रानीपौवा – ककनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपेश तामाङले प्रयोग गर्दै आइरहनुभएको मोटरसाइकल र ल्यापटप फिर्ता गर्नुभएको छ ।
जनप्रतिनिधिमा निर्वाचित भए पश्चात वडा अध्यक्ष तामाङले प्रयोग गर्दै आइरहनुभएको पालिकाबाट प्राप्त प्रदेश नम्बर ३–०२ ००१ ब ४४३ नम्बरको मोटरसाइकल वडा सचिव राजकुमार तामाङलाई बुझाउनुभएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत सागर केसीको रोहवरमा उहाँले वडा सचिवलाई ल्यापटप र मोटरसाइकल बुझाउनुभएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रचारप्रशारको लागि सक्रिय हुने पर्ने र त्यस क्रममा सरकारी सवारी साधनको दुरुपयोग हुन सक्ने भएकोले अहिले नै सचेत भई पालिकाबाट प्राप्त मोटरसाइकल फिर्ता गरेको उहाँले बताउनुभएको छ । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको वडा अध्यक्ष तामाङ आसन्न निर्वाचनमा पनि वडा अध्यक्ष नै दोहोराउने सोचमा रहनुभएको छ ।
वडा अध्यक्षमा निर्वाचित भए पश्चात रात दिन नभनि जनताको सेवामा तल्लिन भएको र प्रयाप्त मात्रामा सिकाई समेत भएकोले त्यसलाई व्यवहारिकतामा ल्याउन वडा अध्यक्षमा दाबी रहेको उहाँको भनाई छ । नेकपा माओवादी केन्द्रका गाउँ कमिटि सदस्य समेत रहनुभएका वडा अध्यक्ष तामाङले जनताको शासक नभई नोकर बनेर सेवा गर्न सदैव तयार रहेको बताउनुभएको छ ।