शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • विकृति र विसंगति हटाउन पनि हामीले भूमिका खेल्नुपर्छ

    समिकरण न्युज २०७८, ५ भाद्र शनिबार १८:३१ पढ्न लाग्ने समय 4 मिनेट

    नुवाकोटमा राष्ट्रिय उपभोक्ता मञ्च किन स्थापना भयो ?
    राष्ट्रियस्तरमा काम गर्ने गरी २०६३ सालतिर स्थापना भएको संस्था हो । नुवाकोटमा २०६८ सालमा अनुमति लिएर हामीले काम सुरु गरेका थियौँ । विचमा केही समय निष्कृय हुन पुग्यो । अहिले हामीले पुनः क्रियाशील बनाउनको लागि पुनर्गठन मात्र गरेका हाँै ।
    तपाई हामी सबै उपभोक्ता हौँ । पछिल्लो समय नेपाल सरकारले तोकेको नीति, नियम र मापदण्ड भन्दा बाहिर गएर बजारमा मिसावट, कर छली, बढी मूल्यमा सामान वेच्ने, म्याद सकेका सामानहरुको बिक्री वितरण गरी उपभोक्ता ठगी गर्ने गरिएको छ । त्यसलाई रोक्नको लागि एउटा संस्थाले आवाज उठाउनु आवश्यक छ । नागरिक र उपभोक्ताको पक्षमा आवाज उठाउनेहरुको कमी भइरहेको सन्दर्भमा यो संस्थाको पुर्नगठन गरेर हामी अघि बढेका हौँ ।

    नुवाकोटमा उपभोक्ता हित विपरितका कस्ता क्रियाकलाप हुने गरेको पाउनुभयो ?
    हामीले भर्खरै यो संस्था पुनर्गठन गरेका छौँ । सुक्ष्म रुपमा बजार अध्ययन गरेपछि मात्रै कस्ता खालका समस्या रहेछन् भन्न सकिएला । अहिले रहेका प्रमुख विषयहरु भने हरेक क्षेत्रमा अनियमिता र उपभोक्ता ठगी गर्ने काम भइरहेको छ । खाद्यान्नमा मिसावट, म्यास सकिएका, बढी मूल्यमा बिक्री गर्ने कुरा बाहेक नागरिकको विरुद्धआ रहेका धेरै विषयहरुमा हामीले उपभोक्ता तथा नागरिकलाई सचेत बनाउनुपर्ने बेला आएको छ । एउटै सामानको मूल्य पनि पसलनै पिच्छे फरक फरक हुने गरेको छ । प्राय क्षेत्रमा एक एक शक्तिको आडमा उपभोक्ताहरु ठगिने गरेका छन् । यातायातको क्षेत्रमा मनलाग्दी भाडा लिने मात्र होइन, न्यूनतम स्वास्थ्य मापदण्डका उपायहरु उपलब्ध गराइएको छैन । त्यहाँ मास्क,सेनिटाइजर हुँदैन । स्वास्थ्य संस्थाहरुमा पनि म्याद सकिएका औषधि बिक्री वितरणदेखि विभिन्न खालको समस्या रहेको छ । निर्माण सामग्री बिक्री गर्दा पनि त्यस्तै छ । विद्यालयमा पनि उस्तै खालको समस्या रहेको छ । अहिले विद्यालयहरु खुलको छैनन् । त्यहाँ विभिन्न वहानामा हामी ठगिने गरेका छौँ । खेलकुद शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क भनेर हामीले तिर्नुपर्छ । जहाँ विद्यालय नै खुलेको छैन, त्यहाँ कसरी विद्यार्थीले कम्प्युटर चलाए ? कसरी खेले ? जहाँ खेलमैदान नै छैन ती विद्यालयहरुमा विद्यार्थीले खेलेको शुल्क तिर्नुपर्ने । त्यतिमात्र होइन, अनलाइन परीक्षाको पनि परीक्षा शुल्क तिर्नु परेको छ । कपि कलम विद्यार्थी आफैंले खरिद गरेर लेख्दा पनि परीक्षा शुल्क तिर्नुपर्ने ? निजी विद्यालयहरुले लकडाउनको बेलामै शैक्षिक सत्रको वीचमै पब्लिकेशनसँग मिलेर किताव नै बदल्नेसम्मका काम भएका छन् । मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको नाममा पनि रकम असुलेको पाइएको छ । यस्तो ठगि अहिले विकृत भएका छन् । अनि वित्तिय तथा बैंकिङ क्षेत्रमा पनि अहिले उस्तै रहेको छ ।सरकारले २५ जना भन्दा बढी भेला हुन पाइँदैन भनेको छ । वैंकहरुमा अहिले ट्रकका ट्रक ज्येष्ठ नागरिक ल्याएर सामाजिक सुरक्षा भत्ता दिने नाममा उनीहरुले ज्येष्ठ नागरिकलाई सास्ती दिइरहेका छन् । जनप्रतिनिधिहरु भएको घरघरमा सिंहदरवार भनेर नारा दिइएपनि ज्येष्ठ नागरिकलाई सास्ती भइरहेको छ । वैंकका कर्मचारी र जनप्रतिनिधि मिलेर कम्तीमा वडास्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कुराको चेत समेत जनप्रतिनिधिमा नभएको हो कि ? बरु हिजो जनप्रतिनिधि नहुँदा नागरिकको हातहातमा पैसा पुगेको थियो । दुरुपयोग रोक्ने नाममा यसरी नागरिकलाई सास्ती दिन कहाँ पाइन्छ ? हामीले यिनै विषयहरुमा सरोकारवालालाई ध्यानाकर्षण गराउने र नागरिकलाई सचेत गराउने अभियान सञ्चालन गर्न लागिरहेका छौँ ।

    यस्ता वेतिथि रोक्न मञ्चले मात्र सम्भव होला र ?
    उपभोक्ता भनेको तपाई हामी सबै हौँ । हामीले मात्र होइन, सबै मिलेर यस्ता विषयहरुमा बहस हुनु जरुरी छ । सचेत नागरिकहरुले यस्ता विषयमा आवाज उठाएपछि पो यस्ता विकृतिहरु विस्तारै घट्दै जाने छन् । हामीले सम्वन्धित निकायहरुमा ध्यानाकर्षण गराउने काम हो । सम्वन्धित निकायहरु पनि अचेल राजनीतिक दलको कार्यालयको सुरक्षा दिनमै ठीक छ । नारा जुलुस हुन्छ कि भनेर सचेत हुने बाहेक आम उपभोक्ताको हकहित गर्न र नागरिकको स्वास्थ्य प्रति ध्यान केन्द्रीत गर्न नसकेको हो कि भन्ने मेरो बुझाई हो । सार्वजनिक चासोको विषयमा पनि आवाज उठाउँदा लिखित उजुरी खोज्ने प्रशासनको रबैयाले पनि उपभोक्ता मारमा परेका छन् । संस्थागत रुपमा आवाज उठाउँदा यस्ता वेतिथिहरुलाई रोक्न तथा नियन्त्रण गर्न सम्वन्धित निकायलाई सिफारिस गर्ने र नागरिकका आवाज सुन्ने समन्वयको काम हामीले गछौँ । यसको लागि हामी उपभोक्ता, विक्रेता र नियमनकारी निकाय उत्तिकै सक्रिय हुनु जरुरी रहेको छ । खरिद गर्ने उपभोक्ताले प्याकिङ सामान बनेको मिति, म्याद सकिने मिति, मूल्य हेरेर खरिद गर्ने वानी बसाल्न सके यस्ता खालका धेरै समस्या समाधान हुने छन् । हामी संघसंस्था, सञ्चारकर्मीहरुले उपभोक्तालाई सचेत गराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने र नियमनकारी निकायले नियमन तथा अनुगमनको कामलाई आफ्नो जिम्मेवारी भित्र राख्ने हो भने यस्ता समस्या हट्छ भन्ने मलाई लाग्छ ।

    अनुगमन नियमन गर्ने निकायको भूमिका प्रभावकारी छैन ?
    लगभग अनुगमन र नियमनको काम निष्कृय रहेको छ । निष्कृय भएपछि उपभोक्ता हित विपरितका क्रियाकलाप धेरै हुने गरेका छन् । अनुगमन गर्ने, सचेत गराउने खालका कार्यक्रमहरु सम्वन्धित निकायहरुले गर्नुपथ्र्यो । अहिले त्यसो हुन सकिरहेको छैन । हामी यसको लागि पनि सम्वन्धित निकायलाई झकझक्याउने अभियानमा छौँ । हामी भदौको पहिलो साताभित्रै हाम्रो कार्यालयको स्थापना गरेर हाम्रो अभियानलाई अघि बढाउने छौँ ।

    तपाई त राजनीतिमा पनि सक्रिया मान्छे, अब राजनीतिक छाडेर सामाजिक अभियानतिर लाग्नु भएको हो ?
    म राजनीतिक विचारबाट विचलित भइसकेको अवस्था होइन । यो संस्थामा विभिन्न विचारसँग आवद्ध साथीहरु हुनुहुन्छ । पछिल्लो समय निष्ठा र विचारको राजनीति गर्ने अवस्था रहेन । राजनीति पनि जनताको सेवा गर्ने उद्देश्यले गरिने छ । अहिले त्यस्तो छैन, व्यक्तिगत लाभको लागि लाग्ने र पछिल्लो समय हानथापको राजनीति गर्ने परम्पराको विकास भएको छ । हामी जस्ता केही सचेत मान्छेहरु राजनीतिबाट वितृष्णा ल्याएको अवस्था चाँहि छ । राजनीतिले न जनताको पक्षमा आवाज उठाउन सक्यो, न जनताको भलाईको लागि भयो, न सचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्न सक्यो । दलीय स्वार्थ, दलीय भागवण्डा र व्यक्तिगत भागवण्डा भन्दा अरु केही गरेका छन् जस्तो लाग्दैन । त्यसैले गर्दा पनि म यो अभियानबाट चाँहि नागरिकलाई सचेत गराउन सक्छु कि भन्नेर लागेको छु । यसको मललव म राजनीतिबाट बाहिर छु, सन्यासै लिएको होइन ।

    राजनीतिमा कहिलेबाट लाग्नु भयो ?
    २०५२ साल ताका जनयुद्ध सुरु भयो । दल र सरकारमा बस्नेहरुमा विग्रह आइरहेको थियो । यस्तो हुँदा हुँदै २०६२÷०६३ को जन आन्दोलनले ठूलो परिवर्तन ल्यायो । त्यो भन्दा अघिको सरकारले स्थानीय निकायको निर्वाचन गर्ने घोषणा ग¥यो । त्यतिबेलासम्म म क्रियाशील राजनीतिक दलमा आवद्ध भएो थिइनँ । त्यतिबेला मलाई लाग्यो, जननिर्वाचित नभइ कन यो देशको आम नागरिकको समस्या समाधान गर्न सक्दैन भनेर २०६२ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँ । त्यतिबेला दलको तर्फबाट होइन, मान्यता प्राप्त दलहरुले चुनावमा भाव लिएका थिएनन । हामी स्वतन्त्र पृष्ठभूमिका व्यक्तिहरु निर्वाचन लडेका थियाँै । त्यसपछि म राप्रपा नेपालमा आवद्ध भएर क्रियाशील छु । केही समयदेखि पार्टी एकताको कुरा भइरहेको छ । एकताको बेला भएकाले मलाई कुनै जिम्मेवारी दिइएको छैन । एकता पछि कुनै जिम्मेवारी प्राप्त भएमा त्यो जिम्मेवारी वहन गर्छु पनि ।

    अन्तमा नुवाकोटवासी उपभोक्तालाई तपाई सन्देश केही छ कि ?
    सञ्चारकर्मी भनेको सचेत नागरिकको दर्जामा पर्नुहुन्छ । तपाईहरु कान नसुन्नेहरुको कान हो, आँखा नहुनेहरुको आँखा हो । त्यसैले उपभोक्ताको पक्षमा कम्तिमा दुई लाइन भएपनि सन्देशहरु प्रवाह गरेर उपभोक्तालाई सचेत बनाउने अभियानमा सहभागी हुनको लागि म आग्रह गर्दछु । अनाधिकृत रुपमा व्यापार गरेर उपभोक्ता ठगी गर्नेहरुको विरुद्ध पनि सञ्चारकर्मीहरुको कलम चल्नेछ भन्ने अपेक्षा गरेको छु । उपभोक्ताको बारेमा मैले अघि पनि भनेँ । सबै पक्ष एक भए मात्र हाम्रा समस्या समाधान गर्न सकिन्छ । त्यसैले आ–आफ्नो जिम्मेवारी सबैले बहन गरौँ । कुनै खालको समस्या देखिए, बढी मूल्यमा सामान विक्री भएको थाहा पाए, म्याद सकिएका तथा अन्य कुनै पनि विषयमा आफू ठगिए जस्तो लागे कम्तिमा सरोकारवाला निकायलाई भनिदिनुहोला । हामी सदैव साथमा छौँ । हरेक सामान खरिद गर्दा विल अनिवार्य लिने बानीको विकास गरौँ भन्न चाहन्छु ।
    प्रस्तुतिः भोलाराज पौडेल
    साभारः त्रिशूलीखबर साप्ताहिक

    #समाचार

    फेसबुक प्रतिक्रिया