शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • निराश सिक्किमेली जनता र लेण्डुप दोर्जे

    समिकरण २०७९, ९ भाद्र बिहीबार १३:४१ पढ्न लाग्ने समय 6 मिनेट

    अनुजकुमार श्रेष्ठ
    नेपालको संघीय संसदबाट नागरिकता विधेयक पास भए पछि फेरि लेण्डुप दोर्जेको चर्चा भैरहेको छ । नेपालीहरु सिक्किमको बारेमा कुरा गरिरहेका छन् । लेण्डुप दोर्जेले कसरी आफ्नै देश सिक्किम भारतमा विलय गराए भन्ने विषयमा विभिन्न कोणबाट टिप्पणी हुने गरेका छन् । एउटा स्वाधीन देशको प्रधानमन्त्रीबाट कसरी राष्ट्रघाती काम हुन सक्छ । जनताले विश्वास गरेको एउटा जिम्मेवार नेताले राष्ट्र प्रति कसरी गद्दारी गर्दा रहेछन् । त्यो जान्नु जरुरी छ । अनि विदेशी शक्तिले नेताहरूलाई प्रयोग गरि वैधानिक तरिकाले नै स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुकको अस्तित्व कसरी समाप्त पार्दा रहेछन् त्यो पनि जान्नु जरुरी छ । यहाँ लेण्डुप दोर्जे कोहुन् र उसले सिक्किम राष्ट्र प्रति कसरी र किन गद्दार गरे भन्ने बारे चर्चा गरिन्छ ।
    करिव ७,०९५ वर्ग किलोमिटर भूमि रहेको सिक्किम आज भन्दा करिव ४५ वर्ष अगाडिसम्म एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न राजतन्त्रात्मक व्यवस्था भएको राष्ट्र थियोे । तर अहिले भारतको एउटा राज्य हो । यसकोे उत्तरमा चीन, पूर्वमा भुटान, पश्चिममा नेपाल र दक्षिणमा भारतको पश्चिम बङ्गाल राज्य पर्छन् । सिक्किमको राजधानी ग्यान्तोक हो । यहाँ मुख्य रूपमा लेप्चा, भोटे र नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । तर नेपाली मूलका बासिन्दाहरूको बाहुल्यता रहेको छ । यहाँ करिब ७५ प्रतिशत नेपाली मूलका मानिसहरु बसोबास गर्छन् ।
    सन् १९७५ भन्दा अगाडि सम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको सिक्किम एउटा राष्ट्रघातीको कारण भारतमा विलय हुन पुग्यो । ती राष्ट्रघाती हुन् लेण्डुप दोर्जे । लेण्डुप दोर्जीलाई सिक्किमेली जनताले काजी दर्जा प्रदान गरेका थिए । यिनको जन्म सन् १९०४ मा सिक्किमको पाक्योङमा भएको थियो । उनीले ६ वर्षको उमेरमा नै सिक्किम कै उत्कृष्ट रुम्तेक स्थित बौद्ध गुम्बामा पढ्ने अवसर पाएका थिए । तत्कालीन सिक्किमका राजा चोग्यालको भ्रमणको क्रममा ६ वर्षे बालक लेण्डुपलाई देखेर प्रभावित भएपछि ग्यान्तोक दरबार लगे । राजदरबारको हेरचाहमा उनको राम्रो पालन पोषण र शिक्षा आर्जनको काम भयो । राजाको छत्रछायामा लेण्डुपले आफ्नो व्यक्तित्व विकास गर्दै गए । चलाख र अनुशासित लेण्डुप १८ वर्षको उमेरमा नै रुम्तेक बौद्ध गुम्बाका गुरु भए र पछि प्रमुख समेत भए । त्यसपछि यिनले सामाजिक क्रियाकलाप र समाज सुधारका कामहरू गर्न थाले । लेण्डुप दोर्जे सामाजिक सेवामा निरन्तर सकृय हुन थालेपछि जनताकाबीच लोकप्रिय हुँदै गए। उनमा राजनीति रुचि पनि बड्न थाल्यो । त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरि सन् १९४५ मा सिक्किम प्रजा मण्डल नामको राजनीतिक पार्टी स्थापना गरी त्यसको संस्थापक अध्यक्ष बने ।
    काजी लेण्डुप दोर्जेको विवाह स्कटल्याण्डका एक पत्रकार तथा लेखक एलिजा मारियासँग भएको थियो । लेण्डुपसँग विवाह भएपछि उनले लेण्डुपले गर्ने हरेक निर्णयमा भूमिका राख्ने गरेको पाइन्छ । कतिपयले मारियामार्फत नै सिक्किमलाई भारतमा विलय गराउने चाल चलेको पनि भन्छन् । सिक्किमलाई भारतमा विलय गराए पछि मारियाले लेण्डुपलाई छोडेर गएकाले त्यो आशंका गरिएको पनि हुन सक्छ । तर सिक्किमेली जनतालाई भड्काएको आरोपमा तत्कालीन राजा चोग्यालले उनलाई निर्वासित समेत गरेकाले उनको भूमिका नकारात्मक थियोे भन्ने पुष्टि गर्दछ ।
    सिक्किममा शासन गर्दै आएका नाम्ग्याल वंशका राजाहरु सिक्किमेली जनताकाबीच लोकप्रिय हुन सकेको थिएन जसको कारण भित्रभित्रै विरोधका स्वरहरू उठिरहेको थियो । राजा र जनता विचमा दिनप्रतिदिन द्वन्द्व बढीरहेको थियो । यसको फाईदा भारतले उठाउन खाज्दै थियो र भित्रभित्रै राजा विरोधीहरुलाई संगठित गर्ने काम गर्दै थियो । सिक्किममा विस्तारै राजनीतिक पार्टीहरू खुल्ने क्रम चल्न थाल्यो । यसै क्रममा सन् १९४७ मा सिक्किम स्टेट कंग्रेस पार्टीको स्थापना भयो । यसको मुख्य काम सिक्किम भित्र राजाको विरुद्धमा उठेका आवाजहरुलाई गोलबन्द गर्ने र राजा विरोधीहरुलाई संगठित गरी सिक्किममा राजतन्त्रको खिलाफमा गतिविधिहरु गर्नुमा केन्द्रित थियो । यस पछि सिक्किम स्टेट कंग्रेसको गतिविधिलाई निश्तेज गर्न दरबारको पहलमा सिक्किम नेशनल पार्टीको स्थापना भयो । त्यसपछि सिक्किममा स्टेट कंग्रेस र नेशनल पार्टी विच कडा प्रतिस्पर्धा शुरु भयो ।
    सिक्किम स्टेट कंग्रेसका संस्थापक सभापति टाशी छिरिङको अचानक मृत्यु भएपछि उक्त पार्टीको सभापति काजी लेण्डुप दोर्जे बन्न सफल भए तर केही समयमा नै उनको विरोध शुरु भयो । आफ्नो विरोध सहन नसकेर उनले कंग्रेस पार्टी नै परित्याग गरे । त्यस पछि उनले आफ्नै नेतृत्वमा सिक्किम स्वतन्त्र दल स्थापना गरे तर यो दलले खासै प्रभाव देखाउन नसके पछि उनले सन् १९६० तिर अन्य स–साना पार्टीहरू संग मोर्चाबन्दी गरी संयुक्त कार्यक्रमहरु गर्न थाले । र एकदिन लेण्डुप दोर्जे आफ्नै नेतृत्वमा रहेको सिक्किम स्वतन्त्र दललाई शक्तिशाली पार्टी बनाउन सफल भए ।
    सिक्किम स्वतन्त्र दलको प्रभाव बढ्दै गए पछि लेण्डुप दोर्जेको सम्बन्ध भारतीय सरकारका प्रधानमन्त्री जवाहरलाल नेहरुसंग बढ्न थाल्यो । र एक दिन नेहरुको निमन्त्रणामा लेण्डुप दिल्ली गए । नेहरुले लेण्डुपलाई आफ्नै निवासमा अति विशिष्ट आतिथ्यता प्रदान गरेका थिए । नेहरुसँगको भेटघाट पछि लेण्डुप राजतन्त्र विरोधी भएर देखापरे । आफ्नो पार्टीको गतिविधिहरु राजतन्त्रको विरोधमा केन्द्रित गर्न थाले । जस्ले उनलाई विश्वासका साथ ६ वर्षको उमेरमा दरबार ल्याएर हेरचाह गरि पढाएको थियो, काजीको पदवी समेत प्रदान गरेको थियो तिनै राजा र दरबारको विरोधमा उ खरो रुपमा उत्रिए । लेण्डुप दोर्जेको नेतृत्वमा सिक्किम भरि राजाको विरोधमा कार्यक्रमहरु बढ्न थाल्यो । त्यही समयमा सिक्किम सरकारले नागरिक अधिकारसम्बन्धी नयाँ नियम जारी गर्यो । यसमा सिक्किममा वषौंदेखि बसोबास गर्दै आएका नेपालीहरूलाई अपमानित गर्ने खालका प्रावधानहरू राखिएकोेले त्यसको चर्को विरोध शुरु भयो । सरकारको विरुद्धमा जनता आन्दोलनमा उत्रिए। आन्दोलनको नेतृत्व लेण्डुपको पार्टीले गरेको थियो ।
    आन्दोलन जनधनको क्षति हुनेगरी सिक्किम भरि चर्कन थालेपछि त्यसलाई साम्य पार्न भारत सरकारले मध्यस्थताको भूमिका खेलेर दलहरु र राजा विचमा वार्ता गराएर आन्दोलन मत्थर पार्न सफल भएका थिए ।
    त्यसपछि सन् १९६७ मा भएको चुनावमा लेण्डुप दोर्जेको नेतृत्वमा रहेको पार्टीले सदनमा प्रमुख प्रतिपक्षको भूमिका प्राप्त गर्न सफल भयो । उनको पार्टीले १८ मा ८ सिट जितेको थियोे । यसरी लेण्डुप सिक्किमको राजनीतिमा स्थापित भएको देखिन्छ । सिक्किमको राजनीतिमा विस्तारै अस्थिरता शुरु भयो । सरकारको विरुद्धमा लेण्डुप लागि रह्यो । राजतन्त्रको विरुद्धमा आन्दोलनहरु भैरह्यो तर देशले निकास भने पाउन सकेन । जनताको सामाजिक आर्थिक अवस्थामा खासै सुधार आउन सकेन । देशमा न शान्ति, सुशासन कायम हुन सक्यो न विकास र समृद्धि नै आउन सक्यो । त्यस समय सिक्किम विश्वकै गरिव राष्ट्रको रुपमा परिचित बन्यो । अशिक्षा र गरिवीका कारण जनताहरू निराश बनिरहे ।
    सिक्किममा राजनीतिक अस्थिरता बढिरहेको अवस्थामा पार्टीहरु फुट्ने र जुट्ने क्रमपनि बढिरहेको थियो । लेण्डुपको नेतृत्वको सिक्किम नेशनल दल भारतीयको इसारामा सिक्किम नेशनल कंग्रेससंग मिलेर त्यसको अध्यक्ष लेण्डुप बनिसकेको थिए । यसैबीच सन् १९७३ मा सिक्किममा पुनः अर्को चुनाव भयो तर त्यसमा लेण्डुप लगायतका विपक्षीहरूले राम्रो सिट जिल्न सकेनन् । राजाको पक्षले अत्यधिक मत प्राप्त भयो । राजालाई प्रतिपक्षीहरूले चुनावमा धाँधली गरेको आरोप लगाए । सिक्किम जनता कंग्रेस र लेण्डुपको नेतृत्व रहेको सिक्किम नेशनल कंग्रेसले चुनाव परिणामलाई अस्वीकार गर्ने घोषणा गरे । राजाले नयाँ सरकार गठन ग¥योे तर विरोधीहरूले विभिन्न आरोपहरू लगाउँदै देशव्यापी रूपमा प्रदर्शन गर्न थाले । सरकारले लेण्डुपलगायत विपक्षीहरूलाई वारेन्ट जारी ग¥यो । लेण्डुपको पत्नी एलिजा मारियालाई समेत जनता भड्काएको आरापमा सिक्किमबाट निकाला गरियो । यसैबीच सिक्किम जनता कंग्रेस र सिक्किम नेशनल कंग्रेसका बीच संयुक्त बैठक भयो र उनीहरू साझा एजेण्डामा सहमति जुटाउन सफल भए । उनीहरूले सिक्किमबाट राजतन्त्रात्मक व्यवस्था हटाई प्रजातान्त्रिक व्यवस्था कायम गर्ने निर्णय गरे र देशव्यापी रूपमा विरोधका कार्यक्रमहरूको आयोजना गरे । राजनीतिक दलहरूको आन्दोलन अगाडि राजतन्त्र शिथिल बन्दै गयो ।
    र, सिक्किममा नयाँ बहसको शुरुआत हुन थाल्यो । सिक्किमलाई स्वतन्त्र राष्ट्रका रूपमा कायम राख्ने वा भारतमा विलय गराउने भन्ने बारे छलफल शुरु भयो । सिङ्गै सिक्किम यस विषयमा दुई ध्रुवमा विभाजित भयो । राजा चोग्याल जस्तोसुकै मूल्य चुकाएर भएपनि सिक्किमलाई एक स्वतन्त्र राष्ट्रका रूपमा कायम राख्न चाहन्थे तर लेण्डुप दोर्जे लगायत विपक्षीहरू त्यसको विरोधमा थिए । त्यसैले राजालाई आफ्नो एजेण्डा मान्न बाध्य गराउन विरोधीहरूले हजारौं मानिसहरू जम्मा गरेर राजदरबार घेरे । अन्ततः राजा चोग्याल दलका प्रतिनिधिहरूसँग वार्ता गर्न तयार भए । राजनीतिक दल र राजा विचमा हुने वार्तामा भारत सरकारका तर्फबाट पनि प्रतिनिधित्व गराउने राजनीतिक दलहरुको माग पुरा भयो । १९७३मा भएको राजा, विपक्षीदलहरू र भारतका प्रतिनिधिका बीच भएको वार्तामा महत्वपूर्ण सम्झौता सम्पन्न भयो । यस सम्झौतापछि लामो समयदेखिको अशान्त रहेको सिक्किममा शान्ति छायो । केहि समय स्थिरता कायम भयो । तर भित्रभित्रै षडयन्त्रको तानाबाना बुनिरहेको थयो । सिक्किमको राजनीतिमा भारतको उपस्थितिले सिक्किम तातिरहेको थियो । लेण्डुप दोर्जेको लोकप्रियता चुलिएको थियो । लेण्डुप दोर्जे सिक्किमेली जनताको प्यारो नेताको रुपमा स्थापित भैसकेका थिए ।
    सन् १९७३ मै सिक्किम जनता कंग्रेस पार्टी र सिक्किम नेशनल कंग्रेस पार्टी एकआपसमा मिलेर सिक्किम कंग्रेस पार्टी बन्यो । यसको अध्यक्षमा काजी लेण्डुप दोर्जे नै चुनिए । यस पार्टीको मूल उद्देश्य सिक्किमबाट सामन्ति शासनको अन्त्य गर्दै भारतमा विलय गराउनु थियो । भारतका गुप्तचरहरू पनि यही काममा क्रियाशील थिए ।
    राजा चोग्याल, राजनीतिक दल र भारतीय सरकारका प्रतिनिधिबीच भएको त्रिपक्षीय सम्झौता अनुसार भारतका इलेक्सन चिफको प्रत्यक्ष निरीक्षणमा सन् १९७४ अप्रिलमा सिक्किम व्यवस्थापिका सभाको चुनाव सम्पन्न भयो । जुन चुनावमा निर्धारित ३२ सिटमध्ये ३१ सिटमा लेण्डुप नेतृत्वको सिक्किम कंग्रेसले जित हासिल ग¥यो । १ सिट भने राजाको पक्षधरले जितेका थिए । चुनावपछि काजी लेण्डुप दोर्जी सिक्किमका शक्तिशाली प्रधानमन्त्री बने । उनले राजतन्त्रको खारेजीकोे निर्णय मन्त्रिपरिषदको पहिलो बैठकबाट गराए । बैठकमा उनले स्वतन्त्र सिक्किम र राजतन्त्रको भविष्यका बारेमा जनमत सङ्ग्रह गराउने पनि निर्णय समेत गरे ।
    मन्त्री परिषद्को निर्णय अनुसार १९७५ अप्रिल १४ तारिखका दिन सिक्किममा जनमत सङ्ग्रह पनि भयो । जनमत संङ्ग्रह नाम मात्रैको थियो । जनमत संग्रहको परिणाम आउने दिन भारतीय सेनाले राजा चोग्यालको राजदरबार घेरी उनलाई दरबारभित्रै नजरबन्द गरि सकेका थिए । जनमत सङ्ग्रहको जनादेशलाई आधार मान्दै शक्तिशाली प्रधानमन्त्री लेण्डुप दोर्जेले ३२ सदस्यीय संसदमा सिक्किमलाई भारतमा विलय गराउने प्रस्ताव पेश गरे । ३२ सदस्यमध्ये ३१ जना उपस्थित भएको निर्वाचित सदस्यहरूले यस प्रस्तावको पक्षमा सर्वसम्मत ढङ्गबाट पारित भएको घोषणा गरे । यसरी एउटा स्वतन्त्र पहाडी मुलुक सिक्किम १९७५ अप्रिल २६ तारिखदेखि भारतको २२औं राज्यका रूपमा विलय भयो । भारतको संसदले भने त्यसको विधिवत घोषणा १९७५ मे १६ तारिखका दिन ग¥योे । यसरी लेण्डुप दोर्जेले आफ्नो राष्ट्रप्रति गद्दार गरेर सार्वभौम सम्पन्न स्वतन्त्र मुलुकलाई पराइ मुलुकमा विलय गराएर विश्वमै राष्ट्रघाती नेताको पहिचान बनाएका छन् । लेण्डुप दोर्जे एउटा नाम होईन पछिल्लो समय राष्ट्र विरोधी प्रवृत्तिको रुपमा स्थापित भएको छ । कुनै मुलुकमा नेतृत्वले जबजब राष्ट्रियता विरोधी कामहरु गर्छन् तब लेण्डुपको चर्चा हुने गर्छ ।
    गरिवी र राजनीतिक अस्थिरताको कारण निराश सिक्किमेली जनताले आफ्नो देशको अस्तित्व समाप्त भएको टुलुटुलु हेर्न बाध्य भए । यद्यपि राष्ट्रवादी सिक्किमेली जनताले पछि सम्म भारत विरोधी आन्दोलनहरु गरेका थिए तर भारतीय सेनाले क्रुरतापूर्वक आन्दोलन दबाएका थिए । वैधानिक तवरले सिक्किमको भारतमा विलय पश्चात् अपमानित जीवन बिताइरहेका लेन्डुप दोर्जेलाई मृत्यु पर्यन्त भारतले उच्च सम्मान गरेको थियो ।
    (आइतबार प्रकाशित ‘त्रिशूली खबर’ साप्ताहिकबाट)

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया