विदुर । शिवपुरी अध्यक्ष गोल्डकप फुटवल प्रतियोगिता जारि रहेको छ ।
बुधबारदेखि सुरु भएको प्रतियोगिताको दोश्रो दिन विहिवार ३ वटा खेल भएको थियो । पहिलो खेल विदुर नगरपालिका र किस्पाङ गाउँपालिका बिच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले किस्पाङलाई हराउदै विदुरले जित हासिल गरेको छ । विदुर नगरपालिकालाई जिताउनको लागि सन्तोष थापाबाट भएको २ गोल नै निर्णायक भएको थियो ।
नुवाकोटको शिवपुरी गाउँपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताको विहिवार भएको लिग चरणकै दोश्रो खेलमा वेलकोटगढी नगरपालिका र लिखु गाउँपालिका बिच प्रतिष्पर्धा भएको थियो । लिखु गाउँपालिकालाई ३–० गोल अन्तरले पछाडी पार्दै वेलकोटगढी नगरपालिका विजयी भएको छ । वेलकोटगढी नगरपालिकालाई जिताउन अशोक नेपालले २ गोल र बिकेश लामाले १ गोल गरेका थिए ।
यस्तै विहिवार सम्पन्न तेश्रो खेलमा ककनी गाउँपालिका र सूर्यगढी गाउँपालिकाबिच प्रतिष्पर्धा भएको थियो । ककनी गाउँपालिकालाई ४–३ गोल अन्तरले हराउदै सूर्यगढी गाउँपालिका विजयी भएको छ । ककनीको तर्फबाट विश्वास तामाङ, सुसिल तामाङ र सुरज श्रेष्ठले गोल गरेका थिए भने सूर्यगढीको तर्फबाट निशान श्रेष्ठले २ गोल, कुमार तामाङ र रन्जित तामाङले एकएक गोल गरेका थिए ।
शुक्रवार पनि लिग चरणकै ३ वटा खेल हुनेछ । पहिलो खेल पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिका, दोश्रो खेल तारकेश्वर गाउँपालिका र ककनी गाउँपालिका र तेश्रो खेल तादी गाउँपालिका र विदुर नगरपालिका बिच प्रतिष्पर्धा हुने खेल तालिका रहेको छ ।
वुधबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यहि चैत्र २५ गते हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ६ लाख रुपैयाँ, द्धितीय पुरस्कार ४ लाख रुपैयाँ र तृतीय पुरस्कार २ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।