शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • हराउँदै गएका अनुहारहरुको सम्झना–३

    समिकरण २०७९, १ आश्विन शनिबार १६:२० पढ्न लाग्ने समय 4 मिनेट


    फुर्पा तमाङ
    गाउँघरबाट अब बृद्धहरुको अनुहारहरु प्रायः हाराई सकेका छन् । केही मात्र जीवित छन् । गाउँमा जाँदा आफूले सानैदेखि देख्दै आएका अनुहारहरु क्रमशः हराउँदै गएको देख्दा मनमा उराठ लागेर आउँछ । जो जीवित छन् ती अनुहारहरु पनि अस्ताउँदो घाम जस्तो अवस्थामा देखिन्छन् । उमेरले पाका नहुँदै मृत्युलोकको यात्रामा पुगी सदाका लागि विदा हुनेहरुको अनुहार सम्झिदा मन झनै पो अमिलो हुन्छ । तर के गर्नु ? प्रत्येकले यो संसार एकदिन छाडेर जानै पर्ने प्राकृतिक नियम छ ।
    कोही त स्कुलमा पढ्दै गरेका केटाकेटीहरुले संसारबाट बिदा भएको दृश्यले दुखित बनाउँछ । कोही युवा अवस्थामै बित्छन् । के त्यस्तो दृश्यले बाँच्नेहरुको मन नरुवालान् त ? वास्तवमा यो निश्चय नै हृदय चुंडिने बियोगान्त नै हो ।
    ङिमा डोल्मा तमाङ । आमाको कान्छो मामा मिन्ग्युर तमाङकी जेठी छोरी । उहाँका माइली दावा याङजेन र कान्छी छोरी लाटी । प्रष्ट बोली नफुट्ने भएकीले गाउँमा लाटी भनेर बोलाउँछन् । हजुरबा मिन्ग्युरको एकमात्र छोरा दावा दर्के तमाङ बितेको २–३ वर्ष भयो होला । उहाँको श्रीमती बितेको मलाई सम्झना छैन । म निकै सानो हुनुपर्छ । उहाँ हजुरबा बितेको यस्तै डेढ दशकजति भयो होला । गाउँघरबाट कोही आफन्त त कोही गाउँलेहरुको अनुहार हराउँदै गइरहेका छन् । संसारिक जीवनबाट विदा हुँदै गइरहेका छन् । जन्मदा सूर्य उदाए झैं खुशी हुने मनहरु मृत्युमा पुग्दा औंसीको रात जस्तै स्तव्ध हुन्छन् । यही दृश्य हेर्दै मानिसहरु आफैं जिन्दगीको साक्षी बनेका छन् ।
    यसपाली गाउँबाट काकी ङिमडोल्मा संधैका लागि बिदाई भएका छन् । उमेर मुश्किलले ६ दशक पार गरेको होला । निश्चय नै यो मृत्यु अलि चाँडै भएको हो । यसकारण पनि उहाँको मृत्युमा दुखी हुनु अस्वभाविक होइन ।
    हामी सानो छँदा उहाँ हाम्रो घरमा प्राय आइरहनुहुन्थ्यो । त्यतिबेला गाउँमा सडक थिएन । पल्लो गाउँ सानो भार्खुको तजे टोलबाट हिंडेर आउनु पथ्र्यो । हामीहरुका पिताजी सामाजिक सेवाका कामहरु गर्नुहुन्थ्यो । यसैले गाउँबाट टाढा जानु पर्दा कहिले ङिमडोल्मा दिदी त कहिले उहाँकी माहिली बहिनी दावा याङजेन घरमा आउनुहुन्थ्यो । आमासंग नजिकको नाता भएर होला आमालाई घरको काममा सघाउनुहुन्थ्यो । सानोमा हामीले थाहा पाएको यति हो ।
    गाउँकै काका सम्बा दिन्डुप तमाङको श्रीमती बितेपछि बुबा र आमाले उहाँलाई काका सम्बा दिन्डुपसंग विवाह गराई दिनुभयो । त्यसपछि साइनोले उहाँ काकी पर्नुभयो । विवाह पछि पनि हामीले उहाँलाई धेरै वर्षसम्म दिदी भनेर बोलाउने गथ्र्यौं । दिदीबाट काकी भनेर संवोधन गर्न वर्षौं लाग्यो ।
    ङिमडोल्मा काकी पातली जीउढालकी र चिटिक्क परेकी हुनुहुन्थ्यो । काकाभन्दा ८–१० वर्ष कान्छी होला । हामी धेरै पटक गोठमा संगै बसेका थियौं । गोठमा उहाँ, काका सम्बा दिन्डुप, मेरा दिदीहरु पासाङबुट्टी, किप्पा याङजेन र म हुन्थ्यौं । हिउँदमा गोम ओडारमा र वर्षातमा फङ्गोदीमा संगै गोठ बसेका थियौं ।
    काका सम्बा दिन्डुपले काकीलाई औधी माया गर्नुहुन्थ्यो । उमेरमा जेठो कान्छो भए पनि उहाँहरुका पति पत्नीको मायाप्रेममा बराबरी थियो । काका हुलाकी जागिरे हुनुहुन्थ्यो । बिहान खाना खाएर हुलाकी झोलामा चिठ्ठिपत्र बोकेर सदरमुकाम धुन्चे जानुहुन्थ्यो । साँझ हुलाकी झोला बोकेर फर्किनुहुन्थ्यो । काकी भने गाई चराउँदै ऊनबाट सुइटर, टोपी, गलबन्दी, गन्जी, मोजा, पन्जा बुन्नुहुन्थ्यो । उहाँलाई ऊनबाट पटुका र बऊ पन बुन्न आउँथ्यो ।
    ठूलो भार्खु गाउँमा चिया पसल खोल्ने उहाँहरुको दम्पति सायद दोस्रो हुनुपर्छ । उहाँहरु भन्दा अघि गाउँकै लामानुर्पु दाजुको दम्पति र सानो भार्खु गाउँको थर्चेन दम्पतिले साझेदारीमा ठूलो भार्खुको मामा तेन्जवाङदीको घरमा चिया पसल खोलेको देखेको थिएँ । तर त्यो पसल धेरै वर्ष चलेन । बन्द भयो ।
    शुरुमा उहाँहरुले गाउँको मुनि म्हानीगङ टोलमा आफ्नै घरमा चिया पसल खोल्नुभयो । त्यो पसल उहिले केरुङ आउजाउ गर्ने मूल गोरेटो हो । केरुङदेखि आएका र काठमाडौं देखि केरुङ जान र स्याफ्रुवेशी देखि माथिल्लो क्षेत्रमा जाने त्यो निकै चल्तिको बाटो हो । यसकारण मानिसहरु म्हानीगङ टोलमा आउजाउ भइरहन्थ्यो ।
    उहाँको पसलमा चिया र बिस्कुट खान पाउँदा हामी दंग हुन्थ्यौं । कहिलेकाहीं पाउरोटी,मेगी र रारा चाउचाउ खान्थ्यौं । हाम्रा लागि ती नयाँ स्वादका खाना थियो । बुबाआमासंग जाँदा पैसा लिए पनि कहिलेकाहीं उहाँले हामीलाई पैसा नलिई चक्लेट, चुइगम, बिस्कुट र चिया दिनुहुन्थ्यो । केटाकेटीलाई माया गर्नुहुन्थ्यो । उहाँ मनकी धनी हुनुहुन्थ्यो । अरुलाई ख्वाउन पाउँदा उहाँ खुशी हुन्थ्यो । यसै कुरामा उहाँ र काकाबीच कहिलेकाँहीं ठाकठुक हुने गरेको थिएँ ।
    २०३९ सालको हिउँदमा गाउँमा सोमदाङ सडक खन्न शुरु भयो । म कक्षा ३ उत्तीर्ण भएर ४ मा पुगेको थिएँ । सडक खन्न थालेपछि उहिलदेखि प्रयोग गर्दै आएको त्यो गोरेटो बाटोबाट मानिसहरु आउजाउ नहुने भयो । त्यसपछि उहाँहरुले पसललाई गाउँको मध्यभागमा रहेको परङगङ टोलमा रहेको काका तेम्बादर्केको घरमा सार्नुभयो ।
    सडक खन्ने ठेकेदार, कुल्ली र पर्यटकहरुका लागि लक्षित गरेर याक होटल एण्ड लज खोल्नुभयो । अब पसलको साथै लज खुल्यो । यो नै गाउँको पहिलो लज थियो । पसल र होटल दुवै खुब चल्यो । २०४०–२०४५ को अवधिमा गाउँमा सबैभन्दा बढी नगद कमाउनेमा उहाँहरु पर्नु भयो ।
    त्यसपछि कच्र्या टोलमा सडकले छोएको घडेरी खरिद गरेर घर बनाउनुभयो । उहाँहरुको घर त्यो बेलासम्म गाउँकै सबैभन्दा ठूलो भयो । तर, घडेरी जग्गाको माटो बगिरहने भएर होला त्यो घर ३ पटक भत्किएर पुनः निर्माण गर्नु पर्ने भयो ।

    फोटो क्याम्पन ः स्व. ङिमडोल्मा तमाङ


    उहाँको दम्पतिको लागि धनलक्ष्मी थुप्रिए पनि सन्तान भने हुन गाह्रो भयो । विवाह गरेको धेरै वर्षसम्म सन्तान नभएपछि कान्छी बहिनी लाटीलाई पनि सौताको रुपमा काकाले ल्याउनु भयो । तर लाटी काकीबाट पनि सन्तान भएन । अन्ततः काकी आफैं गर्भवती हुनुभयो । पहिलो बेतमै छोरा जन्मियो । छोरा जन्मेपछि काका र काकी कति खुसी–खुसी । काकाले छोराको नाम राजकुमार राखिदिनुभयो । काकाले छोरालाई यति धेरै माया गर्नहुन्थ्यो । त्यसपछि लगातर छोरीहरु जन्मिए । काकाको जेठी श्रीमती र जेठी श्रीमतीबाट जन्मिएको छोरा मिङ्मर छिरिङको बाल्यकालमै मृत्यु भएकोले होला श्रीमती र छोराछोरीलाई असाध्यै माया गर्नुभएको ।
    २०५० सालसम्म उहाँहरुको याक होटल एण्ड लज र किराना पसलको व्यवसाय राम्रै चलेको थियो । सडक सम्पन्न भएर काठमाडौदेखि स्याफ्रुवेशीसम्म सीधा बस संचालन भएपछि ठूलो भार्खुगाउँको पसल र होटललजहरु उति चलेन । आम्दानी घट्यो । त्यसपछि उहाँहरु धुन्चेमा आई खाजा नास्ताको पसल संचालन गर्नुभयो । काकाले भने संगसंगै गाउँमा तरकारी खेती गर्नुभयो ।
    केही वर्ष धुन्चेमा पसल चलाएर पुनः गाउँ फर्किनुभयो । काकाले बाख्रा पालन शुरुगर्नुभयो । अहिले बाख्रा पालनबाट काकाले राम्रै आम्दानी गरेको छ । बुढेसकालमा खसी बोका बेचेर घरव्यवहार चलाउन सहज भए पनि ठूलै कुरा पो हो ।
    काकी भने रक्सी र चुरोट खाने बानीले बेलाबेलामा बिरामी हुने गर्थ्यो । यस्तै ३–४ वर्ष अगाडिदेखि काकी बिरामी हुनुभयो । धुन्चे,त्रिशूली र काठमाडौको अस्पतालमा गरेको उपचारले उहाँलाई पूर्ण रुपमा सन्चो भएन । रोगले झन्झन् थलिंदैजानु भयो । अन्ततः काकीले यो वर्षबाट सदाका लागि बिदा लिएर जानुभयो ।
    उहाँको मृत्युले साँच्चिकै काकालाई ठूलो सान्नाटा छाएको छ । काकीको लाशलाई जलाउन लैजानु अघि काकाले मृतक श्रीमतीलाई अँगालो हालेर मुखैमा म्वाईं खाएको दृश्य फेसबुकमा देख्दा पतिपत्नी बीचको असली मायाप्रेम भनेको यस्तो हुँदो रहेछ झल्किन्थ्यो ।
    ङिमडोल्मा काकी मरेर जानुभयो । तर बाल्यकालदेखि देख्दै आएको उहाँको अनुहारको झझल्को भने आइरहँदो रहेछ । हजुरको आत्माले शान्ति मिलोस् । स्वर्गमा बास होस् । अलविदा काकी !
    phurpatamang1971@gmail.com
    (साभारः त्रिशूली खबर साप्ताहिक)

    #फिचर

    फेसबुक प्रतिक्रिया