बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • मोटो मान्छेको कथा

    समिकरण न्युज २०७८, ३० असार बुधबार १८:११ पढ्न लाग्ने समय 4 मिनेट

    फूर्पा तमाङ

    फूर्पा तमाङ

    कुरो ४० सालतिरको हो । म सानै थिएँ । अक्सर गाउँघरमा मान्छेहरु दुब्ला देखिन्थे । ऊ बेला गाउँलेहरु अहिलेको तुलनामा मासु निकै कम्ति खान्थे । सागपात खान्थे । ढींडो खान्थे । किनभने मासु सजिलै पाइँदैनथ्यो । कहिलेकाहीं महिना दिनमा एकपटक मासु पाइँदैनथ्यो । मासु भात मनग्गे खान दशैं, तिहार, संक्रान्ति कुर्नु पर्थ्यो । चाडबाडको बेला गाउँमा राँगा, भैंसी, खसी, बोका काट्थे । त्यही बेला मात्र मासु खान पाइन्थ्यो । कहिलेकाहीं गाउँलेहरु शिकार खेलेर घोरल, मृग र बँदेलको मासु खान्थे । वश यति नै थियो ।

    केही वर्षदेखि गाउँघरमै ब्रोइलर कुखुराको पसलहरु खुल्न थालेका छन् । त्रिशूलीबाट मासु जति पनि पठाइदिन्छन् । कराही बसाल्यो, मासु किनेर ल्यायो । पकायो अनि खायो । कोही त दिन नबिराई खान्छन् र आफूलाई पनि ब्रोइलर जस्तै ज्यान बनाउँछन् । ती घटाउन भनी साँझ बिहान हिंडी टोपल्छन् । तर, मरेकाटे ज्यान घटे पो ! मासु खान कम नगरे सम्म ज्यान कसरी घट्नु ? मृत्यु संस्कारमा बाहेक अन्य सामाजिक कार्यहरुमा मासुको परिकार अनिवार्य हुन्छ । त्यसले पनि मान्छेहरु मोटाउन सहयोग पु¥याएको छ ।

    त्यो बेला भार्खु गाउँमा मोटो मान्छे एकजना मात्र थियो । उहाँ हामीहरुकै जेठो बुबा छोवाङ सोनाम तमाङ (वि.सं.१९८७—२०५५) हुनुहुन्छ । हजुरबुबा दिण्डु वाङ्दी र हजुरआमा किच्युङका पाँच भाइ छोराहरुमध्ये उहाँ मात्र मोटो हुनुहुन्थ्यो । हामीहरुका पिताजी कैसाङ तमाङ झनै पातलो ज्यानको हुनुहुन्थ्यो । कान्छा काका सिंगी नुर्पु तमाङ पनि मोटो हुनुहुन्न । ठीक्कको हुनुहुन्छ । पल्लो गाउँ सानो भार्खुमा पनि उहाँ जतिको मोटो मान्छे थिएन । जेठो बुबा मोटो हुनुको खास कारण उहाँ गाउँमा उति बस्नुहुन्नथ्यो । पञ्चायती व्यवस्थामा उहाँ जिल्लाको ठूलो नेता हुनुहुन्थ्यो । भार्खु गाउँको १६ मुखियामध्ये एकजना उहाँ पनि हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय पञ्चायतको माननीय सदस्य (वि.सं. २०३१—२०३३) हुनुभएपछि गाउँघरमा मात्र सिमित हुनुभएन । काठमाडौंमा बढी जसो आउजाउ र बसोबास भए पछि उहाँ मोटाउनुभएको रे ! त्यसअघि उहाँ दुब्लो शरीर हुनुहुन्थ्यो रे ! हामीले थाहा पाएदेखि उहाँ मोटो हुनुहुन्थ्यो । सेतो दौरा सुरुवाल, कोट र कालो टोपी लगाउनु हुन्थ्यो । भूंडी ठूलै देखिन्थ्यो । काठमाडौंले उहाँलाई मोटो शरीर बनाउन धेरै भूमिका खेलेको पाइन्छ । यसकारण उहाँले आफू चढ्नको लागि घोडा पनि किन्नुभएको थियो । भार्खुबाट धुन्चे, स्याफ्रु, यार्सा, बृद्दिम, चिलिमे, गोल्जोङ, गत्लाङ र लाङटाङ जान उहाँ घोडा चढेर जानुहुन्थ्यो । अर्को कुरा उहाँ मासुको परिकार असाध्यै मन पराउनुहुन्थ्यो । उहाँको घरमा प्राय मासु पाक्थ्यो ।

    छोवाङ सोनाम तमाङ

    छोवाङ सोनाम तमाङ गरिवजन र न्यायको लागि लड्ने नेता हुनुहुन्थ्यो भनेर उहाँलाई चिन्नेहरु बताउँछन् । रसुवाका ज्येष्ठ पत्रकार ज्ञानेन्द्र नाथ न्यौपाने भन्नुहुन्छ–“माननीय छोवाङ सोनाम तमाङ सबैसंग समान व्यवहार गर्नुहुन्थ्यो । उहाँ धुन्चे आउनुभयो भनेपछि अनियमितता गर्न रुचाउने कर्मचारीहरु डरले थरथर काँप्थे ।” उहाँ राष्ट्रिय पञ्चायतको माननीय सदस्य हुनुभएको थियो । निर्वाचित गाउँपञ्चायत सदस्यदेखि जिल्ला तहको विभिन्न पदमा जनप्रतिनिधि भई लामो समय जिल्लाबासीको सेवा गर्नुभएको थियो । उहाँले आफ्नो घर आँगनमा मुद्दा मामिलाका पक्षहरुलाई राखेर मेलमिलाप गराई दिनुहुन्थ्यो । विकास निर्माण कार्यको कुरा गर्दा खानेपानी, गोरेटो बाटो, घोडेटो बाटो, झोलुङ्गे पुल निर्माण, कृषि सिंचाई, उन्नत जातको बाली खेती र पशुपालनमा कृषि अनुदान आदि उहाँका मुख्य योगदानहरु हुन् । राजनीति बाहेक उहाँ लामा पूजारी हुनुहुन्थ्यो । बौद्द धर्म–संस्कृतिसंग सम्बन्धित काष्ठकलाका गुरु (खेबा) हुनुहुन्थ्यो । काठका बुट्टेदार झ्याल, ढोका, क्षेट्टी, बक्सी, क्याङचङ सङ्री, डम्ङेन (टुङ्ना), लामाको ढ्याङ्ग्रो आदि बनाउनुहुन्थ्यो । उहाँ युवा अवस्थामा काँधमा डम्ङेन् (टुङ्ना) राखेर भार्खु देखि बृद्दिम गाउँसम्म एकछिन पनि नरोकी गीत गाउँदै बजाउँदै जान सक्ने साहसिक मान्छे हुन् भन्ने मानिसहरु गाउँमा अझै जीवित छन् । शहरमा गएर गाउँ फर्किँदा गाउँले केटाकेटीहरुलाई कोसेली ल्याउनु हुन्थ्यो । उहाँ आउनुभएको थाहा पाएपछि खुसी भएर केटाकेटीहरु आँगनभरि भेला हुन्थे । उहाँ केटाकेटीहरुलाई रमाइला कथाहरु सुनाउनुहुन्थ्यो । विद्यालयमा गएर पढ्नु पर्छ भन्नुहुन्थ्यो । जति नै पाहुना आए पनि खुवाएर पठाउनुहुन्थ्यो । यस्तो रमाइलो मोटो मान्छे (नेता) कहाँ पाउनु ? अहिले सम्झिदा कथा जस्तै लाग्छ ।

    गाउँमा सडक पुगेपछि मानिसहरु धुन्चे, त्रिशूली र काठमाडौं आउजाउ हुन थाल्यो । घरबाट बाहिर गएपछि मासुको परिकार खानमा बढी रुचि हुँदै गयो । वैदेशिक रोजगार खुलेपछि मानिसहरु विदेश सम्म पुग्न थाले । विदेशमा जानेहरुले त छाकैपिच्छे मासुको परिकार खाएको बताउँछन् । साउदी, दुबई, कतार, कुवेत, मलेसिया जानेहरुले विदेशमा सागपात भन्दा मासु सस्तो हुने भएकोले प्राय तिहुनमा मासु खाएको सुनाउँछन् ।

    यसरी उनीहरुको खानपानमा अदलबदल हुन थाल्यो । नगद आम्दानीले गर्दा खानपानको संस्कृतिमा परिवर्तन हुन थाल्यो । यो परिवर्तन ०५० साल पछि क्रमशः बढ्दै गयो । खानपानले गर्दा मानिसहरुको जीउढालमा पनि परिवर्तन देखा पर्न थाल्यो । हिजोका दुब्लाहरु क्रमशः मोटो देखिन थाले । केटोकटीहरु पनि सानैदेखि मोटो देखिन थाले । २५—३० वर्ष पुगेका युवा युवतीहरुको भूंडी छाति भन्दा अग्लो देखिन थाल्यो । गन्ती गर्ने हो भने ऊ बेला एकजना मात्रै मोटो मान्छे भएको भार्खु गाउँमा धुरी पिच्छे एकजना मोटो मान्छे अवश्य देख्न सकिन्छ ।
    अहिलेका मान्छे मोटो हुनुको अर्को कारण पनि छ । अहिलेका मानिसहरु उहिले जस्तो खेतीपाती धेरै गर्नु पर्दैन । पशुपालन पनि कम्तिले गर्छन् । जंगलमा गएर दाउरा खोज्नु पर्दैन । खाना पकाउन ग्यास चुल्हो प्रयोग गर्छन् । दियालो खोज्नु पर्दैन । विजुली बत्ती बाल्छन् । बजारबाट मालसामान बोकेर घरमा लैजानु पर्दैन । घरकै ढोकामा गाडीले सामान झारी दिन्छ । कहीं जानु पर्यो भने हिँड्नु पर्दैन । प्रत्येकको घरमा १–२ वटा मोटरसाइकल छन् । कुनैका गाडी छन् । आफ्नो सवारी साधन नहुनेले सार्वजनिक सवारी साधन प्रयोग गर्छन् । उकाली ओराली गर्नु पर्दैन । बिरामी भयो भने औषधि उपचार गर्न सकेको छ । मीठो मसिनो खान पाएको छ । मौसम अनुसार लुगा लगाउन सकेका छन् । छाप्राहरु हट्दै ढलान घरहरु हुँदैछन् । प्रत्येकको हातमा स्मार्ट फोन आएका छन् । घरहरुमा टेलिभिजन र इन्टरनेट सेवा विस्तार भएका छन् । युवाहरुले स्नुकर र भलिबल खेलहरु भित्र्याएका छन् । उहिले भन्दा जीवन तुलनात्मक रुपमा सुखी छ । शारीरिक र मनोवैज्ञानिक रुपमा सुखी र खुशी दुवै हुँदा मान्छेहरु मोटाउन सकेका छन् । यस्तो खुसी र परिवर्तन भार्खुमा मात्र होइन । मैले जिल्लाका धेरै गाउँहरुमा जाँदा देखेको छु । भार्खु गाउँ एउटा उदाहरण मात्र हो ।

    अब कुरो रह्यो के मोटो शरीर स्वास्थ्यको लागि ठीक हो ? यो प्रश्नको उत्तर भने खोज्नुपर्छ । स्वास्थ्य विज्ञान अनुसार मान्छे धेरै मोटायो भने रक्तचाप बढ्ने, मधुमेह रोग लाग्ने र हृदयघात भएर मर्न सक्छ भन्छन् । जीवन दुःखीबाट सुखीमा परिवर्तन हुनु खुशीको कुरा हो । तर, यो खुशी दीर्घकालीन रुपमा कसरी बनाई राख्ने भन्ने पनि सोच्नै पर्ला । कि कसो ?
    त्रिशूलीखबरबाट

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया