देउराली । म्यागङ गाउँपालिकामा सेवारत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम दिइएको छ ।
गाउँपालिकाको ६ वटा वडामा सेवारत आधारभूत तालिम प्राप्त नगरेका १४ जनालाई १० दिने तालिम दिइएको हो । तालिमको समापन एक कार्यक्रमका बिच विहिवार एक कार्यक्रमको बिच समापन गरिएको छ । तालिमको समान कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिकाका अध्यक्ष आशा तामाङले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले गाउँघरमा पुराएको योगदान महत्वपूर्ण रहेकोले गाउँपालिकाबाट प्रोत्साहनका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तरको प्रयासको कारण मातृशिशु मृत्युदरमा न्यूनिकरण भएको बताउनुभएको छ । नजिकको स्वास्थ्य कर्मीको रुपमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नै रहेको भन्दै उपाध्यक्ष तामाङले उनीहरुको क्षमता बृद्धिको लागि गाउँपालिका तयार रहेको बताउनुभएको छ ।
उक्त तालिम जेष्ठ महिनाको ३१ गतेबाट सुरु भएको थियो । तालिममा म्यागङ गाउँपालिकाको वडा नम्बर १ बाट ३ जना, वडा नम्बर ३ बाट १ जना, वडा नम्बर ४ बाट २ जना, वडा नम्बर ५ बाट ३ जना र वडा नम्बर ६ बाट ५ जना सहभागी रहेको मूख्य प्रशिक्षक समेत रहनुभएका थप सामरी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक सन्दिप सापकोटाले जानकारी दिनुभएको छ । काम, कर्तव्य र अधिकारको विषयमा पूर्ण रुपमा जानकारी गराउन तालिम नलिएका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम प्रदान गरिएको उहाँले बताउनुभएको छ ।
तालिमको समापन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जिमाबहादुर तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष हरीबहादुर तामाङ, वडा नम्बर ५ का वडा अध्यक्ष जितबहादुर तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष एवं सामरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार तामाङ, स्वास्थ्य शाखा प्रमुख कुमारलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।