मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका ७५ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

    समिकरण २०७८, ३० चैत्र बुधबार १०:५२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटका ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ ।
    राष्ट्रिय अभियान स्वरुप गएको चैत्र २५ गतेदेखि खोप अभियान सुरु भइसकेको भए पनि नुवाकोटमा भने वैशाख ४ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुदैछ । उक्त अभियानमा ७५ हजार २ सय ५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । टाइफाइड विरुद्धको खोप अभियानको लक्षित वर्ग भनेको १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिका हुन् । जस मध्ये विद्यालय भित्रका ६२ हजार ६ सय ५३ र विद्यालय बाहिरका १२ हजार ५ सय ५२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभएको छ ।
    अधिकारीको अनुसार ४ सय ७६ वटा विद्यालयमा र ४ सय २९ वटा खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानलाई सफल पार्न जिल्लाभरका ५ सय ८६ जना स्वास्थ्यकर्मी र ८ सय ९८ जना स्वयंसेबक खटिने उहाँले जानकारी दिनुभएको छ ।

    स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारी


    टाइफाइड रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइए पनि विशेष गरी बालबालिका बढी प्रभावित हुने गरेको पाइएकोले १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई यो खोप लगाउन लागिएको हो । टाइफाइड रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्ने जस्ता लक्षणहरु देखिन्छ ।
    खोप लगाइसके पछि सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्निहरु दुख्ने जस्ता असरहरु देखिन सक्छ । खोप लगाए पछि ती असरहरुसँगै केही जटिलता दिएमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न समेत स्वास्थ्य कार्यलय नुुवाकोटले आग्रह गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया