शुक्रवार ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ । नेपाली काङ्ग्रेस नुवाकोटले ८८ वटै वडामा विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर स्वदेश फर्कनुभएको सम्झनामा पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने गरिएको हो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।
कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । दिवस मनाउनको लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटको पहिलो वैठकले शुक्रवार ८८ वटै वडामा प्रतिनिधि खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्लाको सबै वडामा जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि सहभागी भएर ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने कार्ययोजना रहेको जिल्ला सभापती रमेशकुमार महतले बताउनुभएको छ । साथै प्रतिनिधिहरुको रोहवरमा वडा कार्य समितिको वैठक वसेर समसामयिक विषयमा छलफल गर्ने कार्य योजना समेत रहेको जिल्ला सभापती महतको भनाई छ ।