नेपाली कांग्रेस सभापती चयनका लागि मंगलवार नै दोस्रो चरणको मतदान हुँदैछ । दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो । मतदान मंगलवार तोकिएकै तीन ठाउँमा हुनेछ । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमै दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउनु भएको थियो भने कोइरालाले १ हजार ७ सय २ मत पाउनु भएको थियो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कुनै पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।
यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि मंगलवार बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो ।
१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको थियो । स्रोत_ ujyaaloonline.com