काहुले । किस्पाङ गाउँपालिका वडा नम्बर २ मा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
शिव र राधाकृष्ण मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा एम्वुलेन्स खरिद तथा सञ्चालन गर्नलाई श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो । कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलको मुखारवृन्दबाट कथा प्रवचन हुने गरि वुधवारदेखि सुरु भएको महायज्ञ पौष १ गतेसम्म सञ्चालन हुने श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभएको छ ।
किस्पाङ गाउँपालिकाको संरक्षक र वडा नम्बर २ को कार्यलय सह–संरक्षक रहने गरि सञ्चालित महायज्ञको उद्घाटन समारोहको संवोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले धार्मिक कार्य मार्फत संकलित रकमबाट सामाजिक कार्यमा लगानी गर्ने उदेस्यलाई पूरा गर्न गाउँपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । धार्मिक शास्त्रमा उल्लेख गरिएको ज्ञानवद्र्धक विषयहरुलाई अनुसरण गरिएको खण्डमा ऐन कानुनको आवस्यक नपर्ने र मानिसहरुलाई एकताको सुत्रमा बाध्नलाई सहज बनाउने बताउनुभएको छ ।
महायज्ञको पहिलो दिन विभिन्न बाजागाजा सहित कलश यात्रा भागवत मण्डपदेखि मनकामना मन्दिरसम्म निकालिएको फिकुरी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष कृष्णप्रसाद भट्टले जानकारी दिनुभएको छ । कलस यात्रामा करिव ५ सय जना भक्तजनहरुको सहभागिता रहेको थियो ।
महायज्ञमा ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँ सम्म दान गर्नेहरुको नाम शिलालेखमा राख्ने, १० हजार रुपैयाँ भन्दा माथी दान गर्नेहरुलाई आजिवन सदस्य दिने, ३० हजार रुपैयाँदेखि माथीको सहयोग गर्ने सस्था र व्यक्तिको नाम एम्वुलेन्समा राखिनेछ । यस्तै ५० हजार रुपैयाँभन्दा माथीका दानविरहरुको फोटो सत्तलमा राखिने र १ लाख रुपैयाँ भन्दा माथी दान गर्ने दानविरहरुलाई मानार्थ सम्मान प्रदान गरिने फिकुरी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष भट्टले जानकारी दिनुभएको छ ।
किस्पाङ गाउँपालिकाको समग्र विकास साथै एम्वुलेन्स खरिद प्रयोजनार्थमा महायज्ञ आयोजना गरिएकोले कुनै पनि भ्रममा नपर्न कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले आग्रह गर्नुभएको छ ।
यस्तै महायज्ञको पहिलो दिनको अवसर पारेर रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ६ जना महिला र २० जना पुरुषले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा १७ जना नयाँ रक्त दाता रहेको नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाका सदस्य रविन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।