नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ ।
नेतृत्व चयनको लागि सोमवार मतदान भएको थियो । अन्तिम मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभएको हो । कुल २ सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरेका थिए । वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन १ सय ७८, रामप्रसाद ढुङ्गाना १ सय १ र प्रेम बहादुर पुलामी (छिन्तु) १ सय ३८ मत सहित विजयी भएका छन् । यस्तै सचिवमा इन्द्रबहादुर थिङ १ सय ४९ मत सहित विजयी हुनुभएको छ ।
यस्तै सहसचिवहरुमा मा दलबहादुर बुर्लाकोटी १ सउ १५, माधवप्रसाद लामिछाने १ सय ९ र प्रकाश श्रेष्ठ १ सय ८ मत सहित विजयी भएका छन् । कोषाध्यक्षमा निर्वाचित संगिता भट्टराईले १ सय ५३ मत प्राप्त गर्नुभएको थियो । वागमती प्रदेश समितिको ९ पदाधिकारीको लागि २७ जनाको उम्मेदवारी परेको थियो । वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनले २ सय ७५ जना सदस्य चयन गरेको थियो । तर पदाधिकारीमा भने सहमति हुन सकेको थिएन । अध्यक्ष लगायत पदाधिकारीमा सहमतिका लागि प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचन गरिएको हो । यसअघि नुवाकोटका हिरानाथ खतिवडा सहित आधा दर्जन भन्दा वढी नेताहरुले अध्यक्षको लागि दावी गरेका थिए ।
माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।