शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • निर्णय तहमा पुरुषको वर्चस्व रहदा महिलाहरुको नेतृत्व तहमा सहभागिता न्यून

    समिकरण २०७८, २५ पुष आईतवार २१:४८ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले निर्णय तहमा पुरुषको वर्चस्व रहेकोले महिलाहरुको नेतृत्व तहमा सहभागिता न्यून रहेको बताउनुभएको छ ।
    विदुर नगरपालिकाको सहयोगमा संकल्प शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल जिल्ला शाखा नुवाकोटले आयोजना गरेको मनोसामाजिक स्वास्थ्य र लैङ्गिक हिंसा विरुद्धको २ दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले लैङ्गिकता र समावेशिताको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रश्तुतिकरणको क्रममा उहाँले संविधान र कानुनमा महिला र पुरुष बिचमा समानताको विषय उल्लेख गरिएता पनि व्यवहारमा असमानता रहेको बताउनुभएको छ । श्रोतसाधन, अवसर, सहभागिता र शक्तिको बाडफाडको विषयमा महिला र पुरुषमा असमानता हुनाले महिलाहरु नेतृत्व तहमा पुग्नलाई समस्या भइरहेको उहाँको भनाई छ ।
    यस्तै अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरिक्षक ललिता ढकालले लैङ्गिक हिंसा तथा घरेलु हिंसा, लैङ्गिक हिंसाका प्रकार र कारणहरु, जिल्लामा भएका हिंसाका घटनाा र उजुरी गर्ने निकायहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


    यस्तै मनोपरामर्शकर्ता रुपा राईले मानसिक सुस्वास्थ्य, मनोसामाजिक समस्या, मनोसामाजिक समस्याले परिवार र समाजमा पार्न सक्ने असरहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    मनोसामाजिक स्वास्थ्य र लैङ्गिक हिंसा विरुद्धको अभिमूखिकरण कार्यक्रम सोमवारसम्म सञ्चालन हुनेछ । आदिवासी जनजाती, पत्रकार, अपांगता भएका व्यक्ति, एकल महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने २५ जना महिलाहरुको सहभागिता रहेको छ । मनोसामाजिक स्वास्थ्यमा स्वस्थ बनाउन र लैङ्गिक हिंसा मुक्त समाज निर्माण गर्नलाई तालिमको आयोजना गरिएको संकल्प शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल जिल्ला शाखा नुवाकोटका अध्यक्ष शर्मिला थापा मगरले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया