मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटलाई पर्यटनको हब बनाऔँ

    समिकरण २०७८, १६ चैत्र बुधबार ०९:२० पढ्न लाग्ने समय 5 मिनेट


    अनुजकुमार श्रेष्ठ_ नुवाकोट जिल्ला आफैमा ऐतिहासिक धार्मिक रुपमा अत्यन्तै महत्त्वपूर्ण स्थानहरु भएको जिल्ला हो । त्यसमा पनि विशेषगरी विदुर नगर पालिका पृथ्वीनारायण शाहको कारण प्रत्यक्ष रुपमा इतिहास संग जोडिएको स्थान हो । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नको निम्ति रणनीतिक रुपमा नुवाकोट विजय गरेपश्चात नेपाल कै राजधानीको रुपमा विदुर वडा नम्बर २ स्थित नुवाकोटबाट शासन गरेका थिए । नुवाकोटस्थित रहेको साततले दरबार, त्यस आसपास कायम रहेको राजकीय भवनहरुले त्यो इतिहास पुष्टि गरेकै छ । यद्यपि ७२ सालको भुकम्पले जीर्ण अवस्थामा रहेको छ । शुरुआत भएको पुनर्निर्माण कार्य समेत कोरोनाको कारणले पुराहुन सकेको छैन । अर्को महत्त्वपूर्ण कुरा पृथ्वीनारायण शाहको देहावसान भएको स्थान यसै विदुर नगर पालिकाको देवीघाटमा हो । र सोही स्थानमा वहाँको पार्थीव शरीरको अन्त्यष्टी समेत भएको थियो । गल्छीहँुदै विदुर आउँदा देवीघाटमा बाटोको छेवैमा हामी पृथ्वीनारायण शाहको शालिक देख्न सक्छौ । अलिपर त्रिशूली नदी र तादी नदीको दोभानमा रहेको जाल्पादेवी मन्दिर संगै पृथ्वीनारायण शाहको अन्त्यष्टी गरिएको ऐतिहासिक ढुङ्गा देख्न सक्छौ । त्रिशूली नदी गोसाईकुण्डबाट आएको र तादी नदी सूर्य कुण्डबाट आएकोले यसको आफ्नै धार्मिक महत्त्व रहेको छ । माघे सक्रान्ती लगायतको पर्वहरुमा यहाँ ठूलो मेला लाग्ने गर्छ ।
    पृथ्वीनारायण शाह भन्दा अगाडि जाने हो भने नुवाकोट मल्ल राजाहरुको पालामा समेत राजधानी अथवा देशको राजनीतिक केन्द्र रहेको त्यहाँ रहेको ऐतिहासिक संरचनाहरुले पुष्टि गर्छ । काठमाडौंको बसन्तपुरमा रहेको जस्तै महानवमी पर्व र जात्रामा मात्रै खुल्ने पूजाआजा हुने तलेजु मन्दिर नुवाकोटमा रहेको छ जुन मल्लकालिन हो । भैरवी मन्दिर आफैमा एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र हो । नुवाकोट भैरवी र देवीघाटमा रहेको जालपादेवी दिदीबहिनी भएको विश्वास गरिन्छ । हरेक वर्ष नुवाकोट भैरवीको रथयात्रा गरि देवीघाटसम्म जात्रा सम्पन्न हुन्छ । जात्राको क्रममा नुवाकोट भैरवी मन्दिरमा नियमित पुजा संचालन गर्न व्यवस्था गरिएको नेवार समुदायको पुजारी दम्पतीलाई जिवित देवताको रुपमा पुजा गर्ने, भोग खाने चलन रहेको छ । स्थानीय रुपमा हामी धामीधमिनी भन्छौ । नुवाकोट देखि यहीं बट्टार बजार बारही मन्दिर हुँदै देवीघाट सम्मको रथ यात्रा सम्भवतः नेपाल कै सबैभन्दा लामो रथ यात्रा हुन सक्छ । यो अध्ययनको विषय हो । करिव १० किलोमिटर नुवाकोट भैरवी मन्दिरमा रहेको सबै मूर्तिहरु रथमा राखेर ठाउँ ठाउँमा तोप पड्काउँदै विशेष पुजाआजा गर्दै विभिन्न जाती समूदाय प्रत्यक्ष रुपमा सहभागी हुने रथयात्राको विशेष महत्त्व रहेको छ । रथ बोक्नमा लच्याङको तामाङ समूदायको सम्लग्नता लगायत जात्राको बारेमा छुट्टै प्रस्तुति रहनु जरुरी छ । यसका ऐतिहासिक एवम् धार्मिक महत्व धेरै रहेको छ ।
    नुवाकोट स्थित हालको अशोकबारी क्षेत्र अंशुवर्मासंग जोडिएको क्षेत्र हो । अंशुवर्माले आफ्नो छोरी भृकुटीको विवाह तिब्बतका राजकुमार सङ्चङ गम्पोसंग विवाह गरिदिए पछि त्यसबेला पैदल हिडेर तिब्बत जाने क्रममा राति बास बसेको स्थानमा पाटी बनाएर विशेष रुपले विकास गर्ने क्रममा नुवाकोट टुँडिखेल स्थित केहि अशोकको रुखहरु रोपेर आफ्नो नाममा बाटिका बनाएर अंशुबाटिका नाम राखेको जन विश्वास रहेको छ । त्यस क्षेत्रको नाम अंशुबाटीका हुदै पछि अशोकको बोट हुर्किदै गयो । अशोकको बोट भन्ने पहिचान भए पछि अशोकबाटिका र विस्तारै अपभंस भएर अहिले अशोकबारीको नामले उक्त ठाउँ चिनिन्छ । अहिले पनि त्यहाँ टुँडिखेलमा अशोकको बोटहरु रहेको छ ।
    ऐतिहासिक धार्मिक रुपले महत्त्व राख्ने मञ्जुश्रीकालिन बौद्धनाथ चैत्य समेत त्यस स्थानमा रहेको छ ।
    जिवित कुमारी रहेको छ, लाखे जात्रा, नारायण जात्रा लगायत धेरै धार्मिक महत्त्व राख्ने पर्वहरु यहाँ नियमित रुपमा संचालन हुने गर्छ । त्यसको निम्ति तत्कालीन सरकारले विशेष व्यवस्थापन गरेको गुठीहरु अझै अस्तित्वमा रहेको छ । तर उचित व्यवस्थापन नहुदा समस्या उत्पन्न भएको छ । यस्ता जात्रा पर्वहरु लोप हुने अवस्थामा पुगेको छ ।
    काठमाडौंमा भएको जस्तै ईन्द्रचोक, टुँडिखेल, ब्रम्हटोल यहाँ रहेको छ । कालभैरव, भिमसेन स्थान, कालिकामालिकामा अझै काठमाडौं लगायतको ठाउँबाट पूजा गर्न पुरानो मानिसहरु आउने गर्छन् ।
    नुवाकोटमा पहिले चारै दिशामा चारवटा ढोका रहेको र अपराध गर्नेहरुलाई ढोका बाहिर निकाला गर्ने चलन रहेको थियो । अझै त्यहाँ भुटोल बजार क्षेत्रलाई ढोकाभित्र भन्ने चलन रहेको छ । यसरी नुवाकोटको ऐतिहासिक एवं धार्मिक महत्वको बारेमा चर्चा गर्न सकिन्छ । यि सबै पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण कुराहरू हुन् ।
    पहिले मोटरबाटो नहुदा गोरखा, लमजुङ देखि पश्चिमी भेगका मानिस सामरी भञ्ज्याङबाट त्रिशूली हुदै काठमाडौं जाने गर्थें । त्रिशूलीबाट बान्द्रे, सीतापोखरी हुँदै माथि नुवाकोट उक्लने पैदलमार्ग त्यही बेलाको रणनीतिक व्यापारिक मार्ग हो । तर अहिले संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ ।
    त्रिशूली आफैमा महत्वपूर्ण ठाउँ । पहिलेको व्यापारिक केन्द्र । साँघु बजारको नामले चिनिएको ठाउँ हो । त्रिशूली नदीको किनारमा रहेको बजार भएकोले त्रिशूली बजार भनिएको हो । तर त्रिशूली नदीको किनारमा धेरै ठाउँहरु छन् तर यसैलाई त्रिशूली बजार किन भनियो भन्ने अध्ययन जरुरी छ । सायद त्रिशूलीको किनारमा यतिको ठूलो बजार अन्त नभएको र त्रिशूली नदी तर्ने साँघु यहाँ मात्रै भएकोले यसैलाई साँघुबजार भनियो र पछि त्रिशूली बजार भनिएको हो भन्न सकिन्छ । यो पहिलेको व्यापारीक केन्द्र हो । धादिङ नुवाकोट र रसुवाको पहिलो एकमात्र माध्यमिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय यहाँ रहेको छ । जंगबहादुर राणाले घुम्ने क्रममा आफ्नो बहादुरी देखाउन पुलबाट घोडा सहित त्रिशूली नदीमा हाम्फालेको ठाउँ हो यो । तर अहिले उक्त पुरानो पुल भएको ठाउँमा नयाँ पक्की पुल बनाइएको छ । जुन पक्की पुल त्रिशूली पावर हाउस निर्माणको क्रममा बनाएको हो ।
    हाम्रै नगरपालिका भित्र बेत्रावती पर्छ । जुन ठाउँ उत्तरगयाको रुपमा चिनिन्छ । यो क्षेत्र धार्मिक रुपमा जति महत्वपूर्ण छ त्यतिनै ऐतिहासिक रुपमा पनि महत्वपूर्ण छ । यहाँ आएर एक पटक आफ्नो पितृको नाममा श्राद्ध नगरी मोक्ष प्राप्त नहुने जनविश्वास रहेको छ । देशको कुनाकुना देखि यही आफ्नो दिगम्वत मातापिताको स्मरणमा श्राद्ध गर्न श्रद्धालुहरु आउँछन् । तिब्बतसंग युद्ध भएपछि सम्झौता भएको ऐतिहासिक स्थान हो बेत्रावती । जुन बेत्रावती सन्धिको रुपमा इतिहासमा उल्लेख छ ।
    विदुरभित्र रहेको पञ्चकन्या मन्दिरको आफ्नै धार्मिक महत्त्व छ । भैरमकोट क्षेत्र जहाँ युद्धकालीन बंकर किल्लाहरु अझै रहेको छ । त्यसको अबलोकन गर्न सक्छौ । शेरामा पहिले दरबार थियोे, हामी रानीको दरबार भन्थ्योै । प्यासकोट क्षेत्र त्यहीँ पर्छ । अर्को फिर्केपकोट क्षेत्र ढिकीजाँतो चुली यहीँ आसपासमा तारकेश्वरपर्छ । ककनीमा बसन्ती दरबार, रुम्बा राजाको इतिहास बोकेको ठाउँ हो । बेलकोट आफैमा ऐतिहासिक ठाउँ । चिम्टेश्वर धार्मिक पर्यटकीय महत्त्व भएको स्थान हो । दुप्चेश्वर महादेवलाई दोश्रो पशुपति नाथको रुपमा पुजा गरिन्छ । कबिलासमा रहेको कपिलेश्वर, नाट्यश्वरको धार्मिक महत्व निकै रहेको छ । सूर्यगढी यही नुवाकोटमा रहेको छ । तामाङ समुदायको बाहुल्य रहेको किस्पाङ, म्यागङ क्षेत्र आफैमा महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । नेपालकै ठूलो भेडा फार्म किस्पाङको भाल्चेमा रहेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको केहि भाग नुवाकोट भित्रै पर्छ । यसरी पर्यटकीय हिसाबले अति सम्भावना युक्त ठाउँहरु नुवाकोटमा रहेको छ । पर्यटन प्रवद्र्धनका निम्ति यस्ता अन्तरक्रिया कार्यक्रमहरुको धेरै महत्त्व रहेको हुन्छ ।
    अझ पत्रकार संचारकर्मीहरूबीच हुने यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विशेष अर्थ राख्दछ । बाहिर जिल्लाबाट विभिन्न भूगोलबाट कार्यक्रमको सिलसिलामा नुवाकोट आएर बस्नु, कार्यक्रममा सहभागी हुनु र नुवाकोटको विभित्र ठाउहरुको भ्रमण गर्नु फरक विषय हुन् । कार्यक्रमको सिलसिलामा यहाँ आएर होटलमा बस्नु र सकिए पछि आआफ्नो घर फर्किनु मात्रैले खासै महत्त्व राख्दैन । तर यहाँको ऐतिहासिक क्षेत्र, धार्मिक क्षेत्र, मठमन्दिर, बजार पार्क अनि यहाँ रहेका कला संस्कृतिहरुको बारेका बुझेर अवलोकन गरेर यसको बारेमा थप अरुलाई बताउनु भयो भनेमात्रै पर्यटन प्रवद्र्धन हुने हो । तपाईंले घुमेको ठाउँको बारेमा अरुलाई भन्दा केकसरी भन्नु भयो अथवा यहाँको वातावरणबाट तपाईं कतिको प्रभावित हुनु भयो त्यसबाट अरुलाई तपाईंले प्रभावित पार्ने हो । तपाईंलाई यहाँको वातावरणले प्रभाव पार्न नसक्ने अवस्था भएमा पर्यटन प्रवद्र्धन हुन सक्दैन । तसर्थ पर्यटन प्रवद्र्धनको लागि आगन्तुकलाई प्रभावित गर्ने गरि वातावरण बनाउनुपर्छ । वातावरण भन्नाले सरसफाइ मात्रै होईन ऐतिहासिकता कति कायम गर्न सकेको छ, सांस्कृतिक धरोहरहरुको संरक्षणमा कति ध्यान दिएको छ । पर्यटकले घुम्न खोज्दा त्यहाँसम्म पुग्ने सहजता कतिको छ त्यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यातायातको व्यवस्था के कस्तो छ । बाटोको स्तरलाई समेत ख्याल गर्नुपर्ने हुन्छ । धुलिखेल बन्दिपुर, घान्द्रुक अझै भन्नुपर्दा पोखराको विकास उत्कृष्ट व्यवस्थापन र यातायातको सुगमताले भएको हो । हामीले पनि त्यस तर्फ ध्यान दिनुपर्ने हुन्छ ।
    हामी शैक्षिक भ्रमणको लागि तनहुँ जान्छौं, गोर्खा जान्छौं, लुम्बिनी जान्छौं तर लुम्बिनीको विद्यार्थीहरु तनहुँका विद्यार्थीहरु नुवाकोट आउछन् कि आउदैनन् त्यसको तथ्यांक हामीसंग छैन । पृथ्वी राजमार्गबाट गल्छी हुदैँ करिव आधा घण्टामा ऐतिहासिक क्षेत्र देवीघाट जुन पृथ्वीनारायण शाहको देहावसान र दाहसंस्कार गरेको स्थान हो, त्यहाँ आइपुग्छौ । काठमाडौंबाट करिव दुई घण्टामा सदरमुकाम विदुर आईपुग्छौ भने अब शैक्षिक भ्रमणको लागि शैक्षिक संघ संस्थाहरुसंग हामी पर्यटन प्रवद्र्धनको लागि बजारीकरण गर्ने की नगर्ने ? अझै फरक ढंगबाट अगाडि बढ्ने हो भने अब भविष्यमा टोखा छहरे सुरुङमार्ग बनेपछि काठमाडौं नुवाकोट एउटै शहरको रुपमा विकास हुन सक्छ । काठमाडौंको कोलाहलमा होईन शान्त बाताबरणमा बसोबास गराउन अन्तर्राष्ट्रिय पर्यटकहरुलाई एयरपोर्टबाट सिधै नुवाकोट ल्याउन सक्ने गरि ट्राभल एजेन्सीहरुसंग छलफल गर्न थाल्नु पर्छ । पर्यटन प्रवर्द्धनका लागि सबै व्यवसायी, सामाजिक संघसंस्था नागरिक समाज नै लाग्नुपर्ने हुन्छ । पर्यटनकै माध्यमबाट हामी सामाजिक रुपान्तरण गर्न सक्छौ । नागरिकको आर्थिक रुपान्तरण गर्न सक्छौ । आयातलाई निरुत्साहित गरि स्थानीय उत्पादनमा ध्यान दिने र स्थानीय उत्पादन नै प्रयोग गर्ने हो भने समृद्धि धेरै टाढाको विषय होईन । मात्रै आवश्यक छ दृढता सहितको इच्छाशक्ति र दूरदर्शिता राख्ने नेतृत्व । रुपान्तरण सम्भव छ । सबै मिलि हातेमालो गराँै । धन्यवाद ।
    (गत फागुन २४ गते‘विदुर नगरपालिकाको पर्यटन प्रवद्र्धनको लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा राखिएको विचारको सम्पादित अंश)
    साभारः त्रिशूलीखबर

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया