शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले हाल विरोध गर्नुको अर्थ छैन -प्रधानमन्त्री देउवा

    समिकरण २०७८, १ चैत्र मंगलवार ०८:४२ पढ्न लाग्ने समय 2 मिनेट

    प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रको हितमा रहेको बताउनुभएको छ ।
    किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्ने र गरिवि निवारणको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । एमसीसी अन्तरगतका आयोजनाहरु कार्यान्वयन गर्नलाई अन्तराष्ट्रिय रुपमा टेन्डर हुने भएकोले त्यसमा नेपाल पनि छनौटमा पर्न सक्ने उहाँको भनाई छ । नेकपा (एमाले)का सांसद् भीम रावल निरन्तर एमसीसीको विरुद्धमा लागेर भ्रम फैलाइरहेको भन्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको समेत बताउनुभएको छ ।
    यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले एमसिसि विकासको परियोजना भएको बताउनुभएको छ । चिनबाट ऋण लिइरहेको स्मरण गर्नुहुदै नेता केसीले अमेरिकाबाट अनुदान लिनु गलत नभएको बताउनुभएको छ ।
    आम निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्ने र नुवाकोटमा विकासात्मक कार्यले नयाँ चरण सुरुवात गर्ने नेपाली कांग्रेसका प्रबक्ता डाक्टर प्रकाशशरण महतको भनाई छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा ग्रामीण भेगको पहुच पुराउने कामको थालनि कांग्रेसले नै गरेको जिकिर गर्नुभएको छ ।
    यस्तै संघिय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले देशलाई आर्थिक समृद्धि तर्फ लम्बाउन नुवाकोटको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । नुवाकोट हाइड्रोपावरको हबको रुपमा स्थापित भएकोले बजेट निर्माणको क्रममा विशेष ध्यान दिनलाई संघिय संसाद तामाङले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
    कार्यक्रममा प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले विगत ४ वर्षको अवधीमा प्रदेश सरकार मार्फत नुवाकोटमा भित्रिएको बजेट र योजनाको बारेमा स्मरण गर्नुभएको थियो । विशेष गरी किस्पाङ गाउँपालिमा कृषि र पर्यटनको सम्भाबना अत्याधिक रहेकोले त्यस क्षेत्रमा लगानी बढाउनु आवस्यक रहेको बताउनुभएको छ ।
    यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विन्दा ढुंगानाले पछिल्लो समय मूल्य वृद्धि आकासिएकोले त्यसको समाधानको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । केपी शर्मा वली नेतृत्वको सरकारले नुवाकोटको लागि बिनियोजन गरेको बजेट शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको प्रति आपत्ति जनाउनुभएको छ ।
    किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नलाई ४ करोड ५६ लाख रुपैयाँ लगानी भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिनुभएको छ । उहाँको अनुसार भपन निर्माण गर्नलाई जिल्ला समन्वय समितिको मौजाद कोषबाट १ करोड २५ लाख रुपैयाँ, संघिय सरकारबाट १ करोड ४८ लाख ६० हजार रुपैयाँ र किस्पाङ गाउँपालिकाबाट १ करोड ८२ लाख ४० हजार रुपैयाँ लगानी गरिएको हो । निर्माण कम्पनीसँग १५ महिनामा भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झोता भएता पनि साढे ९ महिनामा निर्माण कार्य सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष छत्र लामाले जानकारी दिनुभएको छ ।
    सोमवार नै प्रधानमन्त्री शेरबहादुर देउवाले तादी गाउँपालिकाको प्रशासनिक भवनको समुद्घाटन गर्नुभएको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया