मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • विदुरको समग्र विकास नै हाम्रो एजेण्डा हो: उपमेयरका उम्मेदवार अम्बिका पौडेल

    समिकरण २०७९, १९ बैशाख सोमबार ०८:४० पढ्न लाग्ने समय 3 मिनेट
    ambika poudel nepal

    (स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटका २ हजार २ जना उम्मेदवारहरु रहेका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यसैमध्येमा विदुर नगरपालिकामा नेकपा एमालेले उपमेयरमा विदुर–२ बट्टारकी अम्बिका पौडेल (नेपाल) लाई उम्मेदवार बनाएको छ । रसुवाको माझगाउँमा २०४५ फाल्गुण ५ गते जन्मिएकी पौडेलले शिक्षा शास्त्रमा स्नातक गरेकी छिन् । २०६० सालमा निलकण्ठ बहुमुखि क्याम्पसमा अनेरास्ववियू प्रारम्भिक कमिटीमा सदस्य रहेका काम गरेकी पौडेलले नेपाल रेडक्रस सोसाइटी रसुवा शाखामा रहेर लामो समय सामाजिक काम समेत गरेकी छिन् । २०७२ सालमा नेकपा (एमाले) को संगठीत सदस्यता प्राप्त गरेको र अखिल नेपाल महिला संघको जिल्ला कमिटी सदस्य हुँदै हाल नेकपा (एमाले) जिल्ला कमिटी सदस्य र निर्वाचन विभागको सह संयोजक भएर काम गर्दै आएकी छिन् । महिला हक र अधिकारको लागि विभिन्न महिला सहकारी र समुहहरुमा आबद्ध भएर सक्रिय रहँदै आएका पौडेललाई नेकपा एमालेले विदुरको उपमेयरको उम्मेदवार बनाएर चुनावी मैदानमा अघि बढाएको छ । विदुर नगरपालिकाको नेकपा एमालेको तर्फबाट उपमेयरका उम्मेदवार भएर निर्वाचनको मैदानमा रहेकी पौडेलसँग त्रिशुली खबरका सम्पादक नवदीप श्रेष्ठले चुनावी सन्दर्भमा गरिएको कुराकानी:)

    निर्वाचनको मिति नजिकिदै छ । चुनावी गतिविधिलाई कसरी अघि बढाई रहनु भएको छ ?

    स्थानीय तह निर्वाचनको दिन नजिक आउँदै गरेको छ । हामी उम्मेदवारहरु पनि सक्रिय रुपमा मतदाताको घरघरमा पुगिरहेका छौ । नेकपा एमालेको सिंगो टिम नै चुनावी अभियानमा सक्रिय भएको छ । विदुर नगरपालिकाको हरेक टोलटोल, वडा वडामा पुगेर मतदाताहरुसँग मत माग्ने, हाम्रा पार्टीको प्रतिवद्दताहरु प्रस्तुत गर्ने, मतदाताको गुनासा, समस्या र सुझावहरु लिएर अघि बढीरहेका छौ । निर्वाचन केन्द्रित कार्यक्रम बनाएर अघि बढेका छौ । वडा कमिटि, टोल कमिटि, जनवर्गिय संगठनहरुसँष् सहकार्य गर्दै मतदाताको दैलोमा पुगिरहेका छौ । निर्वाचन आउन धेरै दिन नभएको कारण पनि सक्रियता धेरै बढाउन लागेका छौँ, हरेक मतदाताको कुरा सुन्न पुग्नु पर्छ भनेर लागिरहेका छौ ।

    विदुरको उपमेयरको लागि १३ जना आकांक्षी थिए । १२ जनालाई पछि पार्दै तपाईले उपमेयरको टिकट पाउनु भयो । अन्य उपमेयरको आकांक्षीहरुले चुनावमा सहयोग गर्लान् त ?

    निर्वाचनको लागि उम्मेदवार बन्न आकांक्षी हुनु राजनीतिमा लागेका सबैको स्वभाविक अधिकार हो । पार्टीमा आआफ्नो आकांक्षा प्रस्तुत गर्न पाइहाहिन्छ । तर, उम्मेदवार बन्ने पद सिमित भएको कारण अकांक्षा राखेको सबैले पाउन सक्दैनन् । तर, पार्टीले विस्वास गरेर उम्मेदवार बनाएपछि सबैले त्यसलाई अघि बढाउनु हामी कार्यकर्ताको कर्तव्य पनि हो । मैले पार्टीबाट टिकट पाए पनि अन्य आकांक्षीहरुले साथ दिइरहेका छन् । उहाँहरुसँग सहकार्य गरेर नै चुनावी गतिविधिमा सक्रिय भईरहेका छौ । पार्टीको सिपाही भनेको पार्टीको नीति निर्देशनमा चल्नु पर्छ । हामी नेकपा एमालेमा आवद्द भएकाहरु पनि पार्टीको निर्देशनलाई शिरोपर गर्दै अघि बढिरहेका छौँ । निर्वाचनमा व्यक्ति भन्दा पनि पार्टी प्राथमिकतामा पर्ने भएकोले सबै साथीहरुलाई एमालेको उम्मेदवारलाई साथ दिएर अघि बढीरहनु भएको छ । सबैको साथ सहयोग पाएको र पाइरहनेमा विस्वस्त छु । हामी उम्मेदवार तथा विदुरको सिङ्गो नगर कमिटी चुनाव केन्द्रीत भएर जुटिरहेको छ । पार्टी संगठन विस्तारमा योजनावद्ध ढंगले लागिरहेका छौं । हाम्रो पार्टीभित्र बजारमा हल्ला भएजस्तो असहज अवस्था छैन ।

    विदुर नगरपालिकामा २०४९ सालदेखि एमालेले स्थानीय निर्वाचन जित्दै आएको छ । तर, सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेकोले एमालेलाई निर्वाचन जित्न कठिन हुँदैछ भनिन्छ नि ?
    विदुर नगरपालिकाको सन्दर्भमा नेकपा एमाले कमजोर छैन भनेर विगतको निर्वाचनबाट देखिएकै छ । निर्वाचनमा दलिय प्रतिष्प्रर्धा हुनु स्वभाविक हो । २०४९ सालबाट विदुरमा एमालेमा चुनाव जित्दै आएको छ । यही बेला आएको अर्को निर्वाचन जित्नु एमालेको लागि अवसर र चुनौती दुबै हो । तर, एमालेले विदुरमा नेतृत्व गरेर विकास निर्माणका धेरै काम गरेकोले हामीलाई पुन साथ दिनेछन् । सत्तारुढ गठबन्धन स्थानीय चुनावमा एक भएर आएको छ । हामी एक्लै चुनाव लडिरहेका छौं । अहिलेको जनता धेरै बुझ्ने भैसकेका छन् । जनताले यो गठबन्धन केका लागि गरेका हुन् किन गरेका हुन् राम्रोसँग बुझेका छन् र त्यसको राम्रो मुल्यांकन गर्नेछन् । नेकपा एमालेले अघि सारेको देश विकास योजनाहरु, समृद्धिका महाअभियानमा जनताले साथ पक्कै दिनेछन् भन्नेमा हामी विस्वस्त छौ ।

    तपाईको चुनावी एजेन्डाहरु के के छन् ?

    विदुर नगरपालिकाको लागि नेकपा एमालेको उम्मेदवारको टिमले के के काम गर्नेछ भनेर हामीले घोषणापत्रमा पनि उल्लेख गरेका छौ । पछिल्लो पाँच वर्षमा एमालेको नेतृत्वको विदुर नगरपालिकाले गरेको उपलब्धिहरु धेरै रहेका छन् । पहिले गरेका कतिपय वाचाहरु पुरा गर्न बाँकी रहे पनि अधिकांश पुरा गरेका छौ । हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका विषयहरुलाई थप प्रभावकारी रुपमा कार्यन्वयन गराउने छौँ । कृषि क्षेत्रमा आधुनिकीकरण गर्न थप लगानी गर्नेछौँ । एक घर एक खानेपानी धारालाई नगरवासीको हरेक घरमा पु¥याएर पूर्णता दिनेछौँ । विदुर नगरपालिका पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र पनि हो । यसलाई विस्तार र विकास गर्न विशेष ध्यान दिनेछौँ । अलपत्र रहको ऐतिहासिक सम्पदालाई पुनर्निर्माणमा पहल गर्नेछौ । धार्मिक तथा सांस्कृतिक रुपमा अत्यान्त महत्वपूर्ण रहेको छ विदुर नगर क्षेत्र । हाम्रा ऐतिहासिक, धार्मिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउने छौ । न्यायिक समितिलाई प्रभावकारी बनाउने, महिलाको मुद्दालाई केन्द्रमा राखेर कार्यक्रमहरु तय गरी कार्यन्वयन गराउने छौ । हामी नागरिकसँग जोडिएका र नागरिकको प्राथमिकतामा योजनाहरु नै हाम्रा योजना हुन् । त्यसकै कार्यन्वयनमा हाम्रो साथ रहनेछ । दीगो विकासमा हाम्रो ध्यान जानेछ । नगरको मुहार फेर्नको लागि विज्ञहरुको सल्लाहसहित गुरु योजना बनाएर अघि बढ्ने छौ । नीति बनाएर चल्नेछौ । बजेटको स्रोतको आधारमा रहेर योजनाहरु कार्यन्वयन गराउने र सुशासन कायम गराएर अघि बढ्नेछौँ ।

    अन्त्यमा, विदुर नगरवासीलाई के भन्न चाहनुहुन्छ ?

    स्थानीय तह निर्वाचन २०७९ को यही वैशाख ३० गते मतदान गर्ने दिन आउँदै छ । पाँच वर्षको लागि जनप्रतिनिधी चुन्ने दिन भएकोले सबै मतदाताहरुलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउनु अनुरोध गर्दछु । नेकपा एमाले जनताको पार्टी हो । जनताको विश्वासलाई घात नगर्ने दल हो । हाम्रो नेतृत्वको उम्मेदवारलाई मत दिएर विदुरको विकासको लागि सेवा गर्ने मौका दिन अनुरोध गर्दछौँ । हामी हाम्रा प्रतिबद्धताहरुलाई साकार बनाएर देखाउने छौँ ।

    – त्रिशुली खबरबाट

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया