
नुवाकोट । विदुर नगरपालिकाको वडा नं. २ को वडाअध्यक्षको उम्मेदवार दीपक कायस्थ हुने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिका वडा नं. २ को अध्यक्षमा एमालेबाट कायस्थको नाम सर्वसम्मत रुपमा जिल्लामा पठाइएको छ ।
वडाको अध्यक्षमा दाबेदार रहेका ८ जनाबाट छलफल गरी एकजना दीपक कायस्थको नाममात्र सिफारिस गर्न सफल भएको वडा कमिटिका अध्यक्ष दामोदर नेपालले जानकारी दिनुभयो । विदुर नगरपालिकाको १३ वटा वडामा १२ वटा वडामा वडाकमिटिले अध्यक्ष सिफारिस गर्न नसकीरहेको बेलामा २ नं. वडाले एकजनामात्र सिफारिस गरेर वडामा पार्टीभित्र कुनै विवाद नभएको र एकढिक्का रहेको सन्देश गएको विदुर नगरकमिटिका सचिव अनुजकुमार श्रेष्ठले बताउनुभयो ।
एमालेले विदुरको अन्य वडाहरुबाट अध्यक्ष सिफारिसको लागि घनीभूत छलफल भईरहेको जनाएको छ ।