शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • सरकारी वकिल कार्यक्रमलाई स्थानीयस्तरमा लैजानु पर्ने सरोकारवालाहरुको भनाई

    समिकरण २०७८, १ पुष बिहीबार २०:३६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । समुदायमा सरकारी वकिल कार्यक्रमलाई स्थानीयस्तरमा लैजानु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
    विहीबार विदुरमा सरकारी वलिलको कार्यालयको आयोजनामा भएको ‘समुदायमा सरकारी वकिल कार्यक्रम’ सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा सहभागीहरुले ग्रामीणभेगमा कानूनी सचेतनाको खाँचो बढी रहेकोले स्थानीयस्तरमा कार्यक्रम विस्तार गर्न आग्रह गरेका हुन् ।
    कार्यक्रममा नुवाकोट जिल्ला अदालतका न्यायाधिश उमेशप्रसाद लुईटेलले समाजमा नै पीडित र पीडक हुने भएकोले पीडितले न्याय पाउनको लागि समुदायको भूमिका पनि अहम् हुने बताउनु भएको छ । उहाँले कतिपय घटनाका नक्कली पीडित र नक्कली पीडक समेत खडा गरिदिएर न्यायलाई प्रभावित पार्ने प्रयासहरु पनि हुने गरेकोले समुदायले देखेको वास्तविकता न्यायिक निकायमा ल्याइदिएमा न्याय निरुपणमा सहज हुने बताउनुभएको छ ।
    कार्यक्रममा विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले समयमा नै मुद्धाको किनारा नलाग्दा पीडित झनै पीडित हुनु परेकोले छिटो छरितो न्याय निरुपणमा ध्यान दिनु पर्ने बताउनुभएको छ । यस्तै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले स्थानीयस्तरका नागरिकहरुलाई कानूनी सचेतनाको खाँचो रहेकोले गाउँगाउँमा कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो ।
    कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती लगायतले सरकारी वलिलको कार्यालय, नुवाकोट जिल्ला बार एसोसिएसनको सहकार्यमा आआफ्नो स्थानमा कानूनी सचेतना कार्यक्रम सञ्चालन गर्ने र त्यसको लागि आवश्यक स्रोतको व्यवस्थापन समेत गर्ने बताएका छन् ।
    कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष राजाराम थपलिया, नुवाकोट बारका पूर्वअध्यक्ष देवराज कँडेल लगायतले न्याय संपादनमा राजनितिकरण हावी हुदा समस्या आउने गरेको बताएका छन् । कार्यक्रममा सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत कार्यालयले प्रदान गर्ने सेवा तथा भूमिकाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

    #अपराध

    फेसबुक प्रतिक्रिया