रानीपौवा । काठमाडौँ– ककनी– त्रिशुली सडक खण्ड अर्थात पासाङ ल्हामु राजमार्गको स्तरउन्नतीको कार्यमा भइरहेको ढिला सुस्तिप्रति खबरदारी गर्न आइतवार र सोमवार विरोधको कार्यक्रम गरिने भएको छ ।
“पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान” ले निरन्तर रुपमा सडकको स्तरउन्नतीको माग गर्दै आइरहे पनि निर्माण कम्पनी र सरोकारवाला निकायले व्यवास्ता गरेको भन्दै आइतवार र सोमवार पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो । काठमाडौँ महानगरबाट ओखरपौवामा ल्याइने फोहोरको गाडी सञ्चालनमा समेत रोक लगाइने “पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान”का संयोजक आदित्य श्रेष्ठले जानकारी दिनुभएको छ । अघिल्लो समयमा भएको लिखित सम्झौता कार्यान्वयन नभएकोले अबको दिनमा “पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान”को प्रत्यक्ष निगराीमा राजमार्गको स्तरउन्नती गर्नुपर्ने माग रहेको संयोजक श्रेष्ठको भनाई छ ।
त्यस्तै पासाङ ल्हामु राजमार्गको स्तरउन्नती कार्यमा राजनैतिक दलको जिम्मेवार पदमा रहेका तथा नरहेका नेताहरुले चासो नदिएको भन्दै फागुन १ गतेदेखि “नेता निशेधित राजमार्ग” घोषणा गरिएको उहाँको भनाई छ । राजमार्गमा नेताहरुको आगमन भएमा “पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान”मा आवद्ध युवाहरुले कालो झण्डा देखाउने र त्यसमा कसैले आपत्ति नजनाइदिन समेत उहाँको आग्रह रहेको छ ।