बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • म्यागङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

    समिकरण न्युज २०७७, ३१ चैत्र मंगलवार ०७:५१ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । नुवाकोटको ११औँ स्थानीय तहको रुपमा म्यागङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।
    “पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने उद्घोषको साथ सोमबार एक कार्यक्रमका बिच खोप समन्वय समिति नुवाकोटका प्रमुख एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्नुभएको हो । पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले मानव विकासको सबैभन्दा महत्वपूर्ण पक्ष स्वास्थ्य र शिक्षा रहेको बताउनुभएको छ । रोग लागे पछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने भन्दै जिसस प्रमुख तामाङले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन खोपको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित गाउँपालिकाको रुपमा म्यागङलाई घोषणा गरिएसँगै गाउँपालिकालाई थप जिम्मेवारी थपिएको र यस कार्यक्रमलाई दिगो रुपमा सञ्चालन गर्न जरुरी रहेको समेत उहाँले बताउनुभएको छ ।
    वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नलाई नुवाकोटको २ स्थानीय तहको कारण रोकिएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभएको छ । नुवाकोटको म्यागङ गाउँपालिकालाई सोमवार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ भने मंगलवार तारकेश्वर गाउँपालिकालाई घोषणा गर्ने कार्यक्रम तय भएको छ । केही दिन पछि नुवाकोटलाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने उहाँले बताउनुभएको छ ।
    राष्ट्रिय कार्यक्रम अनुसार अघिल्लो वर्ष नै म्यागङ गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गर्ने योजना भएता पनि कोरोना भाइरस महामारीको कारण सम्भव भएको थिएन । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताउनुभएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्राधमिकताको साथ बजेट विनियोजन गरेर योजनाहरु कार्यन्वयन गर्दै आइरहेकोले त्यसलाई निरन्तरता दिइने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष तामाङले जोड दिनुभएको छ ।
    हालको बालबालिका स्वस्थ हुनु भनेको नै भविष्यको सिंगो गाउँपालिका स्वस्थ हुुनु रहेको भन्दै गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले स्वास्थ्य स्वयंशेविकाले स्वास्थ्य सुधारमा गरेको योगदान अमुल्य रहेको बताउनुभएको छ । साथै उहाँले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो धन रहेकोले आफ्नो स्वस्थ स्वास्थ्यको लागि व्यक्ति आफै सचेत हुनु आवस्यक रहेको बताउनुभएको छ ।
    कार्यक्रममा स्वास्थ्य कार्यलय नुवाकोटका खोप अधिकृत राजाराम कार्की, वडा नम्बर २ का वडा अध्यक्ष रुपबहादुर तामाङ लगायतले पूर्ण खोपलाई दिगोपना दिनलाई सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
    सम्पूर्ण खोप समन्वय समिति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंशेविका लगायतले आत्मा सम्मान र गौरवको साथ पूर्ण खोप युक्त गाउँपालिका घोषणा गर्दै प्रत्येक वर्ष चैत्र ३० गतेका दिनलाई पूर्ण खोप वर्ष मनाउने प्रतिवद्धता समेत जाहेर गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्दिप सापकोटाले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया