फुर्पा तमाङ, ठूलो भार्खु, रसुवा
यो तस्वीर स्व.ज्युङ्नी घलेको हो । उनको घर ठूलो भार्खुको नानिनगङ टोलमा रहेको छ । वाङदाङ घले र सार्की घलेका तीनभाइ छोराहरु थिए । जेठो चेङ्ग्याल्बो । माइलो गोन्डा र कान्छो ज्युङ्नी घले । कान्छो छोरा ज्युङ्नी घले उहाँजस्तै अब्बल झाँक्री निस्किए । यो पंक्तिकारले वाङदाङ घले र उनका माइलो छोरा गोन्डा घलेलाई देख्न पाएको थिएन । म सानो छँदै दुवैजनाको मृत्यु भइसकेको रहेछ । ज्युङ्नी घलेकी श्रीमती तेङ्ग्याल्मो घले हुन् । उनी ३ वर्ष अघि बितिन् । एकमात्र छोरा दावा ग्याल्बो अहिले गाउँमै परिवारसंग बस्छन् । उनी पनि झाँक्री नै हुन् । गाउँघरबाट बृद्धबृद्धाहरुको अनुहारहरु हराउँदै गइरहेका छन् ।
गाउँघरमा प्रायः बाबुआमाले गर्दै आएका पुख्र्यौली पेशा, व्यवसाय, सीप गर्न रुचाउँछन् । लामा र झाँक्री शिक्षा पनि बाबुबाट सन्तानले सिकेका हुन्छन् । कम्तिमा एकजनाले बाबुको बिंडो थाम्नु पर्छ भन्ने पनि छ । आफ्नो वंशको कुल देवताको पूजा गर्न ल्हाप्ताबा अर्थात ल्हाबेन आवश्यक हुन्छ । भूतप्रेत मन्साउन बोन्पो चाहिन्छ । ग्रहदशा दूर गर्न कुरिम पूजा गर्न बोन्पो चाहिन्छ । रोग लागेर बिरामी भएमा झाँक्री खोजिन्छ । झाँक्रीले जंगली जडीबुटी खोजेर बिरामीलाई ख्वाउँछन् । यसकारण उहिले गाउँघरमा बोन्पोको महत्व ठूलो रहेको थियो । बोन्पोलाई आदर गरेर बोलाउनु पर्छ । उमेर सानै भए पनि “म्हेमे बोम्बो” भन्नुपर्छ । बोन्पोलाई प्रयोग गर्ने छुट्टै आदरर्थी शब्दहरु हुन्छन् ।
झाँक्रीको काम स्वयम्सेवी नै हो । झाँक्री कार्य गरे बापत शुल्क लिँदैनन् । सेवा निशुल्क गर्नुको पछाडि पितागुरुहरुदेखिको वाचा हो, उनीहरु भन्छन् । रातभरि जाग्राम बसेर ढ्याङ्ग्रो बजाई कुरिम पूजा गरे पनि कुनै दस्तुर लिँदैनन् । ४०–५० को दशकतिरसम्म “कुह्येन” भनेर एकरुपैयाँ लिने गरेको देखेको थिएँ । शुल्क लिएर झाँक्री काम गर्नेलाई असल झाँक्री मान्दैनन् । तसर्थ झाँक्री परिवार प्रायः गरिव हुन्छन् । कारण ?आफ्नो घरको काम छोडेर गाउँघरमा अरुको घरमा पूजा गर्दै हिंड्नु परेकोले हो ।यो मानवसेवा धर्मसंग जोडिएको एउटा महान स्वयम सेवा हो
ज्युङ्नी घले एक अव्वल झाँक्री थिए । झाँक्री कार्यलाई पितापूर्खाको बिरासतसंग जोडेर हेरिन्छ । उनी बाबुबाजेले बजाउँदै आएको लाम्चो खालको पुरानो ढ्याङ्ग्रो बजाउँथे । उनी बर्तेन बोम्बो हुन् । बर्तेन बोम्बो झाँक्रीको शिरममा “उत्वे” अर्थात फेटाबाट चिन्ने गरिन्छ । भार्खु गाउँमै दुईथरी फेटाधारी बोन्पो छन् । एउटा बर्तेन बोम्बो र अर्को श्यारबोम्बो ।
स्व. ज्युङ्नी घलेले आफ्नै छोरा दावा ग्याल्बो घले, ल्हाक्पा तमाङ, फुर्पा ग्याल्बो घले र थिङ खेक्पा भन्ने टासी ग्याल्बो घलेका छोरालाई झाँक्री शिक्षा सिकाएका थिए । तीमध्ये ल्हाक्पा तमाङले झाँक्री काम गर्न छोडिसकेका छन् । अरुहरु भने गाउँमा झाँक्री गर्छन् ।
उहिले गाउँमा जीविकोपार्जनको मुख्य पेशा पाखोबारीमा खेतीपाती गर्नु र गाईवस्तु पाल्ने काम थियो । ज्युङनी घलेजग्गा थोरै थियो । बारीहरु जंगलछेउछाउ थियो । खोपागङ, सर्पऊ, म्हानीबारी, खोर्लोजुबा र प्रोमोदोङ्बो भन्ने ठाउँमा उनका जग्गा थिए । उब्जानी थोरै हुन्थ्यो । परिवारलाई वर्षभरि खान मुश्किल हुन्थ्यो । भार्खु गाउँको १६ मुखियामध्ये उनी गयादिङ मुखिया खलकका सन्तान हुन् । तापनि कसरी जग्गा थोरै भयो थाहा भएन ।
गाईवस्तु पालेको थिएन । सानो भूईंतले घर थियो। यस्तो घरलाई “स दिम्” भनिन्छ । धनीहरु काठ र ढुंगाले बनेको २ तले र ठूलो घर बनाउँछन् । याक, चौंरी, भेडाबाख्रा पाल्छन् । यू, ज्यूरु, सी र सुनचाँदीका गहाना लाउँछन् । धनी गरिव छुट्याउने भेद यही थियो । २०३९ सालमा गाउँमा सोमदाङ सडक खन्न शुरु भयो । मानिसहरुको चहल पहल भयो । सडकबाट पाएको मुअब्जा रकमलाई ज्युङ्नी घलेले गाईवस्तु किनेर गोठ बनाउन र छिमेकी रिक्की घलेको पनाबारी खरीद गरे ।
दुवै श्रीमान श्रीमतीले दिनरात मिहेनेत गरेर रक्सी पारेर बेच्ने काम गरे । मौसममा स्याउ बोकेर बेचे । किनेको बारीमा मल प्रशस्त हालेर खेती गर्दा ४ जनाको परिवारलाई खाना पुग्यो । नगद जोहोले गरगहाना किने। विवाहको बेला सुन दिन नपाएका श्रीमतीको दुवै कानमा सुनको गहाना बुट्टिल बनाएर लगाईदिए । छोरा हुर्केर युवा भयो । एकाएक उहाँको परिवारमा घाम उदाय झैं सुःखी र खुसीको दिनहरु शुरु भए । पचासको दशकसम्म आईपुग्दा गाउँघरका सम्पन्न परिवारमा दरिन पुग्यो । यो भन्दा खुशी अरु के होला ?
हामी ज्युङ्नी घलेलाई काका भनेर बोलाउँथ्यौं । काका भन्नुमा दुईवटा कारण थिए । पहिलो,उनका बुबा वाङदाङ घले हामीहरुका पिताजी कैसाङ तमाङको झाँक्री गुरु । वाङदाङ बाजेबाट पिताजीले सङ्दुङ बोम्बोले गर्ने कामहरु जस्तै जोखाना हेर्ने, भूतप्रेत मन्साउने, देवीदेवताको पूजा गर्ने र जडीबुटी सम्बन्धी ज्ञान प्राप्त गरेका रहेछन् ।
दोस्रो कारण, हामीहरुका काईंला काका ग्यूर्मी र ज्युङ्नी घले दुईजना मीत । काकाको मीतलाई काका भन्ने परम्परा छ । उनकी श्रीमती र हामीहरुकी आमा न्हीमा ल्हामु साथीसाथी। गाउँघरमा यसरी नाता साइनो लगाउने गरिन्छ । मलाई यस्तो संस्कृति मन पर्छ ।
पिताजी कैसाङले ल्हाप्ताबाको ज्ञान भने हाम्रै कुलवंशका हजुरबुबा ल्हाबेन छिरिङदर्के बाट सिक्नुभएको रहेछ । ल्हापताबाको ठेट अर्थ आफ्नो कूलवंशको देवताको पूजा गर्ने पूजारी भन्ने जनाउँदछ । हजुरबुबा छिरिङदर्केका गुरु हाम्रै मूलघरको जेठो जिजुहजुरबुबा ल्हाबेन क्षेनाम हुन् । सङ्दुङ जोसंग पनि सिक्न हुन्छ । तर ल्हापताबा आफ्नै कुलवंशको ल्हाबेनसंग सिक्नुपर्छ ।
तमाङ समुदायको प्रत्येक वंशको कुलदेवता हुन्छ । जसलाई ह्रिइकि फोला(वंशदेव), तेम्पे ल्हानिङ्बु(पुज्दै आएको हृदयदेव÷सत्यदेव) भन्छौं । यो बोन्पो शिक्षा गुरुकुल प्रणालीमा आधारित छ । नयाँले गुरु थापेर शिक्षा लिनु पर्छ । यो परम्परा सदियौंदेखिको हो । अब यो प्रणाली लोप हुँदैछ ।
जीउढाल चटक्क मिलेको । दौरासुरुवालमा पटुका कसी खुकुरी भिर्ने, ऊनले बुनेको बऊ लगाउने र ऊनकै नम्पुटोपी लगाउँथे । उनी एक आदर्श पुरुष जस्तै लाग्थ्यो । बुढाबूढीबीच असाध्यै मायाप्रेम देख्न सकिन्थ्यो । घरमा बस्दा पनि संगै । वनपाखा जाँदा संगै । गोठमा बस्दा संगै । जहाँ पनि त्यो काकाकाकीको जोडी संगसंगै देखिन्थे । एक्लो छोरा लाठे हुँदासम्म काँधमा बोकेर हिंडेको देखिन्थे । एउटा मिलेको परिवार थियो । सानो परिवार सुःखी परिवार ।
झाँक्री कामका अतिरिक्त परम्परागत गीतहरु सामूहिक रुपमा गाएर नाच्ने गर्थे । गाउँमा हरेक वर्ष मनाइने चेनक्षेबा जात्रामा नेपाल–भोट युद्धको लोक नाटक मञ्चनमा नेपालको तर्फबाट सिपाही÷सेनाको भूमिका निर्वाह गर्थे । मादेउ जात्रामा जरायो नाच देखाउने बेला नयाँपुस्तालाई सिकाउने काम गर्थे ।
हामी सानो छँदा गाउँघरमा प्रायः युवाहरु पैसाको सिक्का–ढ्याकको खोपी खेल्थे । दशैं, तिहार वा यस्तै फुर्सदको भयो कि युवाहरु म्हानीगङको ठूलो ढुंगाको आँगनमा भेला भएर खोपी खेल्थे । उनी खोपी खेल्न सिपालु थिए । काका ज्युङ्नी बितेको यस्तै ५–६ वर्ष भयो । उमेरले ७ दशक नाघेको हुनुपर्छ । बूढेसकालमा एक्कासी जण्डिस रोग देखा पर्यो । त्यहो रोगले लिएर गयो । उनको मृत्युसंग एउटा झाँक्री शिक्षाका गुरुको अन्त्य भएको छ । गाउँघरको परम्परागत ज्ञान, सिप र संस्कृति जान्ने सिपालु व्यक्तिको कमी हुँदै गइरहेको छ । दशैंको टीकाको रात उनको घरमा हरेक वर्ष “ल्हफी” कुरिमको पूजा हुने गर्छ । भोलिपल्ट विहान ग्रहदशा फाल्छन् । यसकारण पनि दशैं आयो कि काका ज्युङ्नीको याद आइरहन्छ ।
साभारः त्रिशूलीखबर साप्ताहिक