शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • हराउँदै गएका अनुहारहरुको सम्झना–२

    समिकरण २०७९, २४ भाद्र शुक्रबार ११:४९ पढ्न लाग्ने समय 4 मिनेट

    फुर्पा तमाङ

    दाजु तेम्पा सिंगी बित्दा बेस्सरी रोएको थिएँ । कुरा २०५७ सालजेठ ९ गतेको हो । म स्याफ्रुबेंसीबाट गाउँ आउँदै थिएँ । घर आउने बाटो ससुराली घर सानो भार्खु चौतर हुँदै आउनु पर्ने हुन्थ्यो । साँझ पर्न लागेको थियो । सासु ससुराले आज यतै बस्नु छोरी पनि यतै आएकी छे भन्नुभयो । मैले हवस् भनेँ । सासूले आँखामा आँसु टिल्पिल गर्दै गाउँमा ज्वाईं तेम्पा सिंगी बित्नुभएछ भन्नुभयो । यति सुन्नासाथ म त छाँगोबाट खसे जस्तो भएँ । आँसु बरर आईरह्यो । कारण उहाँ सानोमा हाम्रो घरमा हुर्केको मलाई थाहा थियो । उहाँको नाम तेम्पा सिंगी भए पनि प्रेमपूर्वक हामी उहाँलाई बोलाउँदा ‘म्हानी अज्यो’ भन्थ्यौं । हामी एउटै घरको सदस्य जस्तो ठान्थ्यौं । मलाई लाग्छ शायद बुबा र बहिनी चेङसाङमोको मृत्युपछि मैले उहाँको मृत्यु खबर सुन्दा धेरै रोएको थिएँ । कैयौं दिन रोएर बित्यो । वर्षौं उहाँको सम्झनाले नरमाइलो लागि रह्यो । यसो हुनुमा बालपनमा उहाँ हाम्रो घरमा हुर्किनु र उहाँको मृत्युअघिसम्म उहाँ र हाम्रो परिवारबीच घुलमिल भइरहनुले नै हो । नाताले उहाँ दाजु पर्नुहुन्छ । उहाँको बाबुको नाम छोवाङ ङिमा र आमाको नाम दिकिसाङमो हुन् । हामीहरु र उहाँका बाजेहरु केही पुस्ता अघि एउटै घरका दाजुभाइहरु थिए रे । एउटै वंश र कुलको भएको हुनाले उहाँको बाबु भारततिर लागेपछि र आमाले अरुसंग विवाह गर्नुभएपछि हामीहरुका बाबुआमाले उहाँ र उहाँकी बहिनी दावा किप्पा नाबालक भएकाले हेरचाह गर्नु भएको कुरा बताउनुहुन्थ्यो ।

    उहिले गाउँघरमा मानिसहरु खेतीपाती र पशुपालन गर्थे । लेकमा गएर जडीबुटी संकलन गरी ल्याउँथे । त्रिशूली र काठमाडौंमा लगेर बेच्थे । जडीबुटी खोज्न तिब्बतको केरुङ आसपासका लेकहरु लेन्दी, च्याङ,जोङ्खा सम्म पुग्थे । कोही साहूको भारी बोकेर ज्याला थाप्थे । त्रिशूलीदेखी केरुङसम्म चामल, चिउरा, खुर्सानी, तामाका भाँडाकुँडा आदि बोकेर जानु पर्थ्यो । उताबाट नुन, भेडाका ऊन, च्याङ्राको छाला, थर्मस, सेरामिक सामान, कम्बलआदि बोकेर ल्याउनु पथ्र्यो । गाउँमा आम्दानीको स्रोत नभएपछि मानिसहरु बर्मा जाने(बर्मी ङिबा⁄देसी ङिबा) भनेर भारततिर जाने चलन थियो । मानिसहरु भारततिर काम गर्न जान्थे र कमाएपछि गाउँ फर्कन्थे । उहाँका बाबु छोवाङ ङिमा पनि यसैगरी जानुभएको रहेछ । उहाँको बाबु भारत जानु भएपछि लामो समयसम्म फर्की नआउनु भएकोले आमा दिकि साङ्मोले गाउँकै फुर्पु तेन्जीनसंग दोस्रो विवाह गर्नुभयो । त्यसपछि घरमा हजुरआमा छिरिङ शेर्पा र दुई दाजुबहिनी मात्रै भएछन् । घरमा बूढी हजुरआमा । घरव्यवाहार चलाउन सजिलो हुने कुरै भएन । तेम्पासिंगी दाजु र उहाँकी बहिनी प्रायःहाम्रै घरमा हुर्किनु भयो रे । एकदिन हामीहरुका बाबु र आमाले सल्लाह गर्नुभएछ । तेम्पा सिंगीको अब विवाह गरिदिनु पर्छ । बाबु र आमाले तेप्पा सिंगी दाईलाई सोध्नु भएछ । हेर भतिजो, तिम्रो विवाह गर्ने बेला भयो । घर व्यवहार चलाउनु पर्छ । को विवाह गर्छौ ? तिमीलाई मन पर्छ भने सानो भार्खुको दावा याङजेन विवाह गर । तेम्पा सिंगी दाजुले भन्नुभएछ–‘हुन्छ काका–काकी । म विवाह गर्छु ।’ दावा याङजेन दिदी आमाको कान्छो मामा मिन्ग्युर तमाङकी कान्छी छोरी हुन् । उनी आमालाई काममा सघाउन हाम्रो घरमा आइरहन्थिन् । फागुन महिनाजस्तो लाग्छ । हाम्रो गोठ सतर भन्ने बारीमा थियो । साँझ छिप्पिँदै थियो । गोठमा आमा, जेठी दिदी पासाङ बुट्टी, कान्छी दिदी किप्पा याङजेन, दाजु ल्हाक्पा, दावा याङजेन दिदी र म थियौं । म यस्तै ५–६ वर्षको थिएँ होला । गाईवस्तु किलामा बाँधिसकेको थियो । आमा खाना पकाउँदै हुनुहुन्थ्यो । दिदीहरु खासखुस् गरिरहेको देखिन्थे । दिदीहरुले दावा याङजेन दिदीलाई बेलाबेलामा तपाईं अब हाम्रो भाउजु हगि ? (रङ् दरम् ङीयी चङ्) भनेर जिस्काउनु हुन्थ्यो । दावा याङजेन दिदी चाहिं लजाएर भन्नु हुन्थ्यो–‘चुप लाग् केटी हो । मतिमीहरुको भाउजु होइन । दिदी भन ।’ ऊबेला गाउँमा मागी विवाह, भागी विवाह र तानी विवाह हुने गथ्र्यो । साँझ झन् छिप्पिँदै गयो । सबैतिर अँध्यारो देखिन थाल्यो । गाउँमा बिजुली बत्ती आएको थिएन । हातमा कसैले घडी बाँधेको थिएन । अन्दाजमा समय गन्ति गरिन्थ्यो । हामी ओछ्यानमा पल्टिसकेका थियौं । गोठ बाहिर कोही आएजस्तो आवाज सुनियो । बुबासंगै गाउँका केही मानिसहरु आएका रहेछन् । कोही गोठ बाहिर बसेका थिए । दुई चारजना युवाहरु गोठभित्र आए । उनीहरुले दावा याङजेन दिदीलाई उचालेर गोठ बाहिर बोकेर लगे । उनी मलाई छोडिदेऊ भनेर चिच्याउन थालिन् । त्यहींनेर केहीले भन्दै थिए –‘हामी तिमीलाई तेम्पा सिंगीसंग विवाह गराईदिन लिन आएका हौं । अब तिमी त हाम्रो बुहारी भयौ । नरोऊ । केटा राम्रो छ । तिमीलाई माया गर्छ । घर गरेर खाऊ ।’ म र दाजु ट्वाल्ल परेर हेरिरहेका थियौं । ती मानिसहरुले दावा याङजेन दिदीलाई तानेर लगे । म र दाजुले दावा याङजेन दिदीलाई किन तानेर लगेको ? भनेर सोधिरहेका थियौं । आमा र दिदीहरुले भन्नुभयो–“अब दिदी नभन्नू । भाउजू भन्नु पर्छ । उनी आजदेखि तेम्पा सिंगी दाजुको बूढीभइन् ।” दाइले विवाह गर्ने केटीलाई भाउजु भन्नु पर्छ । आमाले सिकाउनुभयो । मैले जीवन पहिलो पटक भाउजू भन्नु पर्ने कुरा थाहा पाएको थिएँ । अनि ‘तानी विवाह’को पहिलो पटक साक्षी भएको थिएँ । विवाह पश्चात तेम्पा सिंगी दाजु बाबु र आमा दुवैबाट झन् नजिकको नाता पर्नुभयो । बुबा र आमाले घर व्यवहार चलाउन आइपर्ने समस्याहरु हल गर्न सहयोग गर्नुहुन्थ्यो । उहाँको जोडीले घरको काममा सघाउनु हुन्थ्यो । बाबु र आमाले उहाँहरु दुईजनालाई घरको जेठो छोरा र बूहारीको रुपमा हेर्नुहुन्थ्यो । वर्षेनी लाग्ने गोसाइकुण्ड मेलामा दाजु र भाउजू दुवैजना लौरीविना उकालोमा पर्ने बेल्तेम्च्ये भन्ने स्थानमा अस्थायी पसल(थर्पु) राख्नु हुन्थ्यो । पसलको सामान किन्न पैसा लगानी गरिदिनु हुन्थ्यो । यसैगरी गाउँमा सडक आउनुअघि म्हानीगङमा चिया, नास्ता ख्वाउने र किराना पसल संचालनको लागि पनि बाबुआमाले पैसा लगानी गरिदिनु भएको थियो । २०५० सालतिर उहाँले ठूलो भार्खुको स्कुलमुनि सडकछेउमा चिया नास्ता ख्वाउने पसल संचालन गर्नुभएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यतिर स्याफ्रु गाउँ पञ्चायत वडा नं. ५ ठूलो भार्खु गाउँको वडा अध्यक्षको पदमा चुनाव जित्नुभएको थियो । उहाँ साधारण लेखपढ गर्न सक्नु हुन्थ्यो । गाउँघरको सामुहिक र सामाजिक काममा खटेर काम गर्नुहुन्थ्यो । गीत गाउन र नाच्न सिपालु हुनुहुन्थ्यो । एउटा खराब पक्ष भनेको कहिलेकाहीं रक्सी खाएपछि कराउनु हुन्थ्यो । घरपरिवारको चिन्ता गरेर रुनु हुन्थ्यो । किन चिन्ता गर्नुहुन्छ भनेर सोध्दा छोराछोरी धेरै भए । सानै छन् । पढाउन हुर्काउन सजिलो छैन । पढाउन नसके छोराछोरीले दुःख पाउलान् भनेर चिन्ता लाग्छ भन्नुहुन्थ्यो । अन्ततःरक्सी खाएकै निहूँले अचानक उहाँ बिरामी हुनुभयो । २–३ दिनको बिरामीबाटै ४६ वर्षको कलिलो उमेरमा उहाँको मृत्यु भयो । उहाँको मृत्युमा नरुने गाउँका मानिसहरु शायदै थिएनन् । सबैसंग हँसिलो भै कुराकानी गर्ने उहाँको बानी थियो । वंशानुगत बानी सर्छ अर्थात तमाङ भाषामा सि खबा÷खोर्बा भने झैं हो कि भन्ने पनि लाग्छ । उहाँको बाबु धेरै वर्ष पश्चात भारतबाट एक्कासी गाउँ आउनुभएको थियो । घरमा श्रीमती नदेखेपछि कहाँ गइन् भनेर सोध्नुभएछ । घरका मानिसहरुले तिम्रो वर्षौंसम्म अत्तो पत्तो भएन । अरुले विवाह गरेर लगे नि भनेछन् । कसले लग्यो ? भनेर सोध्नु भएछ । गाउँकै फुर्पु तेन्जीनले भन्ने जवाफ आएपछि हातमा तरबार बोकेर म ती दुवैजनालाई काट्छु भनेर कराउँदै कुदेको दृश्य देखेको थिएँ । मानिसहरुले तरबार खोसेको थियो । रक्सी खाएर हो वा के भएर हो भारतबाट आएको केही दिनपछि उहाँ बेस्सरी बिरामी हुनुभएको थियो । ऊबेला गाउँमा डाक्टर र औषधि थिएन । काका छोवाङ ङिमाको त्यसरी मृत्यु भएको थियो । मृत्यु शास्वत हो । तर पनि दाजु तेम्पा सिंगीको मृत्यु अलि चाँडै भयो । यतिखेरसम्म बाँचेको भए उहाँमा खुसी अवश्य थपिन्थ्यो । श्रीमती दावा याङजेनले घर सम्हालेकी छिन् । जेठी छोरी कामिनी र ज्वाईंले धुन्चेमा एभरेष्ट होटल एण्ड लज संचालन गरेका छन् । कान्छी छोरी बुट्टी,जेठो छोरा दमै र माहिलो गोम्बोको घरजम भएर नाति नातिनीहरु पाएका छन् । कान्छो छोरो सन्डुप रसुवागढी हाइड्रो पावर आयोजनामा जागिरे छन् । साहिँलो छोरा बीरु जो सानैदेखि बिरामी थियो ।

    २०७९।५।१७ –ठूलो भार्खु रसुवा साभार ः त्रिशूली खबर साप्ताहिक

    #फिचर

    फेसबुक प्रतिक्रिया