शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • श्रीलंकाको आर्थिक संकट र नेपाल

    समिकरण २०७९, १३ भाद्र सोमबार १३:५१ पढ्न लाग्ने समय 4 मिनेट

    अनुजकुमार श्रेष्ठ
    नेपालको भन्दा दुई गुणा ठूलो अर्थतन्त्र भएको श्रीलंकाको अर्थतन्त्र धरासायी भएको छ । भौगोलिक अवस्थाले प्रचुर आर्थिक विकासको सम्भावना बोकेको श्रीलंकाको अर्थव्यवस्था अहिले लगभग ध्वस्त भएको छ । विकासको गतिमा अगाडि बढिरहेको देश श्रीलंका, पछिल्लो समय इतिहासकै चरम आर्थिक संकटमा फसेको छ । समस्या यति चुलिएको छ कि श्रीलंकामा अहिले शैक्षिक संस्थाहरुको परीक्षा संचालन गर्न प्रश्नपत्र छाप्ने र उत्तर पुस्तिकाका लागि आवश्यक कागज खरिद गर्न सक्ने अवस्था समेत छैन । कागजको अभावमा लाखौं विद्यार्थीहरु परीक्षाबाट बञ्चित भएका छन् । सरकारले अनिश्चितकालका लागि परीक्षा स्थगित गरेको छ ।
    सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकामा आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकालीको जीवनमा प्रत्यक्ष असर पारेको छ । दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । सामान किन्न पसलहरूमा लामो लाइन लागेको हुन्छ । केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ । अहिले श्रीलंकाली जनताहरु पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य सामाग्रीहरुको चरम अभाव खेपिरहेका छन् । केहि वर्ष अगाडि सम्म अन्य विकासशील देशहरूजस्तै कुल गार्हस्थ्य उत्पादनमा लगानीको अंश ३० प्रतिशत पु¥याएको देश अहिले अत्यधिक वैदेशिक ऋणको बोझले र राजनीतिक नेतृत्वको गलत अनुमान र महत्वकांक्षी कार्यहरूले गर्दा आर्थिक संकटमा भासिएको छ । यसको भौगोलिक रणनीतिक अवस्थितिले गर्दा एसियाकै सबैभन्दा ठूला अर्थतन्त्र भएको देशहरु चीन, भारत र जापानले यहाँ व्यापकरुपमा लगानी बढाएको पाइन्छ । पूर्वपश्चिम सामुन्द्रिक मार्गमा विशेषगरी चिनको लगानी रहेको छ । जसलाई चीनले रणनीतिक रुपमा उपयोग गरेको देखिन्छ ।
    श्रीलंका सरकारले विद्रोही शक्ति एलटिटिईमाथि विजय हासिल गरेपछि त्यहाँका शासक महिन्दा राजापाक्षेको घमण्ड बढेको पाइन्छ । लामो समय देखि विद्रोहमा रहेको शक्ति एलटिटिईलाई सन् २००९ मा सरकारले जितेको हो । विद्रोही शक्तिमाथिको विजय उन्मादमा राजापाक्षेले गरेका केहि निर्णयहरु देशका लागि घातक भए । देशमा परिवारवाद हाबी भएको प्रत्येक्ष अनुभव गर्न सकिन्थ्यो । देशै भरि उनको गुनगान गाउने परिस्थिति सृजना भयो । उनको लोकप्रियता चुलिएसंगै देशमा सुस्तरी आर्थिक संकट बढ्न थाल्यो ।
    संकटसंगै राजापाक्षेको महत्वकांक्षी विकास नितिका समर्थकहरु र फरक मत राख्नेहरु विचमा द्वन्द्व उत्पन्न हुन थाल्यो । समाज विभाजन तर्फ उन्मुख भयो । विभाजित समाजलाई व्यवस्थापन गर्ने तिर भन्दा समस्या बढाउने तिर सरकार उद्धत हुदै गयो। उत्तरदक्षिणको विवादलाई समाधान गर्ने तिरभन्दा सरकारले झन् बढाउँदै जटिल तुल्याउन थालेकोले समस्या गहिरिदै गयो । यसैबीचमा देश भरिको चर्चहरुमाथि क्रमश आतंककारी हमलाहरु हुन थाल्यो । यस कारण आर्थिक संकटले झन व्यापकता पाएको देखिन्छ । अझै विश्व व्यापी रुपमा फैलिएको कोभिडको कारण श्रीलंकाको आम्दानीको मुख्य श्रोत रहेको पर्यटन व्यवसायमा नकारात्मक असर पर्याे। धेरै जनताहरु बेरोजगार भए । जनताको आम्दानीमा नराम्ररी ह्रास आयो । यिनै कारणहरुले गर्दा श्रीलंकामा आर्थिक संकट बढेको देखिन्छ । श्रीलंकाको यो संकट यतिमा मात्र सीमित हुन्छ जस्तो लाग्दैन । यसले धेरै क्षेत्रमा प्रभाव पार्ने देखिन्छ । आफ्नो क्षमता भन्दा बढी ऋण लिएर पूर्वाधारहरु निर्माण गर्नु र उक्त पूर्वाधारको प्रयोग गर्ने वातावरण बनाउन नसक्नु नै श्रीलंकाको आर्थिक संकटको मुख्य कारण हो ।
    श्रीलंकाको यो ऋणको समस्या सन् २००० को दशकमा धेरै बढेको देखिन्छ । सरकारले आफूले लिएको ऋण र त्यसको ब्याज तिर्ने विषयहरूमा ठोस योजना ल्याएको पाइँदैन । सरकारको अस्थिर परराष्ट्र नितिको कारण सरकार फेरिए संगै एसियाकै दुई शक्तिशाली राष्ट्र भारत र चिन संग गरिने व्यवहार पनि स्थिर हुन सकेन । ठूलाठूला पुर्वाधार निर्माणकालागि गरिने लगानी र व्यापारको लागि कहिले भारततिर जोड दिने त कहिले चीनतिर ढल्किने गरेको कारण पनि समस्या बढेको देखिन्छ ।
    श्रीलंका चिया उत्पादन गर्ने देशहरु मध्ये विश्व कै चौथो ठूलो देश हो । श्रीलंकाले वार्षिक २ अर्ब डलर भन्दा बढी विदेशी मुद्राको चिया निर्यात गर्ने गर्दछ। तर राष्ट्रपतिको महत्वाकांक्षी निति अर्गानिक रणनीतिले चियाको निर्यातमा २५ प्रतिशतले गिरावट आएको तथ्यांकले बताउँछ । यसको प्रभाव धान उत्पादनमा पनि परेको र वार्षिक १० प्रतिशतले धान उत्पादनमा कमी आएको तथ्यांक छ। निर्यात कम भएपछि भुक्तानी असन्तुलन बढ्न थालेको देखिन्छ । लामो समयदेखि भुक्तानी असन्तुलनको समस्या भोगिरहेको श्रीलंकाले विश्वव्यापी कोभिड संक्रमणको संकटपछि पर्यटन उद्योग समेत खस्केकोले खराब अर्थतन्त्र अझै बढ्न गएर संकट चुलिएको हो ।
    पछिल्लो समय विश्वमा कोभिड संक्रमण कम हँुदै गएको र त्यसबाट प्रत्येक्ष प्रभावित पर्यटन व्यवसाय पुरानै लयमा फर्किन शुरुआत भए पनि श्रीलंकामा भने पर्यटन व्यवसाय पुरानो लयमा फर्किन सकेन । यसको मुख्य कारण रूस र युक्रेनबीचको युद्ध हो । रुस र युक्रेन युद्धको प्रत्येक्ष प्रभाव श्रीलंकाको पर्यटन उद्योगमा परेको छ । युद्धको कारण युद्धग्रस्त रुस, युक्रेन लगायत बेलारुस, पोल्याण्ड जस्ता देशहरूबाट आउने पर्यटकहरुको संख्यामा निकै कमी भएकोले पर्यटन व्यवसाय पुरानो लयमा फर्किन सकेन । त्यसमा पनि अझ सन् २०१९ मा २ सय ७० जनाको मृत्यु हुने गरी भएको बम विस्फोटनले श्रीलंकाको पर्यटन उद्योगमा नकारात्मक असर परेको देखिन्छ । दीगो अध्ययन नगरी व्यापक रुपमा नगद नोट छाप्दा अत्यधिक मूल्यवृद्धि हुन गएकोले त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न गयो । मुद्रास्फिती बढ्न थाले पछि कालोबजार बढ्न थालेको र विदेशमा काम गरिरहेका श्रीलंकनहरूले अबैध माध्यमबाट रेमिट्यान्स पठाउन थालेपछि अर्थतन्त्र थप संकटग्रस्त हुन थालेको हो ।
    श्रीलंकाली सरकारले अति जनप्रिय बन्नको लागि लिएका नीतिहरू पनि पछिल्लो आर्थिक संकटको प्रमुख कारण हो । श्रीलंकामा सरकारले कृषकहरूलाई वार्षिक ४० करोड डलरको रासायनिक मल अनुदान स्वरूप उपलब्ध गराउँदै आएको छ । सरकारले इन्धनमा समेत अनुदान दिने गरेकाछन् । तर उक्त अनुदानबाट केवल ३० प्रतिशत जनताले मात्रै लाभ पाउने गरेको देखिन्छ । अनुदानको उपयोग भने सहि ढंगले भएको पाइदैन। सरकारले प्रदान गरेको अनुदानहरु अनियमित तरिकाले उच्च आय भएका वर्गले नै उपयोग गर्ने आशंका गरिएको छ ।
    दक्षिण एसियाली राष्ट्रहरुको समस्या नै राजनीतिक नेतृत्वहरु अपारदर्शी हुनु हो । अझै ठूलो समस्या राजनीतिक नेतृत्वहरु देश र जनताप्रति उत्तरदायी नहुनु हो । अनुत्तरदायी र अपारदर्शी राजनीतिले कालन्तरमा संकट निम्याउँदछ । यसको पछिल्लो उदाहरण श्रीलंकाको आर्थिक संकट हो । वास्तवमा हाम्रो देश नेपालको राजनीतिक नेतृत्व पनि अपारदर्शी छन् । राजनीतिक नेतृत्व देश र जनताप्रति अनुत्तरदायी भएको देखिन्छन् । समकालीन राजनीतिको अपारदर्शिता र देश प्रतिको लापरबाही प्रवृत्ति श्रीलंकामा भन्दा हामीकहाँ बढी रहेको देखिन्छ । ठूला राजनीतिक दलहरू अपारदर्शी रूपमा एकआपसमा साँठगाँठ गर्ने, अपारदर्शी ढंगले कानूनहरु निर्माण गर्ने, भ्रष्टाचार र अनियमिततामा संलग्न हुने, देश र जनताप्रति उत्तरदायी नहुने र अस्थिर परराष्ट्र नितिको कारणले नेपालमा पनि एकदिन भयावह परिणाम आउन सक्ने अनुमान गर्न सकिन्छ । शान्ति स्थापना र लोकतन्त्रका लागि योगदान गरेको भन्ने नाममा ठूला दलका ठूला नेताहरूलाई क्षमा गरि महान मान्दा श्रीलंकाको जस्तै परिस्थिति आउन पनि सक्ने देखिन्छ । यसतर्फ नागरिकले बेलैमा सचेत हुनु आवश्यक छ । जनताको असन्तुष्टिहरु बेलैमा सम्वोधन हुन सकेन भने अन्त्यमा विद्रोह हुन सक्छ । र, विद्रोहले संकट ल्याउन सक्छ ।

    सरकारले समाजमा ध्रुवीकरण ल्याउने होईन, सबैलाई मिलाएर लैजान सक्नु पर्छ । राजनीतिक नेतृत्वले परिवारवादलाइ प्रोद्साहन गर्दा श्रीलंकाको जस्तो अवस्था सृजना हुन सक्छ । मुलुकलाई शक्तिशाली बनाउने तर्फ ध्यान नदिई देखावटी राष्ट्रवाद प्रदर्शन गरि देश र जनताको हित विपरीत कार्यमा सरकार केन्द्रित भैरहेमा श्रीलंकाको जस्तै परिस्थिति नआउला भन्न सकिदैन । अर्थशास्त्रीहरूका अनुसार पछिल्लो ४ दशकमा श्रीलंकाको अर्थतन्त्र यो भन्दा खराब भएको छैन । दक्षिण एसियाली देशहरूको तुलनामा अहिले श्रीलंकाको अर्थतन्त्र सबैभन्दा खराब अवस्थामा पुगेको छ । भविष्यमा उत्पन्न हुन सक्ने खराब अवस्थालाई समयमै याद नगर्ने र विप्रेषणकै भरमा अर्थतन्त्र टिकाउन खोज्ने नेपालको नियति पनि श्रीलंकाको जस्तै नहोला भन्न सकिन्न । श्रीलंकाको वर्तमान अवस्थाबाट ज्ञान लिएर नेपालले आफ्नो भविष्यको निम्ति केही निति र कार्यक्रमहरु बनाउनु जरुरी छ ।
    (साभारः आइतबार प्रकाशित ‘त्रिशूली खबर’ साप्ताहिकबाट)

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया