विदुर । शिवपुरी अध्यक्ष गोल्डकप फुटवल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन खेल दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिका बिच भएको थियो । उद्घाटन खेलमा ४–० गोल अन्तरले दुप्चेश्वरलाई हराउदै शिवपुरी गाउँपालिकाले जितको सुरुवात गरेको छ । शिवपुरी गाउँपालिकालाई जित दिलाउन मोहन गुरुङ, अनिष क्षेत्री, कुञ्जल खड्का र क्षितिजजंग रुम्बाले एकएक गोल गरेका थिए । खेलमा गुरुङले पेनाल्टी, क्षेत्री र रुम्बाले हेड मार्फत गोल गरेका हुन् । लिग चरणको पहिलो खेलमा दुप्चेश्वर गाउँपालिकाले कुनै गोल गर्न सकेन ।
शिवपुरी गाउँपालिकाको वडा नम्बर ७ मा निर्माण गरिएको रंगशालामा शिवपुरी अध्यक्ष गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्ला स्थित १२ वटै स्थानीय तहले सहभागिता जनाएको छ । विहिवार लिग चरणको खेल अन्तर्गत नै विदुर नगरपालिका र किस्पाङ गाउँपालिका, वेलकोटगढी नगरपालिका र लिखु गाउँपालिका, ककनी गाउँपालिका र सूर्यगढी गाउँपालिकाबिच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी टिमहरुलाई चार भागमा विभिाजन गरि खेल तालिका निर्माण गरिएको छ । खेल तालिका अनुसार समूह ‘ए’ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका, समूह ‘बि’ मा बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र म्यागङ गाउँपालिका, समूह ‘सि’ मा ककनी गाउँपालिका, सूर्यगढी गाउँपालिका र तारकेश्वर गाउँपालिका, र समूह ‘डि’ विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र तादी गाउँपालिका रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल यहि चैत्र २५ गते हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ६ लाख रुपैयाँ, दितीय पुरस्कार ४ लाख रुपैयाँ र तृतीय पुरस्कार २ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।