सुनखानी । नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर २, ३, ५ र ६ प्रवेश गरेका छन् ।
शिवपुरी रंगशाला सुनखानीमा भइरहेको नाइन ए साइड फुटबलको लिग खेलमा वडा नं ६ ले वडा नं. ४ लाई ६–२ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ६ का लागि अनिस जिसीले २ गोल, सौजल जिसीले २ गोल तथा अमृत तामाङले १ र आलिग तामाङले १ गोल गरेका थिए । वडा नं. ४ का लागि सुमन तामाङले २ गोल गर्नुभएको हो । जीतसँगै समूह ए मा रहेको वडा नंं ६ ले ६ अकं जोड्दै समूह विजेता र वडा नम्बर २ पनि ३ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै अर्को खेलमा वडा नंं ७ र वडा नं ३ ले दुई÷दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । वडा नंं ७ का लागि विवेक खड्काले २ गोल गर्नुभएको थियो भने वडा नंं ३ का लागि सञ्जिव तामाङले १ गोल र सविन तामाङले १ गोल गरेका हुन् । समूह बि मा रहेको वडा नम्बर ३ समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । वडा नं. १ बाट वाकओभर पाएपछि वडा नम्बर ५ पनि समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फाइनल प्रवेशका लागि अब वडा नंं ६ र वडा नं. ३ तथा वडा नंं ५ र वडा नंं २ बीच प्रतिष्पर्धा हुनेछ । शिवपुरी गाउँपालिकाको सहयोगमा शेराबगर विकास समाजले आयोजना गरेको प्रतियोगिताका सेमिफाइनलका खेलहरु फागुन १६ गते हुनेछ भने फाइनल र तेस्रो स्थानका लागि खेल फागुन १७ गते हुनेछ ।