बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • पढेर के गर्ने ?

    समिकरण न्युज २०७८, ४ आश्विन सोमबार १३:५८ पढ्न लाग्ने समय 4 मिनेट

    फूर्पा तमाङ

    (क) समय अनुसारको शिक्षा र जागिरः
    केही वर्ष अघिसम्म एसएलसीसम्मको पढाईलाई पनि ठूलै मानिन्थ्यो । ठूलो मान्नुको कारण अरु केही होइन । सजिलै जागिर पाउने भएर । ०४० साल अघिसम्म त्यति पनि पढ्नु पर्दैनथ्यो । कक्षा ८ सम्मको पढाईले जागिर पाइन्थ्यो । अरु जागिर नपाए पनि गाउँका विद्यालयहरुमा पढाउने शिक्षकमा तुरुन्तै पाइन्थ्यो । साधारण लेखपढ गर्न जान्नेहरुले कार्यालयहरुमा मुखिया र हलकरा पदहरुमा जागिर पाइन्थ्यो । उ बेलाको भाषामा पिउन वा पियन भनिने हालको कार्यालय सहयोगी पदमा जागिर खान लेखपढ गर्न नजान्नेले पनि जागिर पाउँथे ।
    भार्खु गाउँभरिमा जागिर खानेमा कक्षा ८ पढेका कृष्णबहादुर तमाङ शिक्षक भएका थिए । कक्षा १० उत्तीर्ण लामा नुर्पु तमाङ, पासाङ याङजेन तामाङ र सानो भार्खुकी सेती तामाङले शिक्षण पेसामा धेरै वर्ष काम गरेका थिए । माथिल्ले भेकमा थुमनको मिङमार तमाङ (बच्चु), गोल्जुङका मिलन तमाङ, कर्मा छिरिङ तमाङ, हाकुका कर्साङ तेम्पा तमाङ, ठूलो स्याफ्रुकी छोपेमा तमाङ, कर्न्याल तमाङ, धुन्चेका रिन्जेन तमाङ, लामा रिन्जेन घले आदिले बढीमा एसएलसी सम्मको अध्ययन गरेर पनि शिक्षकको जागिर पाएको उदाहरण भेटिन्छ ।
    पढ्दै नपढेको भए पनि वा साधारण लेखपढ गर्न जानेका धुन्चेकै पुराना पुस्ताका ग्युर्मी तमाङ, सेननुर्पु तमाङ, दिण्डुप तमाङ, ग्याल्टुप घले, नागुङका कैसाङ तमाङ, स्याफ्रुवेशीका कामी ग्याल्बो तमाङ, सिप्लि तमाङ, रिन्जेन तमाङ आदिले कार्यालय सहयोगीको जागिर पाएको देखिन्छ । साधारण लेखपढ गर्न जानेका भार्खुकै छोवाङ नुर्पु तमाङ, ठूलो स्याफ्रुको कामी सिदार तमाङ, ठाडेका एकजना र राम्चेका एकजनाले लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयमा गेमस्काउटमा जागिर पाएका थिए ।
    ल्याप्चे सही गर्न मात्र जानेका स्याफ्रुवेशीका निमाछोवाङ तमाङ, भार्खु गाउँका जोम्बोदर्के तमाङ, दावा तमाङ र साधारण लेखपढ गर्न जानेका सम्बादिण्डुप तमाङले हुलाकीमा जागिर पाएका थिए । एसएलसी उत्तीर्ण गरेकोलाई ठूलो बुद्दिजिवी मानिन्थ्यो । समाजमा उसको ठूलो मान सम्मान हुन्थ्यो । उसको बोली बिक्थ्यो । त्यो भन्दा माथिको पढाई भएकोलाई झन् बढ्दा आदर गरिन्थ्यो । जागिर नपाउने कुरै भएन ।
    एसएलसीसम्म पुगनपुग पढ्दा पनि निजामती सेवाको जागिर पाइन्थ्यो । धुन्चेकै मामी तमाङले जिल्ला पञ्चायत र जिल्ला विकास समितिमा मुखिया–खरिदार भएर काम गरेको देखेको छु । लामा दोर्जे घले र रिसुवाङदी तमाङले स्टोर किपर भएर खानेपानी कार्यालयमा जागिर खाएका थिए । छोवाङ दिण्डुप तमाङ र छोवाङ तमाङ जिल्ला प्रशासन कार्यालयमा सुब्बाबाट सेवा निबृत्त भएका छन् । स्याफ्रुका मिङमार दिण्डुप तमाङले चरन विकासमा कार्यालय सहयोगीको जागिर खाएका थिए । ठाडेका सोमबहादुर घले सुबेदार मेजरसम्म भएका छन् । उपरोक्त नामहरु केही उदाहरण मात्र हुन् । उनीहरु बाहेक जिल्लाका अन्य गाउँहरुबाट थोरै पढेर वा पढ्दै नपढेकाले पनि उबेला जागिर खाएका उदाहरणहरु छन् । जिल्लाको तल्लो भेकमा सरकारी जागिर र संस्थानमा जागिर खानेहरुको संख्या अझ उल्लेखनीय रहेको छ । जिल्लामा पढ्ने मानिसहरु नहुँदा बाहिरी जिल्लाबाट आएकाले रसुवामा सजिलै जागिर पाउँथे । छिमेकी जिल्लाहरुबाट मात्र नभएर तराई र पूर्वका झापाबाट समेत धेरैले शिक्षकमा जागिर खान आएका थिए । उबेला न्याय नपाए गोरखा जानू भन्ने उखान झैं ०५० साल अघिसम्म रसुवा आएपछि जागिर पाइहाल्थ्यो । अब त्यस्तो जमाना छैन ।

    (ख) शिक्षित जनसंख्याको बृद्दि र जागिरमा प्रतिस्पर्धाः
    रसुवाको शैक्षिक जागरण २०४६ सालको राजनैतिक परिवर्तन पछि मात्र भएको मान्न सकिन्छ । विशेषगरी माथिल्लो भेकको जनतामा शिक्षाको खासै चासो भएको पाइँदैन । त्यसपछि शिक्षामा केही सुधारहरु भएको देख्न सकिन्छ । खासगरी वैदेशिक रोजगारीमा जान थालेपछि शिक्षाको महत्व बुझ्दै गएको पाइन्छ । तथापि उल्लेखनीय परिवर्तन र जागरण भने अझै आएको छैन । ०४६ साल पछि गाउँगाउँमा प्राथमिक विद्यालयको संख्यामा बृद्दि हुँदै गयो । राजनीतिक चेतनामा अभिवृद्दि हुँदा त्यसको प्रभाव असर शिक्षामा देखिन थाल्यो । निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयको संख्या थप्दै जान थाले । ०४६ साल सम्म जिल्लामा ३ वटा मात्र माध्यमिक विद्यालयहरु रहेकोमा माथिल्लो भेकमा स्याफ्रुवेशी, गोल्जुङ र गत्लाङमा माध्यमिक विद्यालय स्थापना भयो । तल्लो भेकमा भोर्ले, सरमथली पारिभेकमा हाकु, डाँडागाउँ, ठूलोगाउँमा समेत माध्यमिक विद्यालयहरु स्थापना भयो । ग्रामीण किसानका छोराछोरीले घरदैलोमा पढ्न पाए । ०६० साल पछि कक्षा १२ सम्म पढाई हुने उच्च माध्यमिक विद्यालयहरु धेरै ठाउँमा खुले भने स्नातकतहमा अध्यापन गराउने क्याम्पसहरु पनि खुल्न थाल्यो । गुणात्मकलाई छाडेर भन्ने हो भने प्रत्येक घरमा उच्च शिक्षा अध्ययन गरेकाहरुको संख्या निकै बृद्दि भएको छ । यो खुसीकै कुरा हो ।

    (ग) समय सापेक्ष काम लाग्ने शिक्षा अध्यापन गराउनु पर्छः
    अब हिजोका दिनमा झैं सजिलै जागिर पाउन सक्ने स्थिति भएन । एउटा शिक्षित जनसंख्या बृद्दि हुनु र अर्को जागिरका लागि नयाँ व्यवस्थाहरु लागू हुनु । यसले गर्दा ग्रामीण क्षेत्रमा शैक्षिक बेरोजगारहरुको संख्या बढ्दो छ । अस्थायी प्रकृतिको जागिर करारमा होस् या ज्यालादारीमा खान समेत ठूलो प्रतिस्पर्धा हुन थालेको छ ।
    ग्रामीण क्षेत्रमा शैक्षिक बेरोजगार बढ्दै जानुमा मुख्यतः समय सापेक्ष काम लाग्ने शिक्षामा राज्यले खर्च गर्न नसक्नु वा नजान्नु । कामै नलाग्ने शिक्षा अध्ययन गराएर न घरको काममा बाबुआमालाई सघाउन पाएको छ न पढेका छोराछोरीले पढिसकेपछि जागिर पाएका छन् । ऋणपान गरी पढायो कि बेरोजगार भएर घरमै बसेका छन् वा वैदेशिक रोजगारीमा दौडेका छन् । यसकारण धेरै पढियो भनेर खुसी हुनु पर्ने अवस्था छैन । थोरै वा कम पढेर पनि प्रत्येकले काम गर्न पाउनु पो राम्रो । अनि पो शिक्षाप्रति सम्मान जाग्छ । ग्रामीण क्षेत्रमा खुलेका शैक्षिक संस्थाहरुले किसान र मजदुरका छोराछोरीको हातमा गाउँमै पढेर डिग्रीको सर्टिफिकेट त दिन्छ तर त्यो सर्टिफिकेटले काम दिंदैन । खान (माम) दिँदैन । यसले समय, श्रम र आर्थिक लगानी सही ठाउँमा भएको मान्न सकिन्न ।
    नेपाल कृषि प्रधान देश हो । माध्यमिकतहबाटै कृषि सम्बन्धी शिक्षा दिँदा उपयुक्त होला कि? उच्च शिक्षा तर्फ कृषि प्राविधिक विषय पो ठीक हुने हो कि? हाइड्रोपावरहरु भएको क्षेत्रमा सोही विषयको शिक्षाहरु दिँदा उपयुक्त हुने हो कि? यस्तै अन्य थुप्रै विषयहरु हुन सक्छन् जुन विषय पढ्दा स्थानीय स्रोत साधनको उपयोग मार्फत विकास कार्य गर्न सहयोग पुग्ने ज्ञान दिन र सिक्न सकेको होस् । समग्र देश विकासको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सकेको होस् । वैदेशिक रोजगारमै जाने हो भने पनि सेक्यरिटी गार्ड गर्न नपरोस् । एउटा प्राविधिक जनशक्ति भएर काम गर्न सक्ने होस् । तब न पढेको शिक्षाले काम ग¥यो भन्न सकिन्छ ।
    अन्त्यमा, अब शैक्षिक संस्थाहरुले काम लाग्ने शिक्षा दिने कुरामा जोड दिनु पर्छ । कुन विषय पढ्दा र पढाउँदा नागरिकले कम्तिमा आफ्नो दैनिक जीवन संचालन गर्ने सीप जान्दछ त्यो पढाउनु पर्छ । सार्टिफिकेट दराजमा थन्काउनका लागि पढ्ने पढाउने काम गर्नु हुन्न । शिक्षालाई संविधानको मौलिक हक अन्तरगत राख्ने तर त्यही शिक्षा काम लाग्ने भएन भने नागरिकले दुःख मात्र पाउँछ । शिक्षामा लगानी गरेको वर्षौंको समय, श्रम र खर्च बेकम्मा हुन्छ । सन्तानले जीवन निर्वाहको लागि काम नपाउँदा बुढेसकालमा कुनचाहिं बाबुआमाको मन नरोला ? त्यो युवाको मनोविज्ञान कस्तो असर पर्ला? पढेपछि हात बाँधेर बस्नु पर्ने शिक्षा केका लागि ? कसका लागि ? सोच्नै पर्छ । त्यस्तो शिक्षाले न पढ्नेलाई खुसी दिन सक्छ न परिवारलाई ? न समाज रुपान्तरणमा त्यसको प्रयोग हुन्छ । धेरै पढेर काम नपाउँदा अनि पढेर के गर्ने ? भन्ने प्रश्न उठ्नु स्वभाविक भएकोले अबको शिक्षा त्यस्तो हुनुहुँदैन ।

    साभारः त्रिशूलीखबर साप्ताहिक

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया