मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • पार्टीको आन्तरिक प्रतिष्पर्धाको असर आसन्न निर्वाचनमा देखिन्न

    समिकरण २०७८, १० चैत्र बिहीबार २१:५८ पढ्न लाग्ने समय 4 मिनेट


    ध्रुव श्रेष्ठ, अध्यक्ष
    लिखु गाउँपालिका, नुवाकोट

    स्थानीय तह स्थापना पछिको पहिलो अध्यक्ष हुनुहन्छ । लिखुमा नमुना योग्य कामहरु के गर्नुभयो ?
    लिखु गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि पहिलो प्राथमिकतामा खानेपानीको क्षेत्रलाई लियौँ । प्रत्येक वडाको नागरिकको घरघरमा खानेपानीको सुविधा पुराउन जुट्यौँ । त्यस्तै स्वास्थ्यमा पनि उलेख्य काम गरेका छौँ । शिक्षामा पनि धेरै परिवर्तन गरेका छौँ । विभिन्न संघसस्थासँग साझेदार गरेर विद्यालयको भवनहरु निर्माणमा जुट्यौँ । शिक्षामा देखिएको विकृतिहरुलाई रोक्न प्रयासरत रह्यौँ । शिक्षामा भएका विकृतिलाई हटाउनतर्फ लाग्यौँ । नदेखिने खालका कामहरु धेरै भएका छन् तर प्रतिफल प्राप्त भइरहेको छ । देखिने कामहरुमा भौतिक संरचना निर्माण रहेछ । सडक निर्माण प्राथमिकतामा परेको छ । त्यस्तै विद्युत्का लागि गाडिएका काठका पोलहरु विस्थापित गरेर आल्मोनियमको पोल राखेका छौँ । जिर्ण रहेका ट्रान्सफर्मर परिवर्तन गरेका छौँ । सामुहिक रूपमा खेती प्रणाली अपनाउन सुरुवात गरेका छौँ । कृषिमा अनुदानका कार्यक्रमहरु ल्यायौँ । सडकमा सोलार बत्तीहरु राख्ने, सिसिक्यामरा जडान गर्ने लगायतका कामहर भएका छन् । फोहोर व्यावस्थापनको काम भने गर्नलाई बाँकी छ । गाउँपालिकामा उद्योग ग्राम निर्माण हुने चरणमा छ । संघिय सरकारको सहकार्यमा अन्न भण्डारण केन्द्र निर्माण हुदै छ ।

    आफ्नो कार्यकालमा भईरहेका कामको बारेमा बताउनुभयो । चुनावी मावलमा होमिएर जनताको माझमा पुगेर आफूले जनाएको प्रतिवद्धताहरु कत्तिको पूरा भए जस्तो लाग्छ ?
    निर्वाचित भएर आइसकेपछि १=२ वर्ष सिक्न र बुझ्न लाग्यो । तेस्रो वर्षबाट कामले गति लिन थालेको हो । तर पालिकाभित्रका सबै जनप्रतिनिधिहरुसँग मिलेर जनतासँगको प्रतिवद्धता अनुसार नै काम गरेका छौँ । माग असिमित हुन्छ, श्रोत साधान सिमित । जसले गर्दा नागरिकहरुबाट माग भई आएका केही योजनाहरु समेट्न सकेनौँ होला यो स्वीकार्छु । नागरिकको हित विपरितको कुनै काम भएको छैन ।

    पाँच वर्षको समय लामो हो । के मा अल्झिनु भयो काम गर्नलाई ?
    निर्वाचित भएर आउँदा सबै क्षेत्र जस्तै शिक्षा, खानेपानी, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत सबै क्षेत्र लथालिङ्ग रूपमा रहेको थियो । ट्क्रे योजनाहरु सम्पन्न गर्न तर्फ हाम्रो ध्यान गएको हो । बजेट अभावको कारण ठूला योजनाहरु सञ्चालन गर्न समस्या भएको हो । मेरो कार्यकालमा पूर्वाधार निर्माण धेरै भएको छ । अब पालिकाको नेतृत्व गर्न आउने जनप्रतिनिधिहरु पूर्वाधारमा अल्झिन पर्दैन । काम गर्नलाई सजिलो बनाएदिएका छौँ । समग्रमा भन्ने हो भने पूर्वाधार तयार गर्नमा नै बढी ध्यान गयो ।

    अन्य पालिकाको तुलनामा लिखुलाई श्रोत साधनको खानीको रुपमा लिइन्छ नि ?
    देखिएकै कुरा हो यो । गत साल २ करोडमा पहिला सुरुमा ठेक्का लगाएका थियौँ गिट्टी बालुवाको । त्यसमध्येमा प्रदेश र जिल्ला समन्वयमा पठाएर हामी कहाँ करिव ६० प्रतिशतमात्र रहन्छ । देखिदा ठूलो आम्दानी हो तर भाग लगाउँदा थोरै हुन्छ । यो वर्ष पनि ५ करोडको ठेक्का लगाएका छौँ ।

    नदी जन्य सामाग्री उत्खनन गरिरहदा नदी संरक्षणमा भने कत्तिको ध्यान दिनुभएको छ ?
    ठेक्का लगाउँदा बस्ती, जग्गा, जमीन, पुलपुलेसा जङ्गल त्यसलाई असर नपर्ने गरी जहाँ थुप्रिएर बसेको सामग्री छ । त्यसलाई उत्खखन गर्ने हो । ढिकुरे र गड्खारमा रहेको पुल रहेको क्षेत्रमा नदीजन्य सामग्री पुललाई नै छुने गरी जम्मा भएको हुन्छ । त्यस्ता ठाउँहरुमा मात्र प्राविधिकहरुलाई मूल्यांकन गर्न लगाउने गरेका छौँ । अनावश्यक ठाउँमा हामीले नदी जन्य सामग्री झिकेका छैनौँ

    स्थानीय तहको निर्वाचन नजिकिदै छ । जनप्रतिनिधिहरुको सक्रियता बढेको देखिन्छ । तपाईलाई पनि निर्वाचनले सक्रियता बढाएको हो कि पहिलेदेखि नै सक्रिय हुनुहुनथ्यो ?
    त्यस्तो होइन । म सबै सक्रिय छु । पालिकामा शासन गर्छु भनेर होईन जनताको सेवा गर्छु भनेर जनप्रतिनिधि बनेको हुँ । लिखु गाउँपालिका भौगोलिक हिसाबले सानो पनि छ । अधिकांस टोल बस्ती यातायातको पहुँचमा पुगेको छ । हरेक वडाको गाउँगाउँमा सार्वजनिक कार्यक्रमहरु भइरहेको हुन्छ । म त्यहाँ पुगेकै हुन्छु । निर्माणका कामहरु भइरहेको हुन्छ । अनुगमनको लागि पुगिरहेको हुन्छु । सधैंभर जनताकै साथमा छु । जनप्रतिनिधिहरु चुनाव आएर सक्रिय भएको भन्ने जुन कुरा छ त्यो म स्वीकार्दिन ।

    तपाईको कार्यकालमा भएका विकास निर्माणका कार्यहरुलाई मूल्यांकन गर्दा गुणस्तरीय कत्तिको छ जस्तो लाग्छ ?
    हाम्रो कार्यकालमा भएका विकास निर्माणका कार्यहरु गुणस्तरीय छन् । प्रयाप्त मात्रामा प्राविधिकहरुले निरिक्षण गरेका छन् । म पनि निर्माण व्यवसायी भएको कारणले यसको विषयमा मसँग पनि अनुभव रहेको छ । विकास निर्माणको कार्यमा मैले पनि निरन्तर रुपमा अनुगमन गर्ने गरेको छु । कामको गुणस्तरीयतामा विशेष ध्यान दिने गरेको छु । गुणस्तरहीन काम गर्ने कसैलाई पनि छुट छैन त्यसैले कामको गुणस्तरीयतामा ध्यान दिनलाई निर्माण व्यवसायी र प्राविधिकहरुलाई निर्देशन नै दिने गरेको छु ।

    फेरी लिखु गाउँपालिकाको अध्यक्षमा उठ्ने योजनामा हुनुहुन्छ हो ?
    अहिले भन्न सक्ने अवस्थामा छैन । कोई साथीहरुले प्रदेशमा जानुस् भन्नुहुन्छ, कोही स्थानीय तहमा नै एक कार्यकाल काम गर्नुस् भन्नुहुन्छ । पार्टीको निर्णय सार्वजनिक नभएसम्म म यो विषयमा केही भन्न सक्दिन ।

    तपाई फेरी पनि लिखु गाउँपालिकाको अध्यक्ष बन्नुभयो भने, लिखुबासीको लागि के गर्नुहुन्छ ?
    लिखु गाउँपालिकालाई नगरपालिकाको रुपमा विकास गराउने मेरो उद्देश्य हो । काठमाडौँबाट नजिक छ तर उद्योग कलकारखाना स्थापना न्यून छ । यहाँका नागरिकहरुलाई यहाँ नै रोजगारी दिलाउन उद्योग स्थापना गर्नुछ । तरकारीको हवको रुपमा चिनिन्छ लिखुलाई । त्यसलाई थप व्यवस्थित गर्नु छ । मलाई जनताहरुले विश्वास गर्ने गरेका छन् । समयको माग अनुसारको क्षेत्रमा लगानी बढाएर समृद्ध लिखु निर्माणमा मेरो प्रयास रहनेछ ।

    लिखु गाउँपालिका कृषिको लागि उर्वर भूमि भन्नु भयो । भर भूकम्प पछि खेतीयोग्य जमीन बस्तीमा परिणत भएको छ । घडेरीमा बिक्री वितरण हुन क्रम बढी रहेको छ । जमिन जोगाउनलाई के छ रणनीति ?
    यो विषयमा स्थानीय तहको पहलले मात्रै समभव छैन । यो संघिय सरकार र प्रदेश सरकारको पहलमा हुनुपर्ने काम हो । भूकम्प प्रश्चात गाउँगाउँमा रहेका पानीका मुहानहरु सुके अनि फाँटमा रहेको जग्गामा घर बनाएर बसे । यो विषयमा नेपाल सरकारले पहिले नै योजना बनाएर खेतीयोग्य जमिन ढलानमा परिणत हुनबाट जोगाउन सक्नु पथ्र्यो । तर दिनप्रतिदिन खेतीयोग्य जमिन ढलानमा परिणत भइरहेको छ । यसलाई रोक्नको लागि संघ र प्रदेश सरकारलाई लिखित रुपमा नै दिएका छौ । आफ्नो जमिनमा घर नबाउनु भन्न भएन । सडक लगायतको पूर्वाधारको विकासले रोपनीमा कारोवार हुने जग्गा आनामा कारोबार भइरहेको छ । त्यसलाई रोक्न चुनौती छ ।

    अध्यक्ष र उपाध्यक्ष फरकफरक पार्टीको हुनुहुन्छ । गाउँ कार्यपालिकामा पनि तपाईको बहुमत छैन । यसले गर्दा काम गर्न सहज हसहज के भयो ?
    मलाई त्यस्तो असहज केही भएन । मैले पार्टी हेरेर काम गर्दिन र गरिन पनि । सार्वजनिक पद सम्हाले पछि सबैलाई समान व्यवहार गर्नुपर्छ । मैले पनि त्यहि गरे । नहुने कुरालाई हुँदैन र हुने कुरामा सबैसँग समन्वय र सहकार्य गरेर जानुपर्छ भन्ने मेरो मनसाय हो । मेरो यो कार्यकालमा त्यस्तो केने अफ्ठ्याराहरु सिर्जना भएन ।

    पार्टीको क्षेत्रीय सभापती पनि हुनुहुन्छ । पार्टीमा आन्तरिक प्रतिष्पर्धा भयो । आन्तरिक प्रतिष्प्रर्धाले आसन्न निर्वाचनमा प्रभाव पार्छ होला नि ?
    आन्तरिक प्रतिष्प्रर्धा पार्टीभित्र हुन्छ । महाधिवेशनको समयमा भयो, त्यो सिद्धियो । त्यो कुरा पछिसम्म रहन्छ जस्तो मलाई लाग्दैन । एकाध व्यक्तिहरुमा त्यो रहला तर त्यति धेरै प्रभाव पर्दैन ।

    नेता–नेता बीचको गुटको कारण कार्यकर्ताहरुमा राम्रो सहकार्य नभएको अनि बोलचाल समेत बन्द भएको भन्ने पनि सुनिन्छ नि ?
    मेरो क्षेत्रमा त्यस्तो देखिएको छैन । मसँगै प्रतिष्पर्धा गर्नुहुने विषम रिमाल जीसँग राम्रो सहकार्य छ । मिलेर काम गरौँ भन्ने गरेको छु । उहाँको राम्रो सहयोग छ । त्यस्ता कुराहरु नेतृत्व गर्नेमा भर पर्छ । एकलौटी रुपमा अघि बढौँ भन्ने स्वभाव छैन मसँग । अर्को क्षेत्रमा के छ थाहा भएन हाम्रो क्षेत्रमा आन्तरिक प्रतिष्पर्धाको असर आसन्न निर्वाचनमा देखिन्न भन्नेमा ढुक्क छु ।

    अन्त्यमा लिखुबासीलाई तपाईको आग्रह के छ ?
    विकास निर्माणको कार्य गर्न एक्लैले गर्न आँटेर सकिंदैन । सबैको साथ र सहयोगको अपेक्षा छ । समृद्ध लिखु निर्माणमा सबै दाजुभाइ दिदीबहिनी र यहाँका अभिभावकहरुबाट सहयोगको म अपेक्षा राख्दछु ।
    प्रस्तुति – नवदीप/भगवती
    साभारः त्रिशूलीखबर पत्रिका

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया