विदुर । शनिवार छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । २०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसको पूर्वसन्ध्यामा शुक्रवार जिल्ला निर्वाचन कार्यलय नुवाकोटले “निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जिल्लामा रहेका मतदाता, मतदान स्थल, मतदान केन्द्र, निर्वाचनमा सरोकारवालाहरुको भूमिका, निर्वाचन आचार संहिताको आवस्यकता, आचार संहिता लागू हुने निकाय र व्यक्तिहरू लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबै मतदाताहरुको नयाँ मतदाता परिचय पत्र निर्वाचन आयोगले उपलव्ध गराउनु पर्नेमा जोड दिनुभएको छ । जिल्ला निर्वाचन कार्यलयले यस अघिको निर्वाचनमा लिएको मतदाता परिचय पत्र नष्ठ भएको वा हराएको भएमा यहि फागुन २० गते सम्ममा सम्बन्धीत वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रको लागी निवेदन दिनको लागि सूचना आह्वान गरेको छ । उक्त सूचनामा आधारित भइ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले यस अघिको निर्वाचनमा प्राप्त परिचयपत्र मतदाताहरुले जतनको साथ नराखेको पाइएकोले सबै मतदाताको परिचय पत्र निर्वाचन आयोगले उपलव्ध गराउनु पर्ने माग राख्नुभएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य अरुणकुमार श्रेष्ठले निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना हुन नसक्दा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चुनौती रहेको बताउनुभएको छ । यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव श्रीराम श्रेष्ठले मतदातालाई प्रभाबित पार्ने खालका गतिविधिहरु सञ्चालन हुन थालिसकेकोले त्यसलाई रोक्नको लागि जिम्मेवार निकायको ध्यान जानु आवस्यक रहेको बताउनुभएको छ । निर्वाचनलाई निष्पक्ष बनाउन दलिय प्रतिनिधिको जिम्मेवारी मुख्य हुने भएकोले जिल्लाको राजनैतिक दल एकापसमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता नविन पुडासैनीले चुनाव खर्चिलो र भड्किलो हुने गरेकोले त्यसलाई रोक्न प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी, लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी, परिवार दल, विवेकशिल साझा पार्टी लगायत राजनैतिक दलका प्रतिनिधिहरु, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित लगायतले आसन्न निर्वाचन सफल बनाउन आफ्नो पार्टी र सस्थाबाट गर्नुपर्ने क्रियाकलाप मार्फत निर्वाचन कार्यलयलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रजातन्त्रको आधार स्तम्भ निर्वाचन रहेकोले मतदाताले भय रहित वातावरणमा घरदेखि मतपेटिका सम्म मत पुराउनलाई राजनैतिक दलको मुख्य भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभएको छ । “निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका सभापती समेत रहनुभएका अर्यालले निर्वाचनमा निष्पक्षताको प्रत्याभुति दिलाउन प्रशासन कार्यलय प्रयासरत रहने बताउनुभएको छ । सम्वन्धित सबै पक्षले कानुनमा टेकेर काम, कर्तव्य र जिम्मेवारी बहन गरेर निर्वाचनलाई सफल बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।
जिल्ला निर्वाचन कार्यलय नुवाकोटको अनुसार नुवाकोटमा १ सय ३२ मतदान स्थल २ सय ६३ मतदान केन्द्र र २ लाख ४० हजार ८ सय ३१ जना मतदाता रहेका छन् । पुनरावलोकन तथा अध्यावधिक पछि मतदाता संख्या, केतदान केन्द्र र मतदान स्थल थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताउनुभएको छ ।