बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • स्थानीय तह निर्वाचनको परिणाम र त्यसले दिएका सन्देशहरु

    समिकरण २०७९, १७ जेष्ठ मंगलवार १३:५८ पढ्न लाग्ने समय 3 मिनेट

    गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अधिकांश ठाउँमा राजनीतिक दलका चुनाव चिन्ह लिएर उम्मेदवार भएका उमेदवारहरुले विजय प्राप्त गरेका छन् । तर विशेषगरी काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी नगरपालिकाको परिणामले देशव्यापी रुपमा चर्चा प्राप्त गरेकोछ । र विशेष सन्देश पनि दिएको छ । काठमाडौंमा बालेन साहले प्राप्त गरेको मतले पुराना र पटकपटक परिक्षित केशव स्थापितको विकल्प खोजेको प्रष्ट हुन्छ । केशव स्थापित आफैमा स्थापित नाम हो । काठमाडौंको विकासमा स्थापितको योगदान अनुकरणीय छ ।
    अव्यवस्थित रुपमा पसल टहराले भरिएको रत्नपार्कलाइ आफै उभिएर डोजर लगाएको दृश्य अझै जनताको मानसपटलमा घुमिरहेका छन् होला । माइतीघरलाई फराकिलो बनाएर आकर्षक मण्डला निर्माण गर्ने श्रेय पनि स्थापितलाई नै जान्छ । काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न विष्णुमती र बागमती लगायतको शहरभित्र बग्ने धेरै नदीकिनारमा करिडोरको रुपमा सडक निर्माण गर्ने योजना केशव स्थापितले नै अघि सारेका हुन् । समग्रमा व्यवस्थित काठमाडौं शहर बनाउन स्थापितको भूमिका महत्त्वपूर्ण रहेकोमा दुई मत नहोला। तर पछिल्लो निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्ने स्थिति किन र कसरी सृजना भयो ? यसको जवाफ खोज्नु आजको आवश्यकता हो ।
    काठमाडौंको लोकपृय मेयर भए पछि राजाको पालामा पुनः टिके मेयर बन्न जानु स्थापितको राजनीतिक कमजोरी हो । नेकपा एमाले छाडेर प्रजापरिषद तिर लाग्नु राजनीतिक विसर्जनवाद हो । अनि संघियता कार्यान्वयन पछि एमालेबाट तत्कालीन ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै प्रदेश माननीय जितेपछि पूर्वाधार मन्त्री बनेको तर कार्यकाल उत्कृष्ट बनाउन नपाउँदै विवादास्पद भएर मन्त्रीबाट बहिर्गमन हुनुपरेको आम जनताले हेरिरहेका थिए । त्यसलाई काठमाडौंको जनताले नहेर्ने कुरै भएन ।
    प्रदेशको मन्त्री भैसकेको व्यक्ति पुनः महानगरको मेयर हुन आकांक्षा राख्नु सरासर लोभ स्वार्थ र निचापन हो भन्दा खास फरक नपर्ला । नेकपा एमाले विशाल जन संगठन भएको पार्टी हो । यहाँ धेरै योग्य र सक्षम व्यक्तिहरु अवसर नपाएर बिरक्तिएर बसेकाछन् । निरन्तर राजनीतिक गतिविधिमा संलग्न भएर पार्टीको लागि ज्यान दिएर हिड्ने नेता कार्यकर्ताहरुले अवसर नपाउने अनि स्थापित प्रवृत्तिले सधैं प्रोत्साहन पाउँदा काठमाडौंका सचेत जनताले आफ्नो अमुल्य मतको प्रयोग गरिरहदा यी र यस्ता कुराहरुको पनि मुल्यांकन गरेको हुनुपर्छ । यसैको परिणाम हो बालेन साहको विजयको कारण । नत्र एउटै पार्टीको उपमेयरको अत्यधिक मत आउने, मेयरको न्युन मत आउने अरु कारण के हुन सक्छ । यसको समिक्षा पार्टी पंक्तिमा हुनु जरुरी छ ।
    पछिल्लो समय नेपाली जनतामा केही सोचहरु परिवर्तन भएको देखिन्छ । सुचना प्रविधिमा साधारण जनताको पहुँच ह्वात्तै बढेको छ । गाउँ तहसम्मका बृद्धबिद्धाहरु समेत सामाजिक संजालमा रमाउन थालेकाछन् । सामाजिक संजालमा आउने सामाग्रीहरु मनोरञ्जनात्मक त अवश्य हुन्छन् नै तर त्यसले सामाजिकरुपमा धेरै प्रभाव पारिरहेको हुन्छ । हो पछिल्लो समयको सामाजिक परिवर्तनमा सामाजिक संजालको पनि धेरै भूमिका रहेको देखिन्छ ।
    आम युवाहरु परिवर्तन चाहन्छन् । परिवर्तनकालागि धेरै अभियानहरु संचालन गर्ने युवाहरुको चाहना अनुसार नै यो पटक धेरै ठाउँमा युवा उम्मेदवारहरु विजयी भएका छन् । सामाजिक अभियन्ता जो निरन्तर समाजका लागि लडिरहेका हुन्छन् त्यस्ता व्यक्तिहरु स्वतन्त्र रुपमा चुनाव लड्दा पनि अत्याधिक बहुमतले विजय भएकाछन् । यसको दुईवटा उदाहरण धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपी हमाल हुन् । जो सामाजिक कृयाकलापमा रमाउदा रमाउँदै यस पटक मेयर भएकाछन् ।
    एक्लै ट्याम्पुमा चडेर भाषण गर्दैन हिड्ने हर्कलाई धराने जनताले चुनेकाछन् । हिजो नगरपालिकाको मुलढोकाबाट प्रवेश नपाएका हर्क साम्पाङ आज त्यहि नगरपालिकाको मेयर भएर जनताको सेवामा जुट्ने अवसर पाएकाछन् । सामाजिक सेवामा जुट्दाजुट्दै धनगढीमा गोपी हमाल मेयर भएर उदाएकाछन् ।
    यसले नेपाली जनताको मनोभावना बुझ्न सजिलो भएको छ की जनता परिवर्तन चाहन्छन् । जनता सामाजिक रुपमा पहिचान बनाउन सफल भएका व्यक्ति चाहन्छन् । नकी पार्टीका खोल ओडेर भ्रष्टाचारमा डुब्ने अनि पार्टीकै बदनाम गरी प्रविधिक रुपमा पुनः पार्टीबाटै टिकट जितेर जनतामाझ आउने नेताहरूलाई दह्रो झापड हानेका छन् यसपटक नेपाली जनताले । यसर्थ बालेन, हर्क र गोपीबाट धेरै पाठ सिक्नु आवश्यक छ पार्टी र पार्टीका उपल्लो तहका नेताहरुले ।
    राजनीतिक दलभित्र मौलाएको सांगठनिक अराजकता चुनावी परिणाममा स्पष्ट पोखिएको छ । काठमाडौं महानगर कै उदाहरण लिने हो भने नेकपा एमालेको तर्फबाट अत्यधिक मत प्राप्त गरि उपमेयर सुनिता डङ्गोल विजयी भएका छन् । तर मेयरमा केशव स्थापितले धेरै कम मत प्राप्त गरेका छन् । यसले पार्टीका कार्यकर्ता र आम समर्थक मतदाताहरुमा समेत पार्टीप्रतिको निष्ठामा ह्रास आएको पुष्टी हुन्छ । त्यस्तै धरानमा पनि उस्तै घट्ना क्रम देखिएको छ । धेरै ठाउँमा काङ्ग्रेस माओवादी गठबन्धनको मेयर उपमेयर जितेको छ । तर बहुमत वडा अध्यक्ष र सदस्यहरु भने नेकपा एमालेले जितेको देखिन्छ । यसले प्रविधिक रुपमा नगरको नेतृत्व गठबन्धनको भए पनि कार्यपालिका नेकपा एमालेको कब्जामा रहने देखिन्छ । यस्तो अवस्था विदुर नगर पालिका, नुवाकोटमा देखिएको छ । ६७ जना सदस्य रहेको नगर सभामा ३७ जना एमालेको रहेको छ ।
    पार्टीभित्र घात अन्तरघात, सहयोग असहयोगको विषयमा धेरै बहस भैरहेको छ । निर्वाचनमा नेताहरूले खेल्नुपर्ने भूमिकाको विषयमा र सकारात्मक परिणाम प्राप्त गर्न नेताहरूले खेल्नुपर्ने भूमिकाको विषयमा पनि बहस भैरहेको छ । पार्टीको सम्बन्धित कमिटीहरुमा गम्भीरतापूर्वक समीक्षा गरि निर्मम ढंगले मुल्यांकन गरि आवश्यक प्रकृया अगाडि बढाउनुपर्ने देखिन्छ ।
    देशमा धेरै चुनावहरु हुन्छन् । अब ६ महिनाभित्र फेरि संघिय र प्रदेश सभा सदस्यहरुको चुनाव हुँदैछ । यो स्थानीय निर्वाचनको परिणामबाट केही पाठ सिकेर पार्टीहरुले निर्णय लिन सके मात्रै सकारात्मक परिणाम प्राप्त होला नत्र देशै भरि धेरै बालेनहरु जन्मनेछन् । धेरै हर्कहरु विजयी हुनेछन् अनि राजनीतिक दल र यसको झण्डामुनी गोलबन्ध भै निरन्तर सक्रिय रहने कार्यकर्ताहरु मुकदर्शक भै टुलुटुलु हेरि बस्नु पर्ने अवस्था सिर्जना हुन सक्छ । समग्र व्यवस्थाप्रति निराशा पैदा भएको भन्ने भ्रमहरु भुसको आगो जसरी फैलन सक्छ । बेलैमा सचेत रहौँ । साभार : त्रिशूली खबर साप्ताहिक

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया