा रेष्टुरेन्टहरुले सेवा दिनु पर्ने अवस्थामा सिमित समयावधी लागु गर्दा सुरक्षित बास बस्न पाउनुपर्ने अधिकारबाट सेवाग्राहीहरु बन्चित हुन बाध्य भएको गुनासो नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको रहेको छ ।
नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नुवाकोटको मागप्रति आफू सकरात्मक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जिल्ला सुरक्षा समितिसँग छलफल गरेर निर्णय गरिने बताउनुभएको छ ।