मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • शिवपुरी वडाकपको उपाधि वडा नं. ६ को पोल्टामा

    समिकरण २०७८, १८ फाल्गुन बुधबार ०९:०२ पढ्न लाग्ने समय 2 मिनेट

    पुर्सोतम बस्नेत । शिवपुरी गाउँपालिका वडा नंं ६ ले “प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता”को उपाधि जितेको छ ।
    शेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको हो । वडा नं. ६ का लागि एक मात्र निर्णायक गोल अशोक तामाङले गर्नुभएको थियो । वडा नं. ५ ले दोस्रो स्थानमा चित्त बुझाएको छ । शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको तेस्रो स्थान भने वडा नं. ३ ले प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी तथा शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले विजयी टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।
    विजेता टोली वडा नं. ६ ले नगद पुरस्कार १ लाख, दोस्रो हुने वडा नं. ५ ले ५० हजार तथा तेस्रो हुने वडा नं. ३ ले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै वडा नं. ६ का गोलकिपर अमृत जिसी उत्कृष्ट गोलकिपर, वडा नं. ५ का अलिक रुम्बा उत्कृष्ट डिफेन्डर, वडा नं. ३ का सञ्जिव तामाङ उत्कृष्ट मिडफिल्डर, वडा नं. ५ का कुन्जन खड्का उत्कृष्ट फरवार्ड तथा वडा नं. ६ का अनिश जिसी उच्च गोलकर्ता घोषित भए । उनीहरुले जनही नगद ३ हजार पुरस्कार र ट्रफी पाए । त्यस्तै वडा नं. ६ का खेलाडी आलिग तामाङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद ७ हजार र ट्रफी प्राप्त गर्नुभएको छ । फागुन १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएका थिए ।


    “प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता” समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरीको शानको रुपमा रहेको शिवपुरी रंगशालामा फुटबल प्रतियोगितामा सञ्चालन हुने क्रम बढेको भन्दै आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना हुने बताउनुभएको छ । शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सबै विजयी खेलाडीहरुलाई बधाई दिँदै खेलकुदको क्षेत्रमा शिवपुरी गाउँपालिका अब्बल रहेको बताउनुभएको छ ।
    फुटबल प्रतियोगिता आयोजक संस्था श्री शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले शिवपुरी गाउँपालिकामा रहेका खेलाडीहरु पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । साथै उहाँले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी संस्करणमा अहिलेका कमजोरी नदोहोरिने प्रतिवद्धता जनाउनुभएको छ ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया