बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • वेलकोटगढीद्धारा अनुदानमा १ सय ७० थान मिनिटिलर वितरण, नगरपालिका कृषि लक्षित कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध रहेको नगर प्रमुख गुरुङको भनाई

    समिकरण २०७९, ७ असार मंगलवार ०७:२८ पढ्न लाग्ने समय 2 मिनेट

    बाघखोर । वेलकोटगढी नगरपालिकाले नगरभित्र रहेका कृषकहरुलाई लक्षित गरी १ सय ७० थान मिनिटिलर वितरण गरेको छ ।
    नगरपालिकाले सोमवार एक कार्यक्रमका बिच नगर भित्र रहेको कृषि समूह, कृषि सहकारी र कृषि फर्म छनौट गरी ५० प्रतिसत अनुदानमा मिनिटिलर वितरण गरेको हो । नगरपालिकाभित्रबाट छनौटमा परेका ७४ वटा कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाई छनौट गरी १ सय ७० थान मिनिटिलर वितरण गरिएको हो । त्यस मध्ये १ सय थान क्राउन पद्धतीको र ७० वटा बेल्ट पद्धतिको मिनिटिलर वितरण गरिएको कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ । क्राउन पद्धतिको मिनिटिलरलाई १६ हजार ६ सय ६६ रुपैयाँ र बेल्ट पद्धतिको मिनिटिलरलाई १५ हजार ७ सय ६६ रुपैयाँ कृषकले व्यहोर्ने गरी वितरण गरिएको हो । भेग, आवस्यकता र कृषकको मागको आधारमा मिनिटिलर वितरण गरिएको कृषि प्राविधिक श्रेष्ठले जानकारी दिनुभएको छ ।
    मिनिटिलर वितरण कार्यक्रमलाई संवोधन गर्नुहुदै नगरप्रमुख जगत गुरुङले नगरपालिका कृषि लक्षित कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । कृषिलाई यान्त्रिकरण र आधुनिकरण नगरेसम्म सफल कृषक बन्न मुस्किल रहेको भन्दै नगर प्रमुख गुरुङले जनशक्तिको अभावमा खेती योग्य जमिन बाझो रहेको अवस्थामा नगरपालिकाले अनुदानमा वितरण गरेको मिनिटिलरले कृषकलाई ठूलो राहत मिल्ने अपेक्षा गरेको बताउनुभएको छ । वितरण गरिएको मिनिटिलरहरु बिग्रिएमा मर्मत गर्ने तालिम समेत नगरपालिकाले छिट्टै सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नगरभित्र रासायनिक मलको चरम अभाव भएको अवस्थामा तत्काल करिव १५ सय बोरा मल ल्याउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय भइरहेको र मल आइपुग्ने बित्तिकै सहकारी मार्फत कृषकसम्म पु¥याउने उहाँको भनाई छ ।


    त्यस्तै उपप्रमुख शिव दाहालले मिमित रहेको श्रोत साधनलाई उपलव्धीमूलक कार्य गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाईलाई छनौट गरी अनुदानमा वितरण गरिएको मिनिटिलरको सहि रुपमा सदुपयोग गरी कृषि उपजको उत्पादनमा वृद्धि गराउन तर्फ ध्यान दिन उपप्रमुख दाहालले आग्रह गर्नुभएको छ । नगरभित्र रहेका अगुवा किसानहरुको अनुभव सामान्य किसान समक्ष आदानप्रदान गरी वेलकोटगढीलाई कृषिको हब बनाउने योजनालाई सफल बनाउन सबै नगरबासीको साथको अपेक्षा उहाँले गर्नुभएको छ ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडा, कृषि शाखा प्रमुख दामोदर दाहाल लगायतले नयाँ नेतृत्वको जनप्रतिनिधिसँगै कृषि क्षेत्रमा कार्यरत कर्मचारी किसानको मागलाई संवोधन प्रतिबद्ध रहेको बताएका छन् ।

    #कृषि

    फेसबुक प्रतिक्रिया