वुधवार र विहिवार नुवाकोटका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ ।
कोरोना भाइरसबाट सुरक्षित रहन खोप नै उत्तम उपाय रहेकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लक्षित गरि खोप अभियान सञ्चालन गरिसकेको छ । नुवाकोटमा भने १ सय ८५ वटा केन्द्रबाट वुधवार र विहिवार बालबालिकालाई लक्षित गरि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभएको छ । जिल्लाको सबै स्वास्थ्य सस्था र विद्यालयहरुबाट बालबालिकालाई खोप दिइने उहाँले बताउनुभएको छ । स्थानीय तहहरुको मागको आधारमा केन्द्रहरुमा खोप पुराइसकिएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभएको छ ।
जिल्लाका करिव ३० हजार ५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । लक्षित समूहका करिव ११ सय बालबालिका विद्यालयभन्दा बाहिर रहेकोले उनीहरुलाई समेत खोप अभियानमा समेटिने उहाँको भनाई छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि खोप लगाउनु नै महत्वपूर्ण रहेकोले सबै लक्षित समूहका बालबालिकालाई ढुक्क भएर खोप लगाउन स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले आग्रह गर्नुभएको छ । साथै बालबालिकालाई खोप लगाउनको लागि आवस्यक सहजिकरण गरिदिनलाई अभिभावकहरुलाई समेत उहाँको आग्रह रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगरिदिन समेत उहाँको आग्रह रहेको छ । यस अभियानमा पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्मको अवधीमा दोस्रो मात्रा लगाउन पाउने छन् ।