वट्टार । विदुर नगरपालिका स्थित स्वास्थ्य सस्थाहरुमा पाठेघर स्क्रिनीङ शिविर जारी रहेको छ ।
पुस ६ गतेबाट सुरु भएको शिविर मंगलवार सम्ममा ७ वटा स्वास्थ्य सस्थामा सम्पन्न भइसकेको छ । उक्त शिविर चरणवद्ध रुपमा पुस २६ गतेसम्म सञ्चालन हुनेछ । विदुर नगरपालिकाको स्वास्थ्य शाखाले गत वर्ष विभिन्न ५ स्थानमा महिलाहरुको पाठेघर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो ।
उक्त समयमा सञ्चालित शिविरमा पाठेघरको समस्या भएको महिलाहरु अत्याधिक रहेको पाइए पछि सम्वन्धित सबैलाई पायक पर्ने गरी यस वर्ष नगर भित्रको १८ वटा स्वास्थ्य सस्था मध्ये १७ वटामा शिविर सञ्चालन गर्ने लक्ष्य लिएको थियो ।
स्थानीय स्तरमा नै यसरी शिविर सञ्चालन हुदा आफ्नो स्वास्थ्यको अवस्थाको वारेमा जानकारी लिनलाई सहज भएको प्रतिक्रिया छ विदुर नगरपालिका वडा नम्बर ४ मा बस्नुहुने सञ्जिला अधिकारीको ।
कार्यक्रमको नाम पाठेघर स्क्रिनीङ शिविर रहेता पनि भिडियो एक्सरे सहितको महिलासँग सम्वन्धित सबै रोगको पहिचान तथा उपचार स्त्री रोग विशेषज्ञ मार्फत हुने गरेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा सञ्चालित शिविरमा सेवाग्रहीहरुको चाप देखिएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारी ।
प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने बानी नेपाली समाजमा न्यून रहेको छ । प्रजनन स्वास्थ्यमा देखा परेको समस्याले जटिल रुप लिए पछि मात्र उपचार प्रक्रियामा जाने प्रचलन धेरै छ । समयमा नै रोग पहिचान गरी उपचार गर्न सकियो भने उपचार खर्च बढी लाग्नबाट बचाउँछ । स्थानीय स्वास्थ्य सस्थामा सञ्चालित यस्ता शिविर हाम्रै लागि आएको हो भनेर भरपुर उपयोग गर्नलाई विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठको आग्रह रहेको छ ।
शिविरमा नै पाठेघरमा रिङ पेसरी राख्ने व्यवस्था गरिएको छ । शिविरमा सहभागी मध्ये पाठेघरको थप उपचार गर्नु पर्ने भएकाहरुलाई त्रिशुली अस्पाताल र काठमाडौँ कहाँ जान पर्ने हो त्यसको बारेमा समेत जानकारी गराउने गरिएको छ । शिविरमा सहभागी महिलाहरुको पाठेघरको शल्यक्रिया गर्नुपरेमा नगरपालिकाले निशुल्क शल्यक्रियाको व्यवस्था गर्ने उपमेयर गीताकुमारी दाहालको प्रतिवद्धता रहेको छ ।
हाल सम्म वडा नम्बर १, २, ३, ४ र ५ मा रहेको स्वास्थ्य सस्थाहरुमा शिविर सञ्चाmन भइसकेको छ । बाँकी ८ वटा वडामा रहेको स्वास्थ्य सस्थामा क्रमवद्ध रुपमा शिविर सञ्चालन गर्ने कार्य तालिका रहेको छ । आफ्नै वडामा सञ्चालित शिविरमा जान नभ्याएका नागरिकहरुलाई छिमेकी वडाको स्वास्थ्य सस्थामा सञ्चालन हुने शिविरमा सहभागी हुन समेत नगरपालिकाले आग्रह गरेको छ ।