अमित गजुरेल, विदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित नवज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिहं तामाङलाई हस्तान्तरण गर्नुभएको हो । विद्यालय हस्तान्तरण प्रमाण–पत्र र नमूना साँचो हस्तान्तरण पश्चात दुप्चेश्वर गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, विद्यालय तथा सप्रोस नेपालको भूमिका तथा कार्य जिम्मेवारीहरु उल्लेख गरी सम्बन्धित सवै पक्षको हस्ताक्षर सहितको सहमति–पत्र आदानप्रदान समेत गरिएको छ ।
सप्रोस नेपालको तर्फबाट विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलले भवन निर्माण परियोजना सम्बन्धित मुख्य गतिविधि तथा निर्माणमा भएको खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरण अनुसार ७ वटा कोठा भएको दुई भवनहरु, लैङ्गिक मैत्री शौचालय, १४८ मिटर घेराबार, इन्टेक तथा १ हजार ९ सय ६५ मिटर पाईपलाइन बिछयाएर दिगो खानेपानीको श्रोत व्यवस्थापन, प्र्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर, बालबालिकाको लागि खेल उद्यान तथा खेल सामाग्री, हात धुने स्थान निर्माण गरिएको छ ।
उक्त कार्यक्रममा मटम्याक डोनाल्डका श्रेत्रीय प्रतिनिधि साइमन होवार्थले भवनहरु निर्माण गरी समयमै हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । सप्रोस नेपालका कार्यकारी निर्देशक डा.सुनित अधिकारीले विभिन्न कठिनाइका वावजूद भवन लगायतका पूर्वाधारहरु निर्माण सम्पन्न गरी विद्यार्थीले प्रयोग गर्ने गरी हस्तान्तरण गर्न पाएकोमा प्रसन्नता प्रकट गर्दै भविष्यमा शैक्षिकस्तर अभिबृद्घिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिहं तामाङले सम्पूर्ण सुविधा सहित निर्मित भवन, शौचालय, खेलमैदानको व्यवस्थाले यस विद्यालय दुप्चेश्वर कै नमूना विद्यालयको रुपमा स्थापित भएको उल्लेख गर्नुभएको छ । पूर्णिमा कार्यक्रम र गाउँपालिका बीच लामो सहकार्य भएको र गाउँपालिकाको दुई विद्यालयहरुमा निर्मित भौतिक सरंचनाहरु लोभ लाग्दो रहेको उहाँको भनाई छ । साथै अबको उद्देश्य शैक्षिकस्तर सुधार्नु भएको उल्लेख गर्दै नवज्योति आधारभूत विद्यालयमा थप एक शिक्षकको कोटा स्वीकृत भैसकेको उहाँले बताउनुभएको छ ।
दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अन्जु आचार्य तथा दुप्चेश्वर ६ का वडा अध्यक्ष श्री किशोर आचार्यले दुप्चेश्वरमा भए गरेका विकास निर्माणका कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै असाध्यै दुःखका साथ कमजोर भौतिक अवस्थामा पढाई सन्चालन हुँदै आएकोमा नवनिर्मित भवन, खेल सामाग्री लगायतका सुविधाले पढाईस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।