
बट्टार । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटको कार्यलयमा २० वेडको अस्थायी कोभिड अस्पताल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको छ ।
अस्थायी कोभिड अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहितको ५ वेड र अक्सिजन सहितको १५ वेड रहेको छ । जिल्लाका कोरोना भाइरस संक्रमितको उपचारलाई सहज बनाउन पार्टी कार्यलयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने निर्णय जिल्ला कार्य समितिले गरेको थियो । उक्त निर्णय अनुसार सरकारी मापदण्ड पुराएर अस्थायी कोभिड अस्पताल निर्माण गरिएको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटका सभापती जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ ।
पार्टी कार्यलयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले १५ थान अक्सिजन सिलिन्डर, नेपाली कांग्रेस नुवाकोट काठमाडौँ सम्पर्क समितिका अध्यक्ष पदमराज पौडेल मार्फत अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट १६ बेड, नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ५ का सभापती राजेनद्र अर्यालबाट २ वेड, नेपाल पेलेट फिड ईन्डष्ट्रिज प्रालिको तर्फबाट युवा व्यवसायी केशव थापा मार्फत २ थान वेड, विदुर नगरपालिका वडा नम्बर ५ निवासी शिवहरी गजुरेलबाट १ वेड तथा टाकानाथ रिजाल र दामोदर प्याकुरेलबाट १ बेड गरी २२ वेड प्राप्त भएको छ । ती मध्ये तत्कालको लागि २० वेड तयारी अवस्थामा रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमित भई अक्सिजन र एकान्तवासको अभाव झेल्दै आएका व्यक्तिहरुलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखि उपचार गर्न आवस्यक मापदण्ड सहित अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्थायी कोभिड अस्पतालमा बस्ने संक्रमितहरुलाई नुवाकोट उद्योग वााण्ज्यि संघमा आवद्ध व्यवसायीहरुबाट एक महिनासम्म खानाको व्यवस्था गर्नेछन् । अस्थायी कोभिड अस्पतालमा रहने संक्रमितहरुको रेखदेख तथा स्वाथ्योपचा विदुरमा रहेको सिटि हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुबाट गरिने छ । साथै पढाई सकेर खाली रहेका र स्वयंसेवा गर्न चाहने स्वास्थ्यकर्मीहरुलाई सम्पर्कमा आउन समेत नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटले आग्रह गरेको छ ।