आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • विदुरको मेयरमा एमालेबाट तीन जनाबीच कडा प्रतिष्पर्धा

    समिकरण २०७९, ४ बैशाख आईतवार १५:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । स्थानीय तह निर्वाचनमा सदरमुकाम विदुर नगरपालिकाको मेयरको उम्मेदवार को बन्ने भनेर सबै दलभित्र रस्साकस्सी चलिरहेको छ । विदुरको सत्तासिन दल नेकपा एमालेभित्र पनि को उम्मेदवार बन्ने भनेर तिब्र प्रतिष्प्रर्धा चलिरहेको छ । मेयरको उम्मेदवार बन्ने दौडमा लागेकाहरु नगरकमिटिलाई फकाउनेदेखि, जिल्ला, प्रदेश र केन्द्रका नेताहरु कहाँ धाउनेक्रम चलिरहेको छ ।
    नेकपा एमाले विदुर नगरकमिटिको गत साता भएको विस्तारित बैठकमा मेयरको आकांक्षीमा १० जना देखिए । मेयरको आकांक्षी १० जना भए पनि तीन जनाबीच तिब्र प्रतिष्प्रर्धा हुने र अन्तिम दौडमा तीन जनामध्ये एकले बाजी मार्ने पक्का भएको एमाले स्रोतले जनाएको छ । हालका मेयर सन्जु पण्डित पुन दोहोरिने दौडमा छन् । पूर्व मेयर ठाकुरप्रसाद गजुरेल पनि यो पटकको मौका नगुमाउनको लागि कम्मर कसेर लागेका छन् । यही रेसमा संगसंगै छन्–अनुजकुमार श्रेष्ठ । विदुर नगरकमिटिका सचिव रहेका श्रेष्ठ मेयरको दौडमा अग्रस्थानमा रहेको एमालेस्रोतले जनाएको छ । यिनै तीन जनामध्येबाट एक जनाले मेयर पाउने पक्का भएको एमाले नेताहरुले बताइरहेका छन् ।
    अहिले आकांक्षा देखाएका १० जनाबाट एक जनामात्र नगरकमिटिबाट औपचारिक सिफारिस हुने दौडमा उनीहरु लागिरहेका छन् । पण्डित, गजुरेल र श्रेष्ठ नगरबाट एक्लो उम्मेदवार बन्ने प्रयासमा छन् । नगरकमिटिले पण्डित र गजुरेलमध्येबाट एक जनालाई चयन गर्ने संभावना पनि रहेको छ । नगरकमिटिबाटै एक जनाकोमात्र उम्मदेवार टुंगो लगाएर माथिल्लो कमिटिलाई सिफारिस गरेमा नगरकमिटिमा गजुरेल पक्षधरको बाहुल्य रहेको कारण सञ्जु पण्डितको भन्दा ठाकुरप्रसाद गजुरेलकै पल्लाभारी देखिन्छ । तर, केन्द्रमा पहुँचविस्तार गर्न सफल श्रेष्ठलाई कम आँक्न नहुने एमाले नेताहरुले बताएका छन् ।
    सदरमुकाम क्षेत्र र २०४९ सालदेखि एमालेले जित्दै आएको विदुरमा यो पाली एमालेले जित्न सक्ने उम्मेदवारको खोजीमा रहेको छ । जिल्लामा पनि चार दलिय गठबन्धन हुने पक्कापक्की भएको कारण नै एमालेले पार्टीमा लामो योगदान भएको, जनमानसमा भिजेको, जित्न सक्ने उम्मेदवार तय गर्ने जनाएका छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया