विदुर । विदुर नगरपालिका वडा नम्बर १ स्थित त्रिशुली बजारमा अवस्थित त्रिशुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले स्थापना दिवसको अवसरमा ५ जना विद्यार्थीलाई छात्रवृति वितरणा गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहकारीले २१ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई छात्रवृति वितरण गरेको हो । छात्रवृति प्राप्त गर्नेहरुमा त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा शिक्षा संकायमा अध्ययनरत सीता डङ्गोल, विज्ञान संकायमा अध्ययनरत कृतिका लामिछाने र वाणिज्य संकायमा अध्ययनरत गणेस तामाङ रहेका छन् । यस्तै त्रिभुवन बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययनरत सुविना प्रधान र स्नातक तहमा अध्ययनरत कोपिला रिजाललाई सहकारीले छात्रवृति प्रदान गरेको हो ।
उक्त कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले विसं २०७२ सालमा गएको विनासकारी भूकम्पको समयमा पनि आर्थिक स्थिति नडगमगाउनुको मुख्य कारण निजि क्षेत्र रहेको बताउनुभएको छ । सहकारी, उद्योग, जस्ता निजि क्षेत्र लगायत खुल्ला अर्थतन्त्रले गर्दा मुलुक टिकेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभएको छ । बैकल्पिक लगानीको क्षेत्रको खोजी गरेमा मुनाफा कमाउन सहज हुने उहाँको भनाई छ ।
यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले अस्वस्थ प्रतिष्पर्धाको रुपमा सहकारीहरु स्थापना भइरहेकोले समान उदेस्यको साथ स्थापना भएका सहकारीहरुलाई एकिकरण गर्नु आवस्यक रहेको बताउनुभएको छ । विषयगत सहकारीलाई एक वडा एक सहकारी पुराउनको लागि पहल भइरहेको उहाँले बताउनुभएको छ । सहकारीहरुलाई सङ्ख्यात्मक रुपमा नभई गुणात्ममक सेवा प्रवाह गर्ने सहकारीको रुपमा स्थापना गर्नु आवस्यक रहेको मेयर पण्डितको भनाई छ ।
नुवाकोटको त्रिशुली बजारमा केन्द्रिय कार्यलय रहेको त्रिशुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडको वेलकोटगढी नगरपालिका वडा नम्बर ७ स्थित रातमाटेमा सदस्य सेवा केन्द्र स्थापनाको लागि तयारी पूरा भइसकेको छ । जिल्लाको सबै स्थानीय तहमा सदस्य सेवा केन्द्र स्थापनाको लक्ष्य लिएर सहकारी अघि बढिरहेको अध्यक्ष हरिलाल श्रेष्ठले बताउनुभएको छ । यस सहकारीको हालको शेयर पूँजी २ करोड ८४ लाख २३ हजार ७ सय रुपैयाँ रहेको छ । सहकारीले शेयर संकलन कार्यक्रम अन्तर्गत रहेर आर्थिक वर्ष २०८६÷८७ सम्ममा १० करोड रुपैयाँ पुराउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
यस्तै राज्यले सहकारीलाई नियमनको सट्टा नियन्त्रण गर्ने निति ल्याएकोमा त्रिशुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सचिव राजेश श्रेष्ठले आपत्ति जनाउनुभएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका उपाध्यक्ष शिव अधिकारी, नुवाकोट बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष बैकुण्ठ मिश्र, विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रंजित, सहकारीको उपाध्यक्ष राजेन्द्र अमात्य, शेयर सदस्य मोहनबहादुर श्रेष्ठ, लगायतले सहकारीबाट प्रवाह हुने सेवामा गुणत्मक हुनु पर्नेमा जोड दिएका छन् ।
उक्त कार्यक्रममा सहकारीका ३२ जना सस्थापक र प्रवन्धक हरिचन्द्र अमात्यलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।