शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • हराउँदै गएका अनुहारहरुको सम्झना–१

    समिकरण २०७९, १३ भाद्र सोमबार १३:५७ पढ्न लाग्ने समय 4 मिनेट

    फूर्पा तमाङ

    मानिस सृष्टिको सबैभन्दा उत्कृष्ट रचना मानिन्छ । र त उसको जन्मसंग खुशी जोडिन्छ । मृत्युसंग दुःखी । विवाह भएको वर्षौंसम्म सन्तान नजन्मिदा पनि दुःखी हुन्छन् । विवाहित महिला गर्भवती हुनासाथ परिवारमा खुशी छाउँछ । शिसु जन्मेपछि हर्षविभोर हुन्छन् । तर, मृत्युमा त्यस्तो हुन्न । सबैजना दुःखी हुन्छन् । किनकि मृत्यु जीवनको अन्तिम बिन्दु हो । यसरी जन्मबाट शुरु भई मृत्युमा टुंगिन्छ मानव जीवन । एकप्रकारको जीवन यात्रा ।
    जन्म र मृत्युको नियम सृष्टिका सबै प्राणीहरुमा लागू हुन्छ । वनस्पतिमा समेत यो नियम लागू हुन्छ । मृत्यु पश्चात संधैका लागि यो संसारबाट विदा हुने भएकाले बाँचुन्जेल उसले गरेका व्यवहारबाट नै उसलाई सम्झिरहने हुन्छ । तसर्थ भनिन्छ, जीवित हुँदा जहिल्यै असल कर्म गर्नु पर्छ । मृत्यु पश्चात पनि उसलाई सम्झिने हुन्छ । मेरा गाउँका सम्झिरहने केही अनुहारहरु अवश्य छन् । म ती अनुहारहरुको बारेमा क्रमशः लेख्दै जानेछु ।

    (क) हजुरबुबा कल्साङ तमाङः
    हजुरबुबा कल्साङ तमाङ आमाको साख्खै मामा हुनुहुन्थ्यो । हामी उहाँलाई लाहुरे बाजे पनि भन्थ्यौं । कारण उहाँ पहिलो र दोस्रो विश्वयुद्धमा सेनामा भर्ती भएको रहेछ । गाउँमा विदेशी सेनामा जागिर खाने र मुग्लान पस्नेलाई ‘लाखुरे’ अर्थात ‘लाहुरे’ भनिन्थ्यो । हाम्रो आमालाई असाध्यै माया गर्नुहुन्थ्यो । आमालाई सघाउन भनी उहाँ सानो भार्खुदेखि आउनुहुन्थ्यो ।
    कहिलेकाहीं आमाबाबु धुन्चे र स्याफ्रुमा घेवा र विवाहमा जानु हुन्थ्यो । हुजुरबुबा घर कुरुवाको लागि आउनुहुन्थ्यो । मामाले भान्जीलाई गरेको उहाँको माया देखेर अहिले पनि सम्मान गर्न मन लाग्छ । कति धेरै मिल्न सकेका मामाभान्जी । अहिले उहाँको अनुहारको उति सम्झना छैन । तर हृदयबाट उहाँलाई मेटाउन भने सकिरहेको छैन । हजुरबाको छोरा थिएन । उहाँकी एक मात्र छोरी छन् छिरिङ ग्याल्मो तमाङ हुन् ।

    (ख) काका कल्साङ तमाङः
    सानो छँदाको कुरा हो । हामी कहिले घरमा कहिले गोठमा बस्थ्यौं । गोठ बस्दा एउटै खर्कमा कहिलेकाँही धेरै गोठहरु हुन्थे । म यस्तै ५–६ वर्षको थिएँ होला । हाम्रो गोठ पना भन्ने बारीमा थियो । यो बारी गाउँदेखि तल मुनि पर्दछ । गाउँको किबुगङ् टोलका काका पर्ने कल्साङ तमाङको गोठ र हाम्रो गोठ नजकि थियो । यस्तै ३–४ कान्लाको तलमाथि । हिउँद महिना थियो । बेस्सरी हिउँ परेको थियो ।सायद माघ महिना हुनुपर्छ । धेरै दिनसम्म हिउँ पग्लिएको थिएन । सानोभार्खुमा फागुन चोङ्ङाको छेजु पूजा थियो । छेजुमा ठूलो भार्खु र सानो भार्खु दुवै गाउँका मानिसहरु अनिवार्य भेला हुनु पथ्र्यो । रातभरि लामाले पूजा गर्ने र लामासंगै महिला पुरुषहरु म्हनी (मन्त्र) धार्मिक गीत गाएर नाच्छन् । आँगनमा दाउरा बालेर कोही ताप्छन् ।
    साँझ गोठमा गाईवस्तु बाँधेपछि हामीहरुका बाबुआमा र काका कल्साङ सानो भार्खु जानुभयो । काका बुबाभन्दा जेठो हुनुहुन्थ्यो । बुबा र आमाले कपडाको जुत्ता लगाउनुभयो । काकाको जुत्ता छालाको थियो ।
    उहाँले आफ्नो जुत्ता क्षुगुको पोल्टामा राख्नुभयो । अनि भन्नुभयो–“म्हनी नाच्दा लाउनु पर्छ । उध्रियो भने सिलाउने सार्की छैन ।” कारण जुत्ता छिटो फाट्ने डरले जतन गर्नुभएको रहेछ । उहाँ आफ्नो लुगाफाटा अति जतन गरेर लगाउनुहुन्थ्यो ।
    ऊ बेला जुत्ता र कपडा पाउन मुश्किल हुन्थ्यो । कपडा धेरै त भेडाका ऊनबाट बुनेर बनाइन्थ्यो । तर जुत्ता पाउन कठिन । धेरैले जुत्ता लाउन पाएका हुँदैनथ्यो । कपडाको जुत्ता दुईथरी हुन्थे । एउटा नेपालमा बनेको जसलाई नेपाली जुत्ता(नेपाली लकम्) भनिन्थ्यो । अर्को तिब्बतको केरुङबाट ल्याउने चिनियाँ जुत्ता जसलाई ग्यामी लकम् भनिन्थ्यो । टिकाउको हिसाबले चिनियाँ बलियो र महँगो । छालाको जुत्तालाई सर्की लकम् भनिन्थ्यो तमाङ भाषामा ।
    काका कल्साङ गोठमा सफासुग्घरले बस्नुहुन्थ्यो । खर्चालु हुनुहुन्नथ्यो । फुर्सद भयो कि म्हनी मन्त्रका गीतहरु गाउनुहुन्थ्यो । उहाँ कहिले सुसेलीमा त कहिले आवाज निकालेर लय हालेर गाउनुहुन्थ्यो । कहिलेकाँही ‘छेर्लु’ गीत गाउनु हुन्थ्यो । म ९–१० वर्षको थिएँ होला । फेरि हाम्रो र उहाँको गोठ संगसंगै भयो । थम्म्राङ र म्हङजङ् भन्ने दुई स्थानमा । गाईवस्तुलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँको आवाज सुनेपछि गाईवस्तु उहाँसंग झुम्मिन आउँथे । उहाँले दाम्लो नफुकाएसम्म गाईवस्तु अबेर भए पनि किलाबाट फुत्किन खोज्दैनथे । केटाकेटीहरुलाई निकै माया गर्नुहुन्थ्यो । गोठालो जाँदा कसैले जंगली च्याउ, निहुरो, जंगली सागपात ल्याए बाँडेर खाइन्थ्यो । जसको गोठमा नयाँ र मीठो खानेकुरा पाक्यो भने बाँडेर खाइन्थ्यो । कसैलाई जरुरी पर्यो भने उसको गाईवस्तु फुकाएर जंगल चराउन लैजाने गरिन्थ्यो । यसरी सकेका काम एकले अर्कोलाई सघाउने चलन थियो ।
    काका कल्साङका जेठो छोरा ज्याङ्जु र कान्छो छोरा तेम्बा तमाङ हुन् । जेठो छोरा हामी सानो छँदै भारततिर जानुभएको थियो । कहिलेकाँही भारत गएका छोराको याद आउँछ भन्नुहुन्थ्यो । सायद सन्तानको माया भनेकै यही हुनुपर्छ ।

    रिन्जेन सिंगी तमाङ(बीचमा)

    (ग)जेठाबा ङिमा गोम्बो र जेठीआमा छिरिङ म्हेन्दोः
    हामी उहाँको दम्पतिलाई जेठाबुबा र जेठीआमा (अप्थेबा र अम्थेबा) भन्थ्यौं । कारण उहाँहरु दुवैजना हामीहरुका बुबाआमाभन्दा जेठो हुनुहुन्थ्यो । एउटै हजुरबुबाका सन्तान नभए पनि अप्थेबा ङिमा गोम्बो थोक्र वंशको हुनुभएकोले जेठाबुबा भनिएको हो । उहाँकी श्रीमती भने बोङ्जो घले वंशकी हुन् ।
    गाउँमा प्रायको गोठ हुने गर्थ्यो । हुनेखानेका चौंरी गोठ, भेडीगोठ, याक गोठ र गाईगोठ हुन्थे । धेरैका गाई गोठ हुन्थ्यो नै । ङिमा गोम्बो दम्पतिको गाईगोठ थियो । उहाँहरुले सम्पूर्ण जीवन गोठमा बिताउनुभयो । निसन्तान दुवैजना खुब मिल्थे । गाउँका केटाकेटीलाई आप्नै सन्तान झैं ठान्थे । गोठमा बोलाएर दूध, दही, कुराउनी, आदि दिन्थे ।
    धेरैपटक हाम्रो र उहाँहरुको गोठ संगै भएको थियो । कहिलेकाहीं एउटै गोठमा गाईवस्तु मिसाएर साझा गोठ पनि बस्यौं । जाडो महिनामा वेंशीको गोम ओडारमा गोठ लैजाने गरिन्थ्यो । अप्थेबा ङिमा गोम्बोले मलाई चोयाबाट डोको बुन्न सिकाउनुभएको थियो । हामीले खान्न भन्यौं भने अम्थेबा छिरिङ म्हेन्दोले मायाले गाली गरेर हुन्छ कि फकाएर हुन्छ खाना खाजाहरु दिनुहुन्थ्यो । अप्थेबाले गाई चराउँदा र राती गोठमा सुत्नु अघि कथाहरु सुनाउनुहुन्थ्यो । अम्थेबा ठूलो स्वरले चिच्याएर बोल्नुहुन्थ्यो । अप्थेबाले केटाकेटीलाई फकाएर मसिनो स्वरमा बोल्नुपर्छ भनेर बूढीलाई भन्नुहुन्थ्यो । अर्काका छोराछोरीहरुलाई निस्वार्थ माया गर्ने यी बूढाबूढीको याद जीवनभरि आइरहनेछ ।

    (घ) बाजे रिन्जेनसिंगी तमाङः
    रिन्जेन सिंगी तमाङलाई म बाजे भन्थें । उहाँसंग धेरैपटक संगै गोठ बसियो । प्रायजसो उहाँसंग हिउँद र वर्षातमा गोठ संगै हुन्थ्यो । ‘रैऊ’ भन्ने ओडारमा पहिलोपटक हिउँदमा संगै गोठ बसेको थिएँ । त्यसपछि फङ्गोदी, गुम्बेगु, ङ्युज्जा, डिम्सा र पङ्लिङ लेकमा पनि संगै बसियो ।
    पछिल्लोपटक उहाँसंग गोठ बस्दा मैले एसएलसी उत्तीर्ण गरेको थिएँ । यो २०४७ सालको कुरा हो । उहाँ निकै बलियो हुनुहुन्थ्यो । दाउरा सकियो भने उहाँले सुकेको रुखै काँधमा बोकेर ल्याउनुहुन्थ्यो । गाईवस्तुले दूध दिएन भने उचालेर भूईंकम लडाई दूध दुहुने तागत उहाँमा थियो । बाजे तपाई धेरै बलियो हुनुहुन्छ हगि ? भनेर सोध्दा उहाँ भन्नुहुन्थ्यो–“म के बलियो? मेरो बुबा झन् बलियो हुनुहुन्थ्यो ।”
    उहाँको बुबाले केरुङबाट २० पाथी नुन बोकेर आउँदाभारी बोक्ने भरिया साथीहरुसंग बाजी परेछ । जसले भारी बोकेर दिसा गर्न सक्छ उसले बाजी मार्छ भन्ने शर्त राखेछन् । उहाँको बुबाले भारी बोकेरै दिसा गर्न सक्नुभएछ । अरु कसैले सकेनन् । यसरी बाजी जितेको थियो रे !
    उहाँलाई रक्सी र चुरोट कोसेली दिँदा खुब मन पराउनुहुन्थ्यो । कहिलेकाहीं राती सुतेपछि विरहका गीत ‘छेर्लु’ गाएर रुनुहुन्थ्यो । बाजे किन रुनुभएको ? भनी सोध्दा बुढीको खुब याद आउँछ भन्नुहुन्थ्यो । श्रीमती छिटो बितेकीले उहाँ एक्लै गोठमा बस्नुहुन्थ्यो । एकल पुरुषको जिन्दगी पनि कठिनै हुँदो रहेछ ।
    मलाई निकै माया गर्नुहुन्थ्यो । निगालोको टुसा, जंगली च्याउ खोजेर ल्याउनुहुन्थ्यो । चोयाबाट डोको र काठको डाडु (गु) बनाउन सिकाउनुहुन्थ्यो । मलाई भन्नुहुन्थ्यो–“नाति जाऊ तिमी घर । कहिलेकाँही आऊ । बाजेलाई कोसेली ल्याऊ । गोठ म सम्हाल्छु ।” मलाई यी शव्दहरुको याद आईरहन्छ ।
    म २०४८ सालको अन्त्यतिरउच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएँ । यो बीचमा उहाँ प्यारालाइसिसको बिरामी हुनुभएछ । फूर्पा नाति खोइ ? भनेर मर्नुअघिसम्म मलाई खोज्नुभयो रे । मैले अन्तिम घडीमा उहाँलाई देख्न पाइनँ । यो खबर सुनेपछि मलाई अहिले पनि दुःख लागिरहन्छ र उहाँको सम्झना झन् पो आईरहन्छ ।
    उहाँका दुई छोराहरुमा जेठो दावा तमाङ र कान्छो मामी तमाङ हुन् ।

    –ठूलो भार्खु, रसुवा_ phurpatamang1971@gmail.com , (साभारः आइतबार प्रकाशित ‘त्रिशूली खबर’ साप्ताहिकबाट)

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया