समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकालाई पूर्ण सस्थागत सुत्केरी बनाउने अभियान अन्तर्गत रहेर सडक नाटक प्रदर्शन गरिएको छ ।
स्वास्थ्य तथा सरसफाई शाखाले वडा नम्बर ३ स्थित कौकेश्वरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा बाल क्लवमा आवद्ध भएका विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका हुन् । गर्भाअवस्थामा देखा पर्ने खतराका लक्षणहरु तथा चिनहहरु, घरमा नै सुत्केरी गराउदा आइपर्ने जोखिम, सुत्केरी हुने समयमा देखा पर्ने लक्षणहरु, सुत्केरी अवस्थामा देखा पर्न सक्ने खतराका लक्षणहरु लगायतको विषयलाई नाटकमा समेटिएको दुप्चेश्वर गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुदिप थापाले बताउनुभएको छ ।
संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्न र गर्भावस्था र सुत्केरी अवस्थामा हुने जटिलताको बेला धामी झाँक्री नभई स्वास्थ्य संस्थामा नै लैजान पर्छ भन्ने विषयमा सर्वसाधारणलाई सन्देश प्रवाह गर्नको लागि सडक नाटकको साहारा लिइएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभएको छ । गर्भवती अवस्था, प्रसव पीडा हुने अवस्था र सुत्केरी अवस्थामा परिवारको रेखदेख महत्वपूर्ण हुने विषयलाई समेत नाटकले समेटेको थियो ।
गर्भवती तथा सुत्केरी अवस्थामा केही जटिलता देखिएमा र सुत्केरी व्यथा लामो समयसम्म लागिरहदा पनि धामी झाक्रीको भर पर्ने समुदाय अझै पनि रहेको छ । त्यस्ता समुदायलाई धामी झाक्री मार्फत सस्थागत सुत्केरी गराउन प्रेरित गराउने उदेस्यले दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा रहेका धामी झाक्रीलाई सहभागी गराई प्रशिक्षण समेत दिइएको छ ।
राउतवेशी स्वास्थ्य चौकीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, कौकेश्वरी माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो