पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको कविलास स्वास्थ्य चौकीमा प्रसुती सेवा सुरु भएको छ ।
पूर्ण सस्थागत सुत्केरी गाउँपालिका निर्माणको अभियान अन्तर्गत रहेर एक कार्यक्रमको बिच सोमवार स्वास्थ्य चौकीमा प्रसुती सेवा उद्घाटन गरिएको हो । यस अघि गाउँपालिका भरिमा भद्रुटार स्वास्थ्य चौकीमा मात्रै प्रसुती सेवा उपलव्ध रहेको थियो । ‘एक वडा एक बर्थिङ सेन्टर’ स्थापना गर्ने उदेस्य अनुसार यसै हप्ता भित्र थप्रेक स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी र बानियाटार सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर सुचारु गर्ने स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले जानकारी दिनुभएको छ ।
गाउँपालिका भरिमा एउटा मात्रै वर्थिङ सेन्टर हुदा अपायक पर्ने सेवाग्राहीहरु छिमेकी पालिका र जिल्ला अस्पताल सम्म आउनेपर्ने वाध्यतालाई मध्यनजर गर्दै पालिकाले स्थानीय स्वास्थ्य सस्थामा नै गुणस्तरीय प्रसुती सेवा उपलव्ध गराउने निति लिएको थियो । सोही निति कार्यान्वयनको चरणमा रहेको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले बताउनुभएको छ । घरमा नै सुत्केरी हुने दरलाई सून्यमा झार्न र नवजात शिशु साथै आमाको स्वास्थ्यमा हुन सक्ने जटिलतालाई कम गराउन स्थानीय स्वास्थ्य सस्थामा स्थापना गरिने वर्थिङ सेन्टरले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कविलास स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर उद्घाटन कार्यक्रमलाई संवोधन गनुृहुदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले स्वास्थ्य सस्थाहरुको सुधार गर्नलाई पालिका तल्लिन रहेको बताउनुभएको छ । पालिका भित्र ४ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य इकाई रहेकोले त्यहाँवाट प्रवाह हुने सेवा सुविधाहरु थप गर्दै जाने प्रशासकीय अधिकृत विष्टको भनाई छ ।
साथै पञ्चकन्या गाउँपालिकाले नियमित रुपमा गर्भ जाँचलाई प्रोत्साहन गर्न अण्डा दिने कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भवतीहरुले गर्भ जाँच गराउनैपर्ने हुन्छ । हरेक पटकको गर्भ जाँचमा एकएक क्रेट अण्डा गर्भवतीलाई दिने गरिएको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले बताउनुभएको छ । त्यस्तै बच्चा जन्मिएको २ वर्षजम्म नियमित रुपमा स्वास्थ्य सस्थामा गई बच्चाको तौल लिनलाई प्रेरित गर्नको लागि ‘बच्चा जोख्नुस्, नुन बोक्नुस्’ भन्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ । बच्चाको तौल लिनलाई स्वास्थ्य सस्था गएको खण्डमा १ पोका आयोडिन नुन दिने गरिएको र यस कार्यक्रम प्रभावकारी बनिरहेको स्वास्थ्य शाखा प्रमुख महतोको भनाई छ ।