शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • कोरोनाका कारण औपचारिक/सार्वजनिक कार्यक्रमहरु स्थगित

    समिकरण २०७८, २९ पुष बिहीबार १९:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको विभिन्न स्थानमा तयारी गरिएको औपचारिक÷सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको छ । फैलदो रुपमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सार्वजनिक स्थलमा २५ जना भन्दा वढीको सहभागितामा सार्वजनिक कार्यक्रम नगर्न÷नगराउन नेपाल सरकार र जिल्ला प्रशासन कार्यलयले निर्देश गरे पछि ती कार्यक्रमहरु स्थगित गरिएको हो ।
    नुवाकोटको पहिचानसँग जोडिएको गोरु जुधाई मेलादेखि पूर्व राष्ट्रपती डाक्टर रामवरण यादवको उपस्थितिमा हुने कार्यक्रम समेत स्थगित गरिएको हो । नुवाकोटमा आन्तरिक पर्यटन प्रर्वद्धनको माध्यम बन्दै आएको गुरु जुधाई मेला कोरोना भाइरसको कारण स्थगित भएको सूचना मार्फत जानकारी गराइएको छ । माघे संक्रान्तिको दिन हुने तारुकाको गोरु जुधाई मेला स्थगित भएको सूचना सार्वजनिक भएको छ । माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सुर्यमान श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रतिकुल परिस्थितीका कारण मेला स्थगित गरिएको जानकारी दिनुभएको छ ।
    यस्तै वेत्रावतीमा आयोजना गरिने गोरु जुधाई मेला पनि स्थगित भएको छ । गोसाईकुण्ड युवा क्लवले आयोजना गर्न लागेको मेला स्थगित गर्नलाई जिल्ला प्रशासन कार्यलय नुवाकोटले पत्राचार गरे पछि क्लवको वैठकले स्थगित गर्ने निर्णय गरेको हो । मेलामा सहभागी हुने गोरु छनौट देखि आवस्यक तयारीहरु क्लवले पूरा गरिसकेको थियो । प्रशासनको पत्रचारलाई मध्यनजर गर्दै मेला स्थगित गरिएको गोरु छनौट समितिका संयोजक अष्टमान डंगोलले बताउनुभएको छ ।
    यस्तै अघिल्ला वर्षहरुमा माघ १ मा जिल्लाको लिखु गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा गोरु जुधाइ सहित विविध कार्यक्रमहरु हुदै आएको थियो । कोरोना भाइरस जोखिमको कारण ती स्थानहरुमा पनि मेला तथा कार्यक्रम नहुने बताइएको छ ।


    यस्तै शुक्रवार शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन पूर्व राष्ट्रपती डाक्टर रामवरण यादवको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । पौस २७ गते वसेको जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय तथा निर्देशनलाई पालना गरी उक्त कार्यक्रम स्थगित गरिएको शिवपुरी गाउँपालिकाले जनाएको छ ।

    #कृषि

    फेसबुक प्रतिक्रिया