शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • विदुर नगरपालिकाको पर्यटन प्रवद्र्दनको लागि आमसञ्चारको भूमिका

    समिकरण २०७८, १० चैत्र बिहीबार २१:१२ पढ्न लाग्ने समय 4 मिनेट

    नवदीप श्रेष्ठ , पर्यटनको अर्थ बृहत नेपाली शब्दकोशमा ‘दर्शनीय र महत्वपूर्ण स्थानहरु हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा’ भनेर उल्लेख गरिएको छ । पर्यटन शब्दको उल्लेखित अर्थबाट पनि धेरै कुरा आएको छ । तर, अहिले पर्यटनमा विधा तथा क्षेत्रगत रुपमा पनि यसमा विविधता आइसकेको छ ।
    पर्यटन व्यवसाय नेपालको एक प्रमुख व्यवसायिक क्षेत्रको रुपमा स्थापित भएको छ । पहिले पहिले पर्यटक भन्नासाथ विदेशी नागरिकहरु त्यसमा पनि गोरा अनुहार गरेका विदेशीहरुलाईमात्र ठान्ने समाजमा अहिले स्वदेशी नागरिक पनि पर्यटक हुन्छन् भन्ने सोच स्थापित भईसकेको छ । अर्थात् मानिसहरुको सोचमा परिवर्तन आइसकेको छ । स्वदेश तथा विदेशका महत्वपूर्ण स्थलहरुको भ्रमण गर्ने, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको अध्ययन गर्ने, ऐतिहासिक पुरातात्विक एवम् धार्मिक स्थलहरुमा अध्ययन अनुसन्धान गर्ने, प्रकृति सौन्र्दयमा रमाउने जस्ता विषयहरु यसमा पर्दछन् । यसरी घुम्न आउनेहरुका लागि अर्थात पर्यटकहरुका लागि आवश्यक सुविधाहरु उपलब्ध गराउनका लागि गरिने व्यवसाय नै पर्यटन व्यवसाय हो ।
    पर्यटक शब्दलाई विश्व पर्यटन संगठनले आफ्नो बासस्थानभन्दा टाढा पाहुनाका रुपमा एक रात वा २४ घण्टा बिताउने स्वदेशी तथा विदेशी नागरिकलाई भनिन्छ भनेर उल्लेख गरेको छ ।
    सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस पर्दछ । सन् १९८० मा पहिलो अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको थियो । पर्यटनका माध्यमबाट अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने र पर्यटकीय सम्पदाको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइदै आएको छ ।
    नुवाकोटको सन्दर्भमा पर्यटकीय गतिविधि भईरहने जिल्ला हो । यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वको जिल्ला हो । सदरमुकाम रहेको विदुर नगरपालिका क्षेत्र नुवाकोटको प्रमुख पर्यटकीय क्षेत्र समेत भएकोले अन्य स्थानीय तहको तुलनामा जिल्लाको पर्यटनको विकास र प्रवद्र्दनमा विदुरको भूमिका बढी हुन्छ र यसको लाभ पनि विदुर नै बढी प्राप्त समेत गर्दछ । पर्यटन क्षेत्रमा अहिले विविधता आइसकेको छ । आन्तरिक पर्यटक र बाह्य पर्यटक भनेर विभाजित गर्ने गरिएको छ । नेपालमा अहिले आन्तरिक पर्यटकहरु पनि पर्याप्त घुम्न निस्कने गरेका छन् । नेपालमा प्रमुख पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको घुइचो हरेक वर्ष बढ्दो रुपमा देखिनुले नेपाली पर्यटन व्यवसायीहरु र स्थानीय सरकारहरुले आन्तरिक पर्यटनको प्रवद्र्दनमा जोड दिनु पर्दछ ।
    पर्यटनका केही प्रकारहरु ः
    – धार्मिक पर्यटन
    – पुरातात्विक पर्यटन
    – कृषि पर्यटन
    -सांस्कृतिक पर्यटन
    – खेल पर्यटन
    -प्रकृति पर्यटन
    – पंक्षी पर्यटन
    -ग्रामीण पर्यटन
    – साहसिक पर्यटन
    – हाइड्रो पर्यटन
    – स्वास्थ्य पर्यटन
    – शिक्षा पर्यटन
    -मनोरन्जन पर्यटन, आदि ।

    पर्यटनको माध्यमबाट निम्न लाभहरु लिन सकिन्छ ः
    – रोजगारीको सिर्जना
    – स्थानीय उत्पादनको बजारीकरण
    -पर्यटकीय स्थलहरुको संरक्षण
    – सांस्कृतिक पहिचानको प्रवद्र्दन
    – ज्ञानको आदानप्रदान
    – गरिबी निवारण, आदि ।
    नेपालमा पर्यटन प्रवद्र्दनको लागि पर्यटनको क्रियाकलापहरुको विकास र पर्यटकलाई आकर्षिक गर्ने स्थालको निर्माण र त्यसको प्रचार प्रसार गर्नु पर्छ । साहसिक पर्यटन, जंगली जनावर तथा चरा अवलोकन, स्थानीय संस्कृतिको अवलोकन, कृषि तथा घरेलु उद्यम, खानपान, ग्रामीण जीवन शैली, सीप तथा सांस्कृतिक लगायत विविधतामा आधारित पर्यटनबाट स्थानीयस्तरसम्म लाभ पु¥याउन पर्यटन क्षेत्र घोषणा, पर्यटन गाउँ घोषणा, सम्पदा बस्ती घोषणा जस्ता, होम स्टे लगायत कार्यक्रमलाई नीतिगत रुपमा विकास गरी दीगो कार्यन्वयन ध्यान दिनुपर्छ ।
    स्थानीय सरकारहरुले पनि पर्यटन नीतिहरु, कार्यविधीहरु बनाउन थालेका छन् । संघीय सरकारले ‘पर्यटन नीति २०६५’ ल्याएको छ । ‘पर्यटन गाउँ छनौट, विकास तथा व्यवस्थापन सम्बन्धी कार्यविधी–२०७७’ ल्याएको छ । ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना(२०१६–२०२५)’ पनि ल्याएको छ । विदुर नगरपालिकामा पनि पर्यटनको विविधता रहेको छ । तर, विदुर नगरपालिकाले पर्यटन नीति तथा योजना भनेर छुट्टै नीति भने बनाएको छैन । नीतिको रुपमा छुट्टै कानूनी बाध्यता सिर्जना हुने नीति, योजना, कार्यविधी र मापदण्ड केही बनाए पनि नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा पनि पर्यटन प्रवद्र्दनलाई जोड दिएको पाइएको छ । त्यसलाई कार्यन्वयन पनि गरिरहेको पाइएको छ । वार्षिक नीतिमा पर्यटन पर्नु र छुट्टै कार्यविधी तथा नीति बनाउनु फरक हो । वार्षिक कार्यक्रमको नीति भने हरेक वर्ष परिवर्तन हुनसक्छ । कुनै वर्ष कार्यक्रमबाट हट्न पनि सक्छ । तर, कानूनी हैसियत दिने गरी नीति, कार्यविधी तथा मापदण्ड बनाएमा व्यवस्थित पर्यटन विकासमा सघाउ पुग्छ । विदुर नगरपालिकाले वार्षिक कार्यक्रममा पारेर पर्यटन विकासको लागि आन्तरिक स्रोत, संघीय स्रोत र प्रेदश सरकारको स्रोतबाट पर्यटन क्षेत्रको विकासमा ध्यान दिदैं आएको पाइएको छ । हरेक वडामा ‘एक वडा एक बाल उद्यान’ कार्यक्रमबाट ११ वटा वडामा उद्यान निर्माण भएको छ । यसैमध्येको विदुर नपा ५ को गंगटेनजिकैको निबुवाडाँडा पार्क अहिले आन्तरिक पर्यटनको प्रमुख गन्तव्य भएको छ । सुख्खा र उजाडा डाँडा अहिले पर्यटकीय केन्द्र भएको छ ।
    विदुर नगरपालिका वडा नं. २ मा सम्पदा बस्ती निर्माणमा पनि विदुर नगरपालिकाले सहयोग गरेको छ । भ्युटावर निर्माण, पार्कहरु निर्माण, पिकनिक स्पष्ट निर्माण र यी पर्यटनसँग जोडिएको स्थानसम्मको सडक निर्माणमा समेत लगानी गरेको छ । नगरपालिकाले धार्मिक पर्यटकीय स्थलमा पनि लगानी गरेको छ । यस्तै, सांस्कृतिक पर्यटनमा पनि सहयोग गर्दै आएको पाइएको छ । लाखे नाँच, गोरु जुधाई पर्व, अन्य मेला पर्व तथा सांस्कृतिक मेलाहरुको प्रवद्र्दनमा पनि ध्यान दिएको छ । विदुर नगरक्षेत्रको पर्यटकीय गन्तव्यहरुमा ऐतिहासिक स्थल, धार्मिकस्थल, सांस्कृतिक पर्वहरु नै प्रमुख रहेको छ । नुवाकोटको साततले दरबार क्षेत्र–जहाँ धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरु रहेका छन् । यहाँ विभिन्न पर्वहरुमा लाग्ने जात्राहरुलाई पर्यटनसँग जोडेर हेर्नु पर्ने हुन्छ । नगरपालिका क्षेत्रका कोसेली घर पनि निर्माण भईरहेको छ । यसबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले नुवाकोटको चिनो खरीद गर्न पाउनेछन् ।
    यस्तै, बेत्रावती क्षेत्र–यो पनि धार्मिक तथा ऐहिहासिक र सांस्कृतिक महत्व भएको क्षेत्र हो । देविघाट क्षेत्र–यो पनि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व भएको क्षेत्र हो । विदुर नपा १२ मा रहेको ढिकीजाँचो डाँडो दृश्यावलोकनको लागि उपयुक्त थलो हो । देविघाट, पीपलटार, बट्टार, त्रिशूली क्षेत्रमा रहेका नेवार, तामाङ, कुमाल, ब्राम्हण क्षेत्री लगायत विभिन्न जातजातीको सांस्कृतिक महत्वका मेला पर्व, भेषभुषा, जात्रा, भजन, नाँच लगायतका विषयहरु आन्तरिक पर्यटनका क्षेत्रहरु हुन् ।

    सञ्चार क्षेत्रको भूमिका
    अहिलेको युग सूचना तथा सञ्चारको युग हो । बोल्न जान्नेको पिठो पनि बिक्छ । बोल्न नजान्नेको चामल पनि बिक्दैन भनिन्छ । यो उखान पर्यटन क्षेत्रमा पनि लागू हुन्छ । आज हरेक क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा सञ्चार अपरिहार्य भएको छ । पर्यटनको प्रवद्र्धनमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुन्छ । आन्तरिक हुन् या त बाह्य पर्यटक, उनीहरुले सञ्चारमाध्यमबाटै कुनै पनि पर्यटकीय ठाउँ बारे जानकारी हासिल गरेर त्यहाँ पुग्ने इच्छा, चाहना र तत्परता राख्छन् । यसले गर्दा पनि पर्यटन प्रवद्र्धनमा सञ्चार महत्वपूर्ण र नभई नहुने पाटो बनेको छ । अहिले पत्रकारिता क्षेत्रमा पर्यटन बिट नै बनेको छ । तर, उपत्यका तथा ठूला शहर बाहिर भने पर्यटन पत्रकारिता बिट बन्न सकेको छैन । सीप, क्षमता तथा अवसरहरुको कमिले मोफसलमा पत्रकारहरु पर्यटनलाईमात्र बिट बनाउन सक्ने अवस्थामा नभए पनि यो क्षेत्रमा रुचि भएकाहरुले जिल्लास्तरमा पनि विषयबस्तुहरु पहिल्याउने सामथ्र्य भने राख्दछन् ।
    सञ्चारमाध्यम क्षेत्रमा आएको परिवर्तनले पर्यटन प्रवद्र्दनमा मुख्य भूमिका खेल्न सक्छ । कुनै बेला छापामाध्यम र रेडियोमात्र सञ्चारमाध्यमको रुपमा रहेको अहिले टेलिभिजन, एमएम रेडियो, अनलाइन पत्रकारिता, युट्युव च्यानल, ब्लग, पोडकास्ट जस्ता डिजीटल मिडियाको कारण पर्यटन प्रवद्र्दनमा मिडियाको भूमिका प्रमुख रहेको छ ।
    पत्रकारिताको कामसूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु र अभिप्रेरणा दिनु हो । कुनै पनि ठाउँको विकास र पर्यटन प्रवद्र्र्दन गर्न सञ्चार क्षेत्रले ठूलो भूमिका महत्वपूर्ण रहेको छ । बेत्रावतीको गोरु जुधाईमा पहिले मानिसहरु कम आकर्षित थिए वा कतिलाई थाहै थिएन । तर, त्यतिखेरका छापामाध्यमहरुमा समाचारहरु प्रकाशन हुन थालेपछि त्यो हजारौं दर्शक सहभागी हुने मेलामा परिणत भएको छ । यसमा मिडियाको भूमिका धेरै रहेको छ । यस्तै, विदुर नगर क्षेत्रका धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार प्रसार र संरक्षणमा पनि सञ्चार क्षेत्रमा उल्लेख्य भूमिका रहदै आएको छ । जिल्लाको पर्यटन क्षेत्रको विकासको लागि सञ्चारकर्मीहरुलाई पर्यटन पत्रकारिताको प्रशिक्षण खाँचो रहेको छ । सञ्चारमाध्यमले प्राकृतिक सुन्दरता, भेषभूषा, खानपान, संस्कृति आदि बारे फरक–फरक कोणबाट समाचार बनाएर पर्यटन प्रवद्र्दनमा भूमिका खेल्न सक्छ । आर्थिक, सामाजिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक पक्षसंग अन्तरवार्ता प्रकाशन प्रशारण गर्न गर्ने, बहस चलाउने, फिचर लेख्ने, फोटो फिचर प्रकाशन, विचार, यात्रा संस्मरण सम्पादकीयमार्फत पनि पर्यटकीय क्षेत्रको महत्वलाई बाहिर ल्याउन सकिन्छ । यसको लागि सञ्चारकर्मी, सरोकारवाला, स्थानीय सरकार, संस्कृतिकर्मीहरुबीच सहकार्यको खाँचो पर्दछ ।
    साभारः त्रिशूलीखबर पत्रिका

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया