
विदुर । नुवाकोटको तादी गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
शनिवार हिन्दु परम्परा अनुसार रुद्री, होम होमादी सहित पुजा अर्चना गरी विधिवत रुपमा तादी गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट कार्य शुभारम्भ गरेको हो । नयाँ प्रशासनिक भवनबाट सेवा सुभारम्भ तथा कार्यलय प्रवेश कार्यलयमा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाह तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी लगायतको उपस्थिति रहेको थियो ।
प्रशासनिक भवनको निर्माण कार्य गएको जेष्ठ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित विसं २०७६ साल जेष्ठ १७ गतेदेखि मिलेनियम÷ कल्पवृक्ष जे.भि.ले निर्माण कार्य सुरु गरेको थियो । निर्माण कम्पनीले निर्धारित समय भन्दा झण्डै ५ महिना अगाडी नै भवनको निर्माण कार्य सम्पन्न गरि गाउँपालिकामालाई हस्तान्तण गरिसकेको थियो । गत आर्थिक वर्षभित्र नै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेको थियो । तर कोरोना भाइरसको कारण सम्भव नभएकोले केही समय ढिला गरि गाउँपालिकाको कार्यलय नयाँ भवनमा सारिएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताउनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नलाई ६ करोड रुपैयाँ लाग्ने अनुमान गरेता पनि निर्माण कम्पनिले ५ करोड रुपैयाँको हारहारीमा सम्झौता गरेको थियो । भवन निर्माण गर्नलाई जिल्ला समन्वय समितिबाट १ करोड ६० लाख रुपैयाँ, संघिय मामिला तथा सामान्य मन्त्रालयबाट ८५ लाख रुपैयाँ र बाँकी गाउँपालिकाको लगानी अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ । झण्डै ३ रोपनी जग्गामा फैलिएको खरानीटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको जग्गामा गाउँपालिकाको भवन बनाएको अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।